Comments Add Comment

धनगढीको निसर्ग हस्पिटलमा सिटी स्क्यानसहितको न्यूरो ट्रमा सेवा सुरु

१७ गते, धनगढी । कैलालीको धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा सिटी स्क्यान सेवा सुरु भएको छ ।

अस्पतालले न्यूरो ट्रमा सेन्टर स्थापना गरेपछि सिटी स्क्यान मेसिन जडान गरेको हो । अन्यत्रबाट आएका बिरामीलाई बाहिरबाटै गरिएको सिटी स्क्यानका आधारमा अस्पतालले गत फागुनदेखि न्यूरो सर्जरी सेवा दिंदै आएको थियो ।

करिब तीन महिना अघि सञ्चालन भएको न्यूरो ट्रमा सेन्टरले न्यूरो अप्रेसन सेवा सुरु गरे पनि सिटी स्क्यानका लागि भने अन्यत्र भर पर्नुपर्ने अवस्था थियो ।

‘हामीले न्यूरो ट्रमा सेन्टर सुरु ग¥यौं तर सिटी स्क्यान नहुँदा त्यसका लागि बिरामीलाई अन्यत्र पठाउनुपर्ने भयो,’ अस्पतालका अध्यक्ष तीर्थराज पन्तले भने, ‘अप्रेसन गरेपछि पनि  बिरामीको स्वास्थ्य अवस्था थाहा पाउन फेरि पनि सिटी स्क्यान गर्नुपर्ने हुन्छ । त्यसका लागि  बिरामीलाई बाहिर पठाउँदा जोखिम देखियो, हाम्रो न्यूरो टिम सबल भए पनि प्रविधिले गर्दा केही न केही नपुगेजस्तो भयो । त्यसैले लकडाउनका बीचमा पनि सिटी स्क्यान मेसिन जडान गर्‍यौं ।’

साढे तीन करोडको लागतमा अमेरिकन कम्पनी जीईको अत्याधुनिक सिटी स्क्यान मेसिन अस्पतालमा जडान गरिएको अध्यक्ष पन्तले बताए । सुदूरपश्चिममै पहिलोपटक न्यूरो सर्जरी सेवा गत फागनुमा सुरु गरेको निसर्ग हस्पिटलले यसअघि अन्यत्रबाट सिटी स्क्यान गरेर आएका  बिरामीको उपचार गर्दै आएको थियो ।

अस्पतालमा न्यूरो सर्जन डा. सुरेश सापकोटा, मुख, अनुहार तथा बङ्गारा रोग विशेषज्ञ डा. दीपक ठकुराठी, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमन थापा र एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझाको टिमले न्यूरो ओटी सञ्चालन गर्दै आएको छ ।

कोरोनाको दोस्रो लहरसँगै निसर्ग हस्पिटलले  संक्रमितका लागि चार शय्या आईसीयू, १२ शय्या हाई केयर र पाँच शय्याको कोभिड केयर सञ्चालन गर्दै आएको छ । उक्त अस्पतालमा कोरोनाको दोस्रो लहर फैलिएपछि १०७ जनाभन्दा बढी संक्रमितको उपचार भइसकेको छ ।

हाल अस्पतालले ११ आईसीयू बेड, ६ भेन्टिलेटर र २५ शय्या जनरल बेडमार्फत सेवा प्रदान गरिरहेको अध्यक्ष पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment