Comments Add Comment

यसरी होस् मरण…

कविवर माधवप्रसाद घिमिरेले युवा अवस्थामै एक गीत लेखेका थिए–  यसरी होस् मरण ।

उक्त गीत रेकर्ड हुँदा घिमिरे सय वर्ष कटिसकेका थिए । अनि घिमिरेको निधन भएको दिन मात्रै यो गीत सार्वजनिक गरियो ।

शान्त र कर्मशील जीवनको मरण पनि अर्थपूर्ण हुन्छ भन्ने यो कालजयी गीतको मूल सन्देश थियो । अर्थात्, जीवन कसरी बाँचियो त्यो महत्त्वपूर्ण हुन्छ न कि कति धेरै बाँचियो !

युवा नेता एवं अभियन्ता उज्ज्वल थापाको निधन पनि कवि घिमिरेले भनेजस्तै अर्थपूर्ण रह्यो । उदाहरणीय रह्यो ।

एकैछिन मृत्यु–चिन्तनले ओतप्रोत घिमिरेकै गीततर्फ जाऔं । गीतले भनेको छ– ‘मुटुमा चोट नपरी टुटेर जाओस् बन्धन…’

जम्माजम्मी ४४ वर्षको जीवन बाँच्दा उज्ज्वलले निकटवर्तीको मनमा सायदै चोट पारे । बरू उनले हाँसीखुसी आफ्नो बलबुताले खोलेको पार्टीको नेतृत्व समेत साथीहरूलाई हस्तान्तरण गरे । पार्टी चुनावी मैदानमा गएर आफू नेता भइसक्दा पनि सधैं लो–प्रोफाइलमा बसे ।

शान्त र विनम्र भएरै विरोधको शंखघोष गरे ।

उज्ज्वल थोरै बाँचे तर अर्थपूर्ण बाँचे । पछिल्लो दश वर्षमा उनले गरेका एक/एक कर्मबाट यो पुष्टि हुन्छ ।

यसो त विद्यार्थी छँदा पनि सधैं नयाँ काम गर्न खोज्ने, जोखिम उठाउने उनको स्वाभावले कसैलाई हानी गरेन । बरू ‘फरक हुने’ उनको हिम्मतले वरिपरिका साथीहरूलाई पनि प्रेरणा दियो ।

तर, उज्ज्वल बाँच्दा उनका केही अभियानले भ्रष्टहरूको मुटुमा ढ्यांग्रो ठोकेकै हो । ‘नेपाल बन्द छैन, बरू नेपाल बन्दै छ साथी’ भनेर उनले सुरु गरेको अभियानले व्यक्तिगत स्वार्थमा नेपाल बन्द गर्नेहरूलाई बज्रले हानेसरी तुल्यायो ।

‘सम्पदा बचाउनुपर्छ, वातावरण संरक्षण गर्नुपर्छ’ भन्ने मुद्दा बोक्दा काठ तस्कर सांसदहरूलाई चोट पुगेकै हो । राजनीति वा समाजसेवा जे गर्दा पनि आर्थिक मजबुती तयार पार्न नैतिकताको सौदा गर्नेहरू राजनीतिकर्मीको लागि उज्ज्वल आँखी नै बने ।

तर, उनले कुनै पनि कार्यबाट मान्छेको जीवनलाई अहित हुने काम गरेनन् । परहित मात्र गरिरहे ।

जब उज्ज्वल बिरामी भएर थला परे, तब उनको सम्पूर्ण उपचार मेडिकल उद्यमी दुर्गा प्रसाईंले गर्ने प्रस्ताव राखे । तर कुनै व्यापारी वर्ग वा व्यक्तिको निगाहमा उज्ज्वलले जीवनको भिख मागेनन् । परिवार र पार्टीले पनि यो कुरा ठाडै अस्वीकार गरिदियो ।

सायद उनी होशमा हुन्थे भने यो कुराले उनको चित्त अवश्यै दुख्थ्यो । मुलुकलाई सर्वथा अँधेरोतिर धकेल्ने कुनै एक माफियाको जीवनदानभन्दा शानदार मृत्यु उनको लागि ठूलो थियो ।

यसैले त उनको जीवनरक्षाको लागि प्रार्थनाहरू भए । रकम संकलन भयो । अभूतपूर्व रुपमा दुई दिनमै पचास लाख रुपैयाँभन्दा बढी रकम उठ्यो । यसले फेरि एकपटक नेपाली जनताको हिमालयभन्दा विशाल छातीको परीक्षा सफल भयो ।

यी त भए निष्ठा, विवेक र जिन्दगीको कुरा । राजनीति र सामाजिक अभियानको कुरा गर्दा पनि उनले छोटो समयमा प्रभावकारी अभियान चलाए । अभियानको केन्द्र युवाहरूलाई बनाएर आन्दोलनहरू गरे । संगठन खोले ।  पुस्तक लेखे । आफ्नो ब्लग र लेखमार्फत् मध्यमार्गी बाटोबाट सामाजिक रुपान्तरण गर्ने खाका अघि सारे ।

त्यसक्रममा देशैभरिका युवा उनीसँग जोडिए । युवा मात्र नभई आफ्नो विचार मिल्ने पाका उमेरका मानिससँग पनि उनको सहकार्य रह्यो । रवीन्द्र मिश्र, डा. सूर्यराज आचार्य, डा. गोविन्द केसीसँग पनि उनी नजिक रहेर काम गरे ।

डा. सूर्यराज आचार्य उज्ज्वललाई जटिल मुद्दामा पनि शालीन, शिष्ट तर प्रभावकारी अभियान चलाउने आन्दोलनको प्रणेता मान्छन् । आचार्य भन्छन्, ‘नेता भन्नेवित्तिकै बुढा पुस्ता, जेल बसेका र लाठी खाएकै हुनुपर्छ भन्ने परिभाषा उज्ज्वलकै अगुवाइमा परिवर्तन भयो ।’

भन्नेले त उनको मृत्युपछि श्रद्धाञ्जली र गुणगानलाई अतिरञ्जित बनाइएको पनि भन्लान् । तर विगत हेर्‍यौं भने कुनै नेता वा सामाजिक अभियन्ताले उज्ज्वलले जति वाहवाही पाएका छैनन् । वाहवाही शब्दको आफैं विरोधी थिए उनी, यसैले वाहवाही होइन सद्भाव पाएको भन्नुचाहिं सत्य हो ।

हो, उज्ज्वलले अभूतपूर्व सद्भाव बटुले । समर्थन बटुले । एक बिन्दुबाट सिन्धुसरी कर्म गर्न सकिन्छ भन्ने उदाहरण बने । विनयी रहेर विद्रोह गरिरहे ।

यसैले उनका यिनै कर्म देखेको मेरो पुस्ताले मृत्युको सवाल उठ्दा जरुर भन्नेछ– उज्ज्वलको झैं होस् मरण !

अलबिदा असल मान्छे ! अलबिदा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
निर्भिकजंग रायमाझी

ट्रेन्डिङ

Advertisment