
१५ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा अन्तर्राष्ट्रिय स्तरको रंगशालादेखि सिटी पार्क बनाउनेसम्मका योजना आगामी आर्थिक वर्षको बजेटमा परेको छ ।
अघिल्ला वर्षहरुमा झैं ओलीले आफ्नो गृहनगरलाई बजेटमा प्राथमिकता दिएका हुन् । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको बजेटमा दुई वर्षभित्र मदन भण्डारी रंगशाला सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने उल्लेख गरे ।
ओलीले सुरुवातमा कमल गाउँपालिकामा बन्न लागेको आदिवासी जनजाति रंगशालाको नाम फेरेर मदन भण्डारी रंगशाला राख्न खोजेका थिए । तर आदिवासी जनजाति अगुवाको विरोधपछि न नाम फेरियो, न रंगशाला निर्माणले गति लियो ।
कमलमा नाम फेर्न नसकेपछि दमकमा मदन भण्डारीको नाममा अर्को अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने ओलीले घोषणा गरेका थिए ।
बजेटमा दमकमा निर्माण थालिएको औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण दुई वर्षभित्र सक्ने पनि भनिएको छ । दमकमै बहुतले बसपार्कसहितको सिटीपार्क बनाउन पनि बजेट छुट्टयाइएको पनि अर्थमन्त्री पौडेलले भनेका छन् ।
दमकमा बालबालिकाका लागि ‘चिल्ड्रेन प्याराडाइज’ स्थापना गर्ने पनि बजेटमा समावेश भएको छ । ‘बालबालिकाको सर्वाङ्गिण विकास तथा बालसाहित्यको प्रबद्र्धन गर्न बाल प्रज्ञा प्रतिष्ठानको स्थापना गरिनेछ’ अर्थमन्त्री पौडेलले भने, ‘बालबालिकाको अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराई बहुआयामिक विकास गर्न झापाको दमकमा गुणस्तरीय शिक्षासहितको चिल्ड्रेन प्याराडाइज स्थापना गरिनेछ ।’
दमकमै ढल प्रशोधन केन्द्र निर्माण गर्ने पनि बजेट वक्तव्यमा भनिएको छ ।
भद्रपुर र चन्द्रडाँगी पनि समेटिए
झापाको भद्रपुर बजारलाई नदी कटानबाट संरक्षण गर्न बजेट व्यवस्था गरिएको अर्थमन्त्री पौडेलले बताए । नदी नियन्त्रणका लागि नवीन तथा वायो इञ्जिनियरिङ प्रविधिको प्रयोग गरिने उनको भनाइ छ ।
चन्द्रगढीमा आवधिक रुपमा प्रशिक्षण प्रदान गरेर निरन्तर सिकाइ कार्यक्रम प्रबद्र्धन गर्न उच्चस्तरीय प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने पनि भनिएको छ ।
कृषि उत्पादनमा आधुनिक प्रविधिको सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गर्न दुई वर्षभित्र झापाको चन्द्रडाँगीमा एक कृषि फार्मलाई ‘सेन्टर अफ एक्सिलेन्स’को रुपमा विकास गरेर सञ्चालनमा ल्याउने पनि भनिएको छ ।
प्रतिक्रिया 4