Comments Add Comment

गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसदको ३ थरि कुरा !

१९ जेठ, पोखरा । गण्डकी प्रदेश सभामा भइरहेको विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रिय जनमोर्चाका ३ सांसदले तीनथरि धारणा राखे ।

अधिवेशनको पहिलो दिन बोलेकी संसदीय दलकी नेता पियारी थापाले एमाले नेतृत्वको सरकारको विरोध गरिन् । अल्पमतको सरकारले बजेट ल्याउन लागेको भन्दै उनले सुझाव दिनै अस्वीकार गरिन् । बरु केन्द्र सरकारले ल्याएको बजेटमाथि समीक्षा गरिन् र कोभिड महामारी नियन्त्रणमा प्रदेश सरकार चुकेको धारणा राखिन् ।

सभा सुरु भएको तेस्रो दिनमा दलका नेताबाट निलम्बित सांसद कृष्ण थापाले भनाइ राखे । उनले पनि विनियोजन विधेयकमाथि धारणा रखेनन् बरु सरकारको बचाउ गर्दै विपक्षी गठबन्धनमाथि खनिए । उनले विपक्षीहरु सत्तामा जान प्रदेशलाई निर्दलीयतातर्फ लगेको आरोप लगाए ।

‘गण्डकी प्रदेशमा आफू सत्तामा जानको लागि अर्को पक्षलाई हटाउन निर्दलीययता अपनाउँदै हुनुहुन्छ,’ उनले भनेका थिए, ‘कृष्ण थापालाई हटाएर फेरि सरकारमा पुग्छौं भनेर हिँड्ने भनेको निर्दलीयता हो । अर्काको चरित्र स्वीकार्न नसक्ने चरित्र हो । जनताबाट निर्वाचित सांसद स्वीकार्न नसक्ने चरित्र हो ।’

गुरुङ सरकार बचाउन मतदानको दिन ‘गायब’ भएको आरोप लागेका सांसद खिमविक्रम शाहीले भने बुधबार सदनमा आफ्नो भनाइ राखे । उनले विनियोजन विधेयकको समीक्षामात्रै गरेनन्, सरकारले विश्वासको मत लिनुपर्नेसमेत माग राखे ।

‘हाम्रो प्रदेशमा सरकारको वैधानिकता उठिरहेको बेला आफैं सरकारले विश्वासको मत लिन्छौं भनेर भनिरहनुभएको छ,’ सांसद शाहीले भने, ‘समयमै विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउनका लागि म अनुरोध गर्छु ।’

सांसद थापाले केन्द्रीय बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कटौती गरिएको र प्रदेशमा पनि कार्यक्रम नदेखिएकाले सरकार संसद विघटन गर्ने सोचमा हो कि भनेरसमेत प्रश्न गरे ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई समर्थन गरेको छ । तर संसदीय दलकी नेता पियारी थापाबाहेक अरु दुई सांसदले विपक्षी गठबन्धनलाई समर्थन गरेका छैनन् । सांसद कृष्ण थापाले त विपक्षी गठबन्धनविरुद्ध अभिव्यक्ति दिएका कारण पार्टीको कारबाहीमा नै परेका छन् ।

सांसद खिमबिक्रम शाही भने मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन सम्पर्कविहीन भएर चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment