Comments Add Comment

अमेरिकी रेष्टुरेन्टको अनौंठो नियम : मास्क लगाउने ग्राहकलाई ५ डलर जरिवाना

कोरोना भाइरसको महामारीको यो समयमा संक्रमण फैलिनबाट रोक्न तथा संक्रमित हुनबाट बँच्नको लागि सबैभन्दा महत्वपूर्ण उपाय भनेको मास्क लगाउनु नै हो । धेरै मुलुकहरुले अहिले सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएका छन् र मास्क नलगाएमा जरिवाना समेत तिर्नुपर्छ ।

तर उता अमेरिकाको एक रेष्टुरेन्टमा चाहिँ मास्क लगाउन पाइँदैन । मास्क लगाएर जाने ग्राहकले उल्टै जरिवाना तिर्नुपर्छ ।

रेष्टुरेन्टमा मास्क लगाएर जाने ग्राहकले ५ डलर जरिवाना तिर्नुपर्ने नियम उक्त रेष्टुरेन्टले बनाएको छ । लकडाउनका कारण सामूहिक रूपबाट भएको नोक्सानीको भरपाइ गर्नका लागि यस्तो नियम बनाइएको रेष्टुरेन्टको दाबी छ ।

क्यालिफोर्नियाको मेन्डोकिनोमा रहेको फिडलहेड क्याफे सायद संसारकै पहिलो रेष्टुरेन्ट होला जसले मास्क लगाएर जाने ग्राहकलाई जरिवाना गर्दछ ।

रेष्टुरेन्टका मालिक क्रिस केसलम्यानका अनुसार मानिसहरु समाजको हितकै लागि मास्क लगाइरहेका छन् । त्यसैले त्यस्तो हित सोच्ने मानिसहरूले थप ५ डलर चुक्ता गर्दा कुनै समस्या मान्दैनन् । मास्क लगाउने बाट संकलित त्यस्तो रकम च्यारिटीमा प्रदान गरिने रेष्टुरेन्टले जनाएको छ ।

केसलम्यान भन्छन् ‘समाजको चिन्ता गर्ने दाबी गर्दै मास्क लगाउने मानिसहरुबाट च्यारिटीका लागि ५ डलर अशुल गर्नु कुनै ठूलो रकम होइन ।’

रेष्टुरेन्ट मालिक केसलम्यान व्यक्तिगत रूपमा मास्क लगाउनुपर्ने पक्षमा छैनन् । अधिकांश ग्राहकहरूको सोच पनि आफ्नोजस्तै रहेको उनको भनाइ छ । आफूले ग्राहकहरूलाई उनीहरूको रुचि अनुसारको निर्णय लिने स्वतन्त्रता दिने भन्दै उनले मास्क लगाउन अनिवार्य गर्नु सरकारको अप्रभावकारी उपायको हिस्सा भएको दाबी उनको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment