Comments Add Comment

ठूलो संघर्षबाट प्राप्त उपलब्धि धरापमा पर्दैछ, सचेत हौं : मुख्यमन्त्री शाही

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरु धरापमा पर्न लागेको भन्दै सचेत हुन आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले पछिल्लो समय भइरहेका असंवैधानिक र प्रतिगमनकारी कदमप्रति सचेत आग्रह समेत गरेका छन् ।

‘गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा म सबैखाले प्रतिगमनकारी, निरंकुश र असंवैधानिक दुस्प्रयासहरुका विरुद्ध खबरदारी गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद स्थापनाको बाटोमा दृढतापूर्वक अघि बढ्न अपील गर्दछु,’ शाहीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री शाहीेले कर्णालीको आगामी नीति तथा कार्यक्रम र बजेट कोभिड प्रतिकार्यमा केन्द्रित गरिने बताएका छन् । ‘सबै नागरिकको जीवनरक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति, बजेट, स्वास्थ्य सामग्री, जनशक्तिलगायतको यथोचित व्यवस्थापनमा ध्यान केन्द्रित गरेको छ,’ जारी सन्देशमा भनिएको छ ।

उनले कोभिड–१९ ले सिर्जना गरेको अहिलेको परिस्थितिबाट निराश नहुन समेत प्रदेशबासीलाई आग्रह गदै भनेका छन्, ‘कोभिड नियन्त्रणका लागि तीन तहका सरकार, चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले गरिरहेका प्रयासलाई सहयोग गर्न र सरकारको निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दछु ।’

गणतन्त्र दिवसले राष्ट्रिय एकतासहित विकास र समृद्धिको अभिभारा पूरा गर्दै समाजवादी राज्य व्यवस्था स्थापना गर्न सबैलाई प्रेरणा मिल्ने मुख्यमन्त्री शाहीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment