Comments Add Comment

खाडी मुलुक र मलेसियाबाट आउने नेपालीले पाँच दिन होटेल क्वारेन्टिन बसे पुग्ने

१८ जेठ, काठमाडौं । खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुलुक चीन, कतारमा साताको एक/एक वटा दुईतर्फी उडान गर्न सक्ने गरी अनुमति खुला गरेसँगै त्यहाँबाट आउने यात्रुलाई लक्षित गर्दै मापदण्ड बनाएको हो ।

मापदण्ड अनुसार वैदेशिक रोजगारीबाट आउने यात्रु पाँच दिन अनिवार्य होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ । होटेल क्वारेन्टिनमा बसी पीसीआर परीक्षण नेगेटिभ आएपछि थप १० दिन होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिएका छन् । मन्त्रालयले  नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गर्दै यस्तो प्रावधान ल्याएको हो ।

आकस्मिक अवस्थामा बाहेक अन्यलाई १० दिन होटेल क्वारेन्टिन अनिवार्य

आकस्मिक अवस्थामा बाहेक विदेशबाट आउने अन्य यात्रु (नेपाली–विदेशी)लाई भने अनिवार्य १० दिन होटेल क्वारेन्टिनको प्रावधान दोहोरिएको छ । मन्त्रालयका अनुसार नेपाल आउँदा साथमा ७२ घण्टा यताको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्छ । यात्रुको साथमा १० दिन होटेल बुकिङ गरेको प्रमाण पनि चाहिन्छ । हवाई उडानबाट आएका यात्रुको होटेल क्वारेन्टिनको खर्च भने यात्रु स्वयंको हो । १० दिन होटेल क्वारेन्टिनपछि भने कोरोनाको लक्षण देखिएका व्यक्तिले पीसीआर परीक्षण गर्नुपर्छ । पीसीआर परीक्षण गर्दा कोभिड पोजेटिभ आएमा १० दिन आइसोलेसन सेन्टर, अस्पताल वा तोकिएको होटेलमै बस्नु पर्नेछ । १० दिनसम्म बसेपछि भने लक्षण नदेखिएका वा परीक्षणबाट रिपोर्ट नेगेटिभ आएका सबै यात्रु घर/गन्तव्यमा जान सक्ने भएका छन् ।

तर, आफ्नो धर्म, रीतिरिवाज, परम्परा अनुसार आफन्तको अन्तिम संस्कार (काजक्रिया)मा सहभागी हुन विदेशबाट नेपाल आउने व्यक्तिको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिने अनिवार्य होम क्वारेन्टिनमा बस्ने गरी घर/गन्तव्यमा जान दिइने भएको छ ।

दीर्घरोगी, शारीरिक रुपमा अशक्त र बिरामीसँगै आएका कुरुवाको हकमा अस्पतालबाट घटना पुष्टि हुने कागजात र स्थानीय तहको सिफारिसका आधारमा १० दिन होम क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र नाबालकका आमा–बुबाको हकमा स्थानीय तहको सिफारिसमा कम्तिमा १० दिन क्वारेन्टिनमा बस्ने गरी जान दिइने भएको छ । कूटनीतिक नियोगका पदाधिकारी, कर्मचारी र उनीहरुका परिवारका सदस्यलाई नियोगको सिफारिसमा जान दिइने भएको छ ।

कोभिड नियन्त्रणमा खटिन आउने विदेशमा काम गरिरहेका स्वास्थ्यकर्मी, स्वास्थ्यसम्बन्धी अध्ययन पूरा गरेका वा अध्ययन गरिरहेका नेपालीलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा तोकिएको गन्तव्यमा १० दिन क्वारेन्टिन बस्ने गरी जान दिइने भएको छ ।

ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटेलमा क्वारेन्टिन नतोकिने

अब ठमेल, सुन्धारा, गोंगबु र कलंकी क्षेत्रका होटलमा क्वारेन्टिन नतोकिने भएको छ । मन्त्रालयका अनुसार यसअनुसार अब यी क्षेत्रमा रहेका होटेललाई क्वारेन्टिनका रुपमा सूचीकृत गर्न नपाइने भएको हो ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाका अनुसार यी क्षेत्र घना बस्ती भएका क्षेत्र भएकाले कोरोना संक्रमण नियन्त्रण गर्न ती क्षेत्रका होटेललाई क्वारेन्टिन होटेलका रुपमा सूचीकृत नगर्ने निर्णय सरकारले गरेको हो । होटेल क्वारेन्टिनका लागि होटेलको सूचीकरण गर्ने जिम्मा पर्यटन विभागको सिफारिसमा नेपाल पर्यटन बोर्डले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
अच्युत पुरी

ट्रेन्डिङ

Advertisment