Comments Add Comment

बजेट कार्यान्वयनबारे विभागीय मन्त्रालयसँग अर्थले थाल्यो छलफल

१७ जेठ, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका सम्बन्धमा विभागीय मन्त्रालयसँग छलफल थालेको छ ।

बजेटमा उल्लेखित योजना तथा कार्यक्रम समयमा सुरु गरी छिटो परिणाम ल्याउन अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएलगत्तै बजेट कार्यान्वयनको गृहकार्य थालेको हो ।

सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रम कार्यन्वयन गर्न समयतालिका सहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन् ।

’बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु सुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समय तालिकासहित अघि बढ्नुहोस्’ अर्थमन्त्री पौडेलले भने । बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्ने उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रम समयमा सुरु गर्न कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नयाँ आर्थिक वर्षको सुरुवात देखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिएका हुन् ।

अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोतसम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताए ।

आजको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिव उपस्थित थिए ।

मन्त्रालयले अब नियमित रुपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायहरुसँग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गर्ने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment