Comments Add Comment

यो बजेट सुनाउन मात्र ल्याएको होइन, कार्यान्वयन हुन्छ : अर्थमन्त्री पौडेल

१६ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गरे ।

‘यो बजेट केवल सुनाउनका लागि होइन, कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड महामारीको नियत्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपथ्र्यो र त्यसै अनुरुप बजेट केन्द्रित गरिएको छ । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना कार्यक्रम कार्यान्वयन गर्छौं,’ उनले भने ।

मन्त्री पौडेलले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने विषयमा बजेट केन्द्रित भएको र ती समस्या समाधानका लागि स्पष्ट योजना र दृष्टिकोणका साथ प्रस्तुत भएको बताए ।

आर्थिक क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउदै समृद्धिको सपना साकार पार्ने प्रतिबद्धता पनि उनले जनाए ।

मन्त्री पौडेलले भोलिदेखि नै बजेट कार्यान्वयनका विषयमा छलफल अघि बढाउने र कार्यान्वयनको अभियानलाई तीव्रता दिएर अघि बढ्ने बताए । ‘यो सरकारले बजेट कार्यान्वयन गर्छ । यसमा दुविधा राख्नुपर्ने छैन,’ उनले भने ।

अर्थमन्त्री पौडेलले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने बताए । ‘निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिनेछ । निर्वाचनका लागि यथेष्ट महत्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ,’ उनले भने ।

सरकारले महामारी नबिर्सिएको र मुख्य चुनौतीको रुपमा स्वीकार गरेर सोही अनुरुप राजश्वका नीति र कार्यक्रमका साथमा बजेट आएको अर्थमन्त्री पौडेलले बताए ।

खोप लगाएपछि अर्थतन्त्र चलायमान हुने र पुरानै लयमा फर्किने विश्वासका साथ राजश्वको लक्ष्यहरु निर्धारण गरिएको स्पष्ट उनको भनाइ छ । अर्थमन्त्री पौडेलले मतदाता प्रभावित पार्न नभई अभिभारा पूरा गर्न बजेट ल्याएको दावी गरे ।

संबैधानिक प्रक्रियालाई ओभरटेक गरेर सरकार सत्तामा नआएको र प्राप्त भएको जनादेश खण्डित पनि नभएको भन्दै उनले चुनावपछि पनि जनताको विश्वास जित्ने अधिकार अन्य दललाई जस्तै सत्तारुढ दललाई पनि रहेको बताए ।

उनले बजेटले वर्तमान चुनौतीलाई बुझेको, देखेको र सम्बोधनका लागि आवश्यक नीति र कार्यक्रम तथा योजनाका साथ आएकाले कार्यान्वयन गरिने र बजेटमा निर्धारण गरिएका लक्ष्यहरु पनि हासिल गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment