+
+

संक्रमितको शव जलाउने घाटमा फोहोर थुप्रिएपछि स्थानीयको विरोध

विकास रोकामगर विकास रोकामगर
२०७८ जेठ १७ गते १९:२०
Photo Credit : राधिका कँडेल

१७ जेठ, पोखरा । कोरोना संक्रमितको शव व्यवस्थापन गरिने पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित सेतीघाटमा फोहोर बढेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

सुरुमा संक्रमितको शव सुरक्षित रुपमा गाडेर व्यवस्थापन गर्ने सहमति भए पनि अहिले शव जलाउने गरिएको र घाटमा फोहोरको थुप्रो लागेको भन्दै स्थानीय बासिन्दा रुष्ट बनेका हुन् ।

घाट वरपर अव्यवस्थित ढंगले पीपीई, मेडिकल पञ्जा र शवलाई बाँधिएको डोरीको थुप्रो लागेको र त्यसलाई सुरक्षित व्यवस्थापन नगरिएको वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

‘पहिले गाड्नको लागि मात्रै भनियो । तर, अहिले आएर लापरवाही गर्न थाले । जलाउन थाले,’ उनले भने, ‘त्यहाँको फोहोर व्यवस्थापन गर्न महानगरले टिम पनि बनाएको छ । तर, काम भएको छैन ।’

घाटको फोहोर व्यवस्थापन गर्न महानगरले एक महिनाअघि नै टिम बनाइसकेको र जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई पनि खबर गरिसकेको तर, कुनै कदम नचालिएको वडाध्यक्ष कार्कीको गुनासो छ ।

 

‘फोहोर थुप्रियो । दुर्गन्ध आउन थाल्यो भनेर मेयर सा’बलाई जानकारी दिएपछि टिम बनेको छ । एक महिना भइसक्यो, कामै भएको छैन,’ वडाध्यक्ष कार्कीले भने, ‘३ दिनअघि मात्रै सिडिओ सा’बलाई पनि लगेर देखाइसक्या छौं । उहाँले केही सोच्दै हुनुहुन्छ होला !’

आफूहरुले सुरुमा गाड्न मात्रै दिएको तर, अहिले आएर जलाउन पनि सुरु गरेको कार्कीले बताए । ‘बस्तीभन्दा टाढा गाड्ने भनेर स्थानीयले मानेका हुन् । जलाउने भए आ–आफ्नै वडाको घाटमा व्यवस्था गर्ने सहमति भएको पनि थियो,’ उनले भने, ‘हामीले विरोध गरेका होइनौं । त्यहाँबाट फोहोर र दुर्गन्ध हुनु भएन ।’

गत वर्ष असारमा कोरोनाबाट मृत्यु भएका एक पुरुषको शव व्यवस्थापन गर्दा यो घाटमा स्थानीयले विरोध गरेका थिए । बस्ती नजिकै संक्रमितको शव व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयसहित जनप्रतिनिधि नै बाटोमा टायर बाल्दै विरोधमा उत्रिएका थिए ।

विवादले चर्को रुप लिँदै गएपछि भीड नियन्त्रण गर्न ८ राउन्ड हवाइ फायर नै गर्नु परेको थियो । महानगर र जिल्ला कोभिड नियन्त्रण समितिको छलफलसँगै अहिले स्थानीयले विरोध गर्न छाडेका छन् । त्यसयता उक्त घाटमा ४ सयभन्दा बढी संक्रमितको शव व्यवस्थापन भइसकेको छ ।

भोलि गएर हेर्छौं : उपमेयर

शव व्यवस्थापन स्थानमा फोहोर थुप्रिएकोबारे आफूहरुलाई जानकारी आइसकेको र मंगलबार अनुगमनमा जाने तयारी रहेको महानगरले जनाएको छ । महानगरस्तरीय कोभिड नियन्त्रण मूल समिति संयोजक तथा उपप्रमुख मञ्जुदेवी गुरुङले शव धेरै हुँदा फोहोर जम्मा भएको हुन सक्ने बताइन् ।

‘फोहोरबारे थाहा छैन । तर, जानकारी चाहिं आएको छ । शव धेरै भएर पनि फोहोर जम्मा भएको होला,’ महानगर उपप्रमुख गुरुङले भनिन्, ‘गाड्ने ठाउँमा होइन, जलाउने ठाउँमा मात्रै फोहोर थुप्रिएको हुन सक्छ ।’ उनले शव जलाउने ठाउँ खोला किनारमा भएकाले फोहोर जम्मा भएको हुनसक्ने बताइन् ।

महानगरले शव जलाउन अनुमति नदिएको गुरुङले बताइन् । ‘शव गाड्नको लागि एउटा डोजर र २ वटा टिपरको व्यवस्था गरेका छौं । शव जति पुर्न निर्देशन दिएका हौं । के रहेछ भोलि (मंगलबार) हेर्छौं,’ उनले भनिन् ।

तस्वीर सौजन्य : राधिका कँडेल

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?