Comments Add Comment

विशेषज्ञ चिकित्सक टोली गोरखाको बारपाक प्रस्थान

१४ जेठ, गोरखा । कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाकमा गण्डकी प्रदेश सरकारले विशेषज्ञ चिकित्सकसहितको टोली खटाएको छ ।

प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत सहित प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबन्दु शर्मा नेतृत्वको चिकित्सक टोली शुक्रबार बिहान गोरखा सदरमुकामबाट बारपाक प्रस्थान गरेको छ ।

उक्त टोलीमा दुई जना विशेषज्ञ चिकित्सक, एक जना मेडिकल अफिसर, एक जना नर्सिङ अफिसर, दुई जना नर्सिङ स्टाफ लगायतका स्वास्थ्यकर्मी छन् । गोरखाबाट पनि डा. सन्दिप श्रेष्ठको नेतृत्वमा तीन जना चिकित्सक टोली खटाइएको छ ।

बारपाकमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढे पनि परीक्षण गर्न स्थानीयले नमान्दा समस्या भएको छ । करिब १४ शय घरधुरी रहेको उक्त गाउँका ७० प्रतिशत घरमा ज्वरो र रुघाखोकीका बिरामी रहेको आंकलन गरिएको छ । जेठ महिनाको यो अवधिमा मात्रै १३ जनाको मृत्यु भइसकेको छ । उनीहरु मध्य तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अन्यले परीक्षण गर्न इन्कार गरेका थिए ।

अधिकांश घरमा ज्वरो र रुघाखोकीका बिरामी भए पनि उनीहरु कोरोना परीक्षणका लागि तयार छैनन् । रोेग लुकाउँदा गाउँमा भित्रभित्रै कोरोना महामारी फैलिएको आशंका गर्दै प्रदेश सरकारले चिकित्सक टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार शुक्रबार मन्त्री बस्नेत सहित चिकित्सक टोली बारपाक प्रस्थान गरेको हो ।

बारपाकको घरघरमा पुगेर स्थानीयको स्वास्थ्य अवस्था बुझ्ने र आवश्यक उपचार गर्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. शर्माले बताए । ‘बारपाकको घरघरमा संक्रमित छन् भन्ने हाम्रो अनुमान हो,’ उनले भने, ‘त्यहाँ पुगेर जनप्रतिनिधि, स्वास्थ्यकर्मी र राजनीतिक दलका नेतासँग छलफल गर्छौं, बिरामी भएकाहरुको घरघरमा जान्छौं, स्क्रिनिङ गर्छौं अनि आवश्यक उपचार पनि दिन्छौं ।’

उनीहरुको एन्टिजेन र पिसिआर विधि मार्फत कोरोना परीक्षण पनि गरिने उनले बताए । ‘अहिलेसम्मको जानकारी अनुसार त्यहाँ कोरोना संक्रमण छ, मुख्य समस्या भनेको मानिसहरु परीक्षण गर्न नआउनु हो, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल लगायतका सरोकारवालासँग समन्वय गरेर सम्झाइ बुझाइ गर्ने र स्थानीयको कोरोना परीक्षण गर्ने योजना छ,’ डा. शर्माले भने ।

यही जेठ ५ गते नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग आएको स्वास्थ्यकर्मी टोलीले बारपाकमा स्थानीयको एन्टिजेन परिक्षण गरेका थिए । कुल ७८ जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना फैलिएका कारण परीक्षणको दायरा बढाउन नेता श्रेष्ठले सम्बन्धित निकायलाई सुझाव समेत दिएका थिए । तर त्यसयता कोरोना परीक्षणमा स्थानीय सरकार सहित स्वास्थ्य कार्यालय असफल बनेपछि थप समस्या निम्तिएको हो ।

गाउँमा संक्रमण फैलिन थालेपछि बिहीवार वक्तव्य जारी गर्दै बारपाक सुलिकोट गाउँपालिकाले समस्या समाधानका लागि केन्द्र र प्रदेश सरकारसँग सहयोग मागेको थियो ।

मन्त्री बस्नेतद्वारा अक्सिजन प्लान्ट र एचडियू बेडको उद्घाटन

यसैबीच गोरखा अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट र एचडियू बेडको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र गोरखा नगरपालिकाका मेयरले शुक्रबार अक्सिजन प्लान्ट र बेडको उद्घाटन गरेका हुन् ।

प्रदेश सरकारबाट प्राप्त २८ बेडमध्ये हाल १५ वटा जडान भएको अस्पताल व्यवस्थापक लिपासा श्रेष्ठले बताइन् । ‘१० बेडमा पाइप जडान गरेर अक्सिजन पुर्‍याएका छौं, बाँकी ५ वटामा सिलिण्डर राखेका छौं,’ उनले भनिन् । अस्पतालको नयाँ भवन निर्माणाधीन रहेकाले बाँकी बेड जडान गर्न नसकिएको उनले जानकारी दिइन् । अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट प्रतिमिनेट ८० लिटर अक्सिजन उत्पादन हुने बताइएको छ ।

उद्घाटन पश्चात बोल्दै मन्त्री बस्नेतले प्रदेशको सबै जिल्लामा अक्सिजन प्लान्ट जडान गर्ने योजना रहेको बताए । ‘गोरखा सहित नौ वटा जिल्लामा जडान गरिसक्यौं, अब दुई वटा जिल्ला बाँकी छ, त्यहाँ पनि तयारी गरिरहेका छौं,’ उनले भने । अक्सिजन प्लान्ट जडान भएसँगै अक्सिजन अभावमा बिरामीको मृत्यु हुने समस्या कम हुने अपेक्षा गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राजनराज पन्तले पिसिआर रिपोर्ट आउन ढिलाइ हुँदा संक्रमण दर फैलिएको बताए । ‘नतिजा ढिला आउने हुँदा परीक्षण गर्न मान्दैनन्, फेरि पिसिआर गरेर बसेकाहरु रिपोर्ट नआउँदासम्म हिंडडुल गर्ने गरिरहँदा पनि समस्या भयो,’ उनले भने । रिपोर्ट चाँडै आउने वातावरण मिलाइदिन उनले मन्त्री बस्नेत र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. शर्मालाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment