Comments Add Comment
भोको मजदुरको पीडा :

‘बजेट हाम्रा लागि आउँदैन, आउनेका लागि आयो होला’

नाम : प्रेमबहादुर लामा,
वर्ष : ६१,
घर : काभ्रेपलाञ्चोक ।

‘मैले यहाँको क्लबमा पहिले पनि सबै जानकारी टिपाइसकेको छु’, परिचय दिन उनले खासै रुचि देखाएनन् । आफ्नो छोटो परिचय दिंदै प्रेमबहादुरले भने, ‘घर चाहिं काभ्रे हो, अहिले रानीबारीमा बस्छु ।’

बिहान उठ्यो । नजिकै सडक छेउमा टोलाएर बस्यो । त्यसै दिन काट्यो । उनको दैनिकी यस्तै बितिरहेको छ ।

उनको कोठामा चुलो नबलेको थुप्रै दिन भइसक्यो । घर होइन, उनको बसाइ फर्निचर उद्योगभित्र छ । दिउँसो भयो कि कसैले खान दिइहाल्छ कि भन्ने आश पलाउँछ । साँझ रानीबारीबाट पैदल हिंडेर नयाँ बसपार्क नजिकैको बिजी मल अगाडि पुग्छन् ।

स्थानीय युवा समूहले त्यहाँ नियमित खाना खुवाउन थालेको छ । खाना खायो, फर्कियो, अनि फर्निचर कारखानाभित्र पस्यो, पल्टियो ! उमेरले ६० नाघे पनि काम गर्ने जोश भने घटेको छैन प्रेमबहादुरको ।

ठीक एक वर्ष अगाडि…

प्रेमबहादुर ज्यामी काम गर्थे । कहिले कुन ठेकेदारले बोलाउँथे, कहिले कुन ठेकेदारले । काम निकै राम्रो चलिरहेको थियो । ज्यामी काम गरेर कमाएको पैसाले उनी सन्तुष्टै थिए । उनको आम्दानीले जेनतेन धानेकै थियो ।

काम गर्दागर्दै कता कता कोरोना भन्ने रोग फैलिएको उनले थाहा पाए । शुरुमा त ‘होला केही’ भनेर उनलाई मतलब नै भएन । ‘यस्ता रोगहरू कति आउँछन्, जान्छन्’ भनेर वास्तै गरेनन् । तर महामारी भयावह अवस्थामा पुग्ने भन्दै सरकारले लकडाउन गर्‍यो ।

अनि भने प्रेमबहादुरलाई फसाद पर्‍यो । राम्रै चलिरहेको काम ठप्पै रोकियो । ठेकेदारले दिएको पैसा सकियो । गोजीमा पैसा सकिएर प्रेमबहादुर समस्यामा परे । बास बस्नलाई समस्या थिएन । तर बासले मात्रै के गर्नु ? गाँसको पनि समस्या झेल्नुपर्ने अवस्थामा उनी पुगे ।

उनलाई कसैले सरकारले राहत विवरण गरिरहेको सुनायो । मनमा पलाउँदै गएको समस्याको पीडा उनले एकैदिनमा भुले, राहत लिन उनी दौडिए । महानगरपालिकाको वडा कार्यालयले राहत बाँडिरहेको उनी सम्झन्छन् ।

‘५ किलो चामल दियो, दुई चार छाक पुग्ने तेल नुन र दाल पनि’ उनले भने, ‘समस्यामा परेका बेला त्यसले ठूलै गर्जो टर्यो, राहत लिएर म बस्ने ठाउँमा गएँ पकाएर खाएँ ।’ राहतले उनी निकै खुसी भएको सम्झिन्छन् । समय बित्दै गयो । वडाले दिएको राहत पनि सकियो ।

अब के गर्ने ? उनी सोच्न थाले । सरकारले केही समयका लागि लकडाउन खुकुलो बनायो । उनले चिनेजानेका धेरै जना गाउँ गइसकेका थिए । उनको मनमा पनि लाग्यो अब म पनि गाउँ जानुपर्छ । उनी पनि काभ्रेको गोठपानी पुगे ।

प्रेमबहादुरले भने– बजेट त आयो होला, खै कसका लागि आयो र ? बजेट हाम्रा लागि आउँदैन, आउनेका लागि आयो होला, हामी त काम पनि खोसिएपछि माग्ने हो, खाने हो ।

‘बुवाआमा धेरै पहिलेदेखि हुनुहुन्न, मेरो जहान (श्रीमती) पनि ७१ सालमै बित्यो’, उनले भने ।

घरमा दाजु भाउजु थिए । परिवारमा अन्य सदस्यहरू पनि । परिवारका सबैले राम्रै व्यवहार गर्ने भएकाले पनि उनी गाउँ गए । सरकारले लकडाउन आंशिक रुपमा खोल्यो । गाउँ गएकाहरू पुनः काठमाडौं फर्कन थाले ।

प्रेमबहादुर पनि गाउँमा अडिएनन्, शहर फर्किए । भन्छन्, ‘म २०५५ सालदेखि काठमाडौं बसेको, यतै बानी पर्‍यो ।’

यस वर्षको फरक परिवेश…

यस वर्ष पनि सरकारले पोहोरको जस्तै १६ वैशाखदेखि निषेधाज्ञा गर्‍यो । तर उनी गाउँ गएनन् । यस वर्ष त उनले गत वर्षको जस्तो पाँच किलो राहत पनि पाएका छैनन् । जसरी हुन्छ, काठमाडौंमा नै बस्नुपर्छ भनेर हिम्मत जुटाएर बसेको उनले सुनाए ।

उनी बस्ने कोठाको भाडा तिरेका छैनन् । चिनजानकै पुरानो साथीले रानीबारीमा रहेको फर्निचर कारखानामा बस्ने व्यवस्था मिलाइदिएको छ ।

‘कहिलेकाहीँ त भाडा तिर्नुपर्दैन भनेर माग्छ, पैसा भए पो दिनु ?’ मुसुक्क हाँस्दै उनी समस्या टार्छन् ।

काम नियमित चलेदेखि उनलाई खासै समस्या हुँदैन । तर पूरै बन्द भएर सबैतिर काम ठप्प हुँदा भने खानाकै लागि भौंतारिनुपर्ने समस्या आएको उनी बताउँछन् । मागेर खान पनि शुरुमा त अप्ठेरो लागेको उनको अनुभव छ । तर अप्ठेरो माने आफैं भोको बस्नुपर्ने बाध्यता उनी सुनाउँछन् ।

‘म पहिलेको ड्राइभर हुँ, निशान गाडी चलाउँथें, पछि ज्यामी काम गर्न थालें’, पाइन्टमा पोखिएको दाल पुछ्दै प्रेमबहादुर भन्छन्, ‘आज अलि आउन ढिला भयो, हतारहतारमा खाँदा यी यहाँ दाल पोखिइहाल्यो ।’ हरेक साँझ उनी सधैं बिजी मल अगाडि खानाका लागि पुग्ने गरेको सुनाउँछन् ।

महाँकाल युवा समूहले सधैं गाडीमा ल्याएर यहाँ खाना बाँड्ने गरेको छ । प्रेमबहादुर आइपुग्दा धेरैले खाइसकेका थिए ।

‘हिजो त अलि चाँडै आएको थिएँ, केहीबेर पर्खिएपछि सरहरु खाना लिएर आउनुभयो’ उनले भने, ‘आज अलि ढिलो भएकाले हतारहतारमा खानुपर्‍यो ।’

प्रेमबहादुर एउटा प्रतिनिधि पात्र हुन् । रोजीरोटी गुमेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूरहरुको प्रतिनिधित्व गर्ने एक ऐना हुन् उनी ।

शनिबार सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याएको छ । उनलाई बजेटबारे पनि थोरबहुत जानकारी छ । पहिले पहिले त उनले पनि बजेटबारे चासो दिन्थे । कतैकतै गफ गरेको सुन्थे । यसपालि पनि उनले बजेट आउँछ भन्ने जानकारी पाए पनि कस्तो आयो भन्नेबारे थाहा नपाएको बताए ।

‘बजेट त आयो होला, खै कसका लागि आयो र ?’ उनी भन्छन्, ‘बजेट हाम्रा लागि आउँदैन, आउनेका लागि आयो होला, हामी त काम पनि खोसिएपछि माग्ने हो, खाने हो, सरहरुले खाना खुवाउनुभएको छ यसैमा खुसी छु ।’

कुराकानी गर्दागर्दै घामले डाँडा काटिसकेको छ । झमक्कै साँझ पर्नै लागेको थियो ।

‘ल सर म जान्छु, भोलि फेरि खान यहीँ आउनुपर्छ’, उनी बिदा भए ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

हेर्नुहोस् भिडियो र थप तस्वीरहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment