Comments Add Comment

इजरायलमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नेतान्याहूलाई हटाउने

तस्वीर: दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट

२० जेठ, काठमाडौं । इजरायलमा विपक्षी गठबन्धनले सरकार गठन गर्ने घोषणा गरेको छ । विपक्षी गठबन्धनका विभिन्न पार्टीहरुबीच बुधबार यस विषयमा सहमति जुटेको हो ।

यसअघि इजरायलमा सरकार बनाउन बुधबारसम्मको समय दिइएको थियो । उक्त समयसीमा सकिनुभन्दा केही समयअघि विपक्षी गठबन्धनमा सहमति जुटेको हो । यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई प्रधानमन्त्रीबाट हटाउने बाटो खुलेको छ ।

नेतान्याहू इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुन् । पछिल्लो १२ वर्षमा इजरायलको राजनीति उनकै वरिपरी घुमिरहेको छ । गत मार्चमा भएको निर्वाचनमा नेतान्याहूको लिकुड पार्टीले बहुमत हात पार्न सकेको थिएन ।

नेतान्याहूलाई बहुमत सिद्ध गर्दै प्रधानमन्त्री बन्नका लागि दिइएको समयमा उनले बहुमतसहितको सरकार बनाउन नसकेसँगै दोस्रो ठूलो पार्टीलाई अन्य पार्टीसँग मिलेर सरकार बनाउन बुधबारसम्मको समय दिइएको थियो । विपक्षी गठबन्धनले बहुमत पुर्‍याउन नसकेको अवस्थामा इजरायल दुई वर्षमा पाँचौं निर्वाचनमा जानुपर्ने अवस्थामा पुग्थ्यो ।

विपक्षी गठबन्धनमा भएको सम्झौताअनुसार आलोपालो प्रणालीको आधारमा प्रधानमन्त्रीको चयन हुनेछ । सबैभन्दा पहिला दक्षिणपन्थी यामिना पार्टीका नेता नेफ्टाली बेनेट प्रधानमन्त्री बन्नेछन् । उनी सन् २०२३ सम्म प्रधानमन्त्री बन्नेछन्, त्यसपछि येश एटिड पार्टीका नेता येर लेपिड प्रधानमन्त्री बन्नेछन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment