Comments Add Comment

कामदारको पैसा नदिई ठेकेदार हिँड्यो, उदयपुरका १५ युवा अलपत्र

१७ जेठ, विराटनगर । काम गरेको पैसा नदिई ठेकेदार प्रतिनिधि हिँडेपछि आफूहरु अलपत्र परेको मोरङको घिनाघाट-विराटचोक सडक खण्डमा काम गर्ने कामदारहरुले बताएका छन् ।

सो सडकखण्डमा उदयपुरका १५ युवा कार्यरत छन् । उनीहरुले बेखर्ची भएर भोकभोकै बस्नु परेको बताएका छन् । ‘ठेकेदारका मान्छे पैसा नदिई हिँडे, हामी यहाँ अलपत्र छौँ,’ उदयपुर बेलका नगरपालिका-३ का रेवत राईले भने, ‘पैसा माग्दा झुलाइ राखे, भात पनि पाइएन ।’

ठेकेदारले पैसा नदिएका कारण नुन र पानीसँग भात खानु परेको कामदार सविन राईले बताए ।’एउटा कोठामा १५ जना बसेका छौं,’ उनले भने, ‘आज नुन र पानीसँग भात खायौंं अब भात खाने चामल छैन ।’

बानियाँ निर्माण सेवाले घिनाघाट-विराटचोक सडकको पर्खाल बनाउन डेढ महिना अघि उनीहरुलाई विराटनगर बोलाएको थियो । ठेकेदार कम्पनीले काम गरेको करिब दुई लाख ५० हजार रुपैयाँ नदिएको रेवत राईले बताए ।

एक सातायता काम विहीन भएर कोठामा बस्नु परेको उनले बताए । खाने चामल नभएपछि उनीहरुले ठेकेदार कम्पनीसँग पैसा मागिरहेका छन् । तर अरु कर्मचारीलाई पैसा दिएको ठेकेदार कम्पनीले १५ जनालाई पैसा नदिई बेखर्ची बनाएको उनले बताए ।

उनले आफूले पाउने पैसा दिलाएर घर जाने वातावरण बनाइदिन आग्रह गरेका छन् । काम गरेको पारिश्रमिक माग्न जादा ठेकेदार प्रतिनिधिले भेट्नै नमानेको उनले बताए । ‘यहाँ भोकभोकै बस्दैनौं, पैसा उठाएर घर जाने वातावरण बनाइदिनु पर्‍यो,’ उनले भने, ‘ठेकेदारले हाम्रो कुरा सुनेन, पैसा दिने भाका मात्रै सारे ।’

हाम्रो अभियानको राहत

यता ठेकेदार कम्पनी बानियाँ निर्माण सेवाले अझै केही दिन पैसा दिन नसक्ने बताएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि मनोज अधिकारीले बैंक बन्द भएकाले तत्काल कामदारलाई पैसा दिन नसक्ने बताए । ‘आज दिने भनेका थियौं तर बैङ्क बन्द छ,’ उनले भने, ‘अझै केही दिन लाग्छ ।’

पैसा नहुँदा भोकभोकै बस्नुपर्ने अवस्था आएपछि अलपत्र परेका कामदारलाई हाम्रो अभियान नामक युवाहरुको समूहले सहयोग गरेको छ ।

आइतबार केही दिनका लागि पुग्ने गरी खाद्यान्न सहयोग गरेको हो । हाम्रो अभियानका संयोजक वसिम आलमले चामल, तेल, नुन, आलुलगायत सामाग्री सहयोग गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment