Comments Add Comment

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन : सरकारी गठबन्धनलाई सकस !

१७ जेठ, बुटवल । राष्ट्रियसभामा रिक्त एक पदका लागि लुम्बिनी प्रदेशमा आज मतदान हुँदै छ । माओवादी केन्द्रबाट विजयी अर्घखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त रहेको पदमा निर्वाचन हुन लागेको हो ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन् । कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेय र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन् ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।

सरकारी गठवन्धनलाई सकस

यसअघि बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गठवन्धन गरेका नेपाली काँग्रेस, एमालेको माधवकुमार नेपाल समूह र नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा पनि गठवन्धन गरेका छन् ।

एमालेको संस्थापन समूह र जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षले लुम्बिनीको राष्ट्रियसभा चुनावमा गठवन्धन गरेका छन् ।

एमालेको एउटा समूहमा बिपक्षमा लागेको र माओवादीसमेत नेपाली काँग्रेसका उम्मेदवारलाई भोट हाल्न सहमत भएको अबस्थामा सरकारी गठवन्धनलाई यो चुनाव जित्न सकस हुने देखिएको छ ।

प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी कुल मतदाता ३ सय रहेको छ । जसमध्ये ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको १८ मतभार रहेको छ ।

एमालेका ३८ सांसद र ८७ स्थानीय तहका प्रतिनिधिको गरी कुल ३३ सय ९० मतभार रहेको छ । विपक्षी गठबन्धनका कांग्रेसको १९ सांसद र ६६ स्थानीय तहका प्रतिनिधि गरी कुल २१ सय मतभार छ । माओवादीका १९ सांसद र ४२ स्थानीय तहका प्रतिनिधि गरी कुल १६ सय ६८ मतभार छ ।

कांग्रेस र माओवादीको मात्रै ३७ सय ६८ मतभार छ । विपक्षी गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाका एक सांसद र पाँच स्थानीय तहका प्रतिनिधि गरी कुल एक सय ३८ मतभार छ । जसपाका ६ सांसद र १४ स्थानीय तहका प्रतिनिधि गरी कुल चार सय ४४ मतभार छ ।

यो पनि पढ्नुहोस चार सांसदलाई मतदान गर्न नदिन विपक्षी गठबन्धनको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment