Comments Add Comment

अत्यावश्यक वस्तु कालोबजारीको आरोपमा डेढ महिनामा ३७ जना पक्राउ

१९ जेठ, काठमाडौं । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रिमडेसिभिरलगायतका स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा प्रहरीले डेढ महिनायता ३७ जनालाई पक्राउ गरेको छ ।

कोभिड-१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गरेकाले देशभरबाट ३७ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको समेत प्रहरीको भनाइ छ ।

उक्त अवधिमा पक्राउ परेका ३७ जनामध्ये १२ जना अक्सिमिटर कालोबजारी गर्ने, ८ जना पिसीआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने छ न । त्यसैगरी ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने, २ जना रिमडेसिभिर बढी मूल्यमा बिक्री गर्ने, १ जना स्यानिटाइजर तथा अक्सिमिटर दुवै कालोबजारी गर्ने, १ जना विभिन्न औषधि तथा स्यानिटाइजर कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन् ।

एक जना गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन गरी बिक्री गर्ने र ५ जना निषेधाज्ञा उल्लङ्घन गरी खोलिएका पसल बन्द गराउने तथा अनावश्यक हिँड्डुल रोक्ने कार्यमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको पाइएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सिमिटर तथा ७ सय ६५ वटा नक्कली अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर इथानिल रसायन, विभिन्न स्टिकरहरू, २ थान विलप्याड र ४६ वटा कार्टुन विभिन्न औषधि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment