Comments Add Comment

कुरा काट्नेलाई सकारात्मक सहयोग गरौं

झिसमिसे बिहान । तन्द्रामै थिएँ । बिस्तरा छोडेकैै थिएन । ‘हैन तपाईंलाई त ज्वरो आएर उठ्नै नसक्ने हुनुभएको छ भन्ने सुनेको थिएँ त, चारो लिन पो हिंडिसक्नुभएछ’ कसैको प्रश्न कानमा ठोक्कियो ।

आवाजले मात्रै प्रश्नकर्तालाई ठम्याउन सकिनँ । बाटो छेउकै घर भएकोले बाहिरको आवाज कानमा ठोक्किरहन्छ ।

‘म मीठो खान्छु, राम्रो लाउँछु, यो बुढेसकालमा सुँगुर पालेको छु, परिश्रम गरेर खाएको छु, त्यो चाहिं कसैले देख्दैनन्’ आक्रोश मिसिएको उत्तर आयो ।

उत्तरदाता परिचित लाग्यो । सजिलै ठम्याएँ । उनलाई ज्वरो आएर उठ्नै नसक्ने भएको कुरा मेरो कानसम्म पहिल्यै परिसकेको थियो ।

कोरोना महामारी शुरू भएपछि ज्वरो आउनु सामान्य विषय रहेन । गाउँघरमा, कसैलाई ज्वरो आयो भने गाईंगुईं शुरू भैहाल्छ ।

मन नलागी नलागी आँखा खोल्न बाध्य भएँ । झट्ट खोटाङको नेर्पालाई सम्भिmएँ । महिलासँग एउटा कार्यक्रम थियो, एकजना दिदीले भन्नुभयो, ‘हेर्नुस् हजुर डोरीले बाँधेको सबैले देख्छ तर बुद्धिले बाँधेको कसैले देख्दैन ।’

झट्ट सुन्दा त यो दिदीले के भनेको होला ! जस्तो लागेको थियो । तर पछि गहिरिएर सोच्दा जति बौद्धिक, असल र राम्रा कामहरू हुन्छन्, मिहिनेत गरेर गरिएका हुन्छन्, त्यस्ता कामले खासै चर्चा पाउँदैनन् ।

अझ भनौं, मान्छेले नियालेर राम्रा कुराहरू खोज्दैनन् । जानी नजानी अचानक केही गल्ती भएको देख्यो भने त्यो चर्चा परिचर्चाको विषय बनाइहाल्छन् । दिदीले भन्न खोजेको कुरा यस्तो थियो ।

ख्यातिप्राप्त लेखक काल कार्नेगीले भनेका छन्- ‘कुनै पनि मूर्ख आलोचना, निन्दा र गुनासो गर्न सक्छन् र अधिक मूर्खहरूले यस्तै गर्छन् ।’ अर्थात् आलोचना, निन्दा गर्नेहरू मूर्ख हुन् ।

हामी किन अरूको निन्दा गर्छौं ? चासो गर्छौं र नचाहिंदा कुराहरूमा समय बिताउँछौं । सकारात्मक पक्षहरूमा किन ध्यान दिंदैनौं ? ‘आफ्नो आङको भैंसी नदेख्ने अरूको आङको जुम्रा देख्ने’ भन्ने नेपाली उखान जस्तै किन गर्छौं ?

आफ्नो कमी-कमजोरी केलाउनुको साटो अरूको कुरा काटेर समयको बर्बाद किन गरिरहेका छौं ? के मिल्छ त्यसो गर्दा हामीलाई ? के यस्ता प्रश्नहरू हामीले कहिल्यै आफैंलाई गरेका छौं ?

भोजपुरमा प्रहरी अधिकृतहरूसँगको एउटा कार्यक्रममा तत्कालीन डीएसपीले कक्षा सहजीकरण गर्दै थिए । एउटा खाली स्लाइडमा सानो कालो थोप्लो मात्रै बनाएर सहभागीलाई सोध्नुभयो- यहाँ तपाईंहरूले के देखिरहनुभएको छ ?

सबैको उत्तर थियो कालो थोप्लो । तर स्लाइडमा बाँकी धेरै भाग त सेतो चिजले ओगटेको थियो । त्यतातिर कसैको नजर गएन । किन सबैको नजर सानो कालो थोप्लोमा पर्‍यो त ?

समाजमा हुने नकारात्मक बानीको चर्चाले गर्दा सकारात्मक कुरालाई यसैगरी ओझेल पारिरहेको हुन्छ । डीएसपीले सकारात्मक कुरातर्फ नजर लगाउन सम्झाए ।

मानिसहरू किन अरूको कुरा काट्छन् वा किन अरूको नकारात्मक कुरा गर्छन् त ? भन्ने विषयमा स्वामी विकासानन्दले एउटा प्रवचनमा भनेका छन् ।

जुन व्यक्तिलाई अरूको कार्य, प्रगति देखेर डाह लागेको हुन्छ त्यस्ता व्यक्तिहरूले अरूको कुरा काट्छन् । र जुन व्यक्तिले आफूले भने झैं अरूलाई परिचालन गर्न सक्दैन त्यस्ता व्यक्तिले अरूको कुरा काट्ने गर्दछन् र भएका राम्रा कुराहरूलाई वास्तै नगरी नराम्रा कुराहरूको चर्चा गर्ने गर्दछन् ।

फलानीकी छोरी किन राति ढिलो घर फर्किन्छे ? फलानोले किन फेसबुकमा श्रीमान्को फोटो राख्दिनँ ? विवाह गरेको महिला भएर सिन्दुर-पोते-चुरा केही लगाएकी छैन त ? ल हेर फलानोको छोरी/बुहारीले कस्तो लुगा लगाएर हिंडेकी, लाजै मर्नु ! गाउँमा त नबसे पनि हुने भा’को छ अब … ।

समाजमा कुरा नकाटी खाना नरुच्नेहरू पनि भेटिन्छन् । आफ्नो कामकुरो छाडेर अर्काको चियोचर्चो गर्ने प्रवृत्ति किन बढी छ ? के गर्दैछ, कहाँ जाँदैछ, कोसँग भेट्दैछ, के खाँदैछ, कोसँग बोल्छ, कसरी हिंड्छ यस्तै यस्तै किन चासो राख्नुपर्ने ?

अरूको बारेमा घन्टौं समय खर्चिएर मनमनै कुरा खेलाउनेहरू वा असम्बन्धित दोस्रो पात्रसँग कुरा गर्नेहरू किन सम्बन्धित व्यक्तिसँगै यस्ता प्रश्न गर्ने आँट गर्दैनन् ?
कहिलेकाहीं आफ्नो कमजोरी लुकाउन, कहिलेकाहीं आफ्नो अल्छीलाग्दो वा फुर्सदिलो समय कटाउन अरूको बारेमा नानाभाँती कुरा गर्न आवश्यक छ र ?

एकदिन एउटा कार्यक्रम सकेर फर्किएकी थिएँ । समकक्षी साथीले भनिन्, ‘हेरन कुनै पनि विषयको परिधिभित्र रहेर मानिसको अगाडि बोल्न त धेरै गाह्रो हुँदोरहेछ । अरूको

कुरा काट्दै अनावश्यक कुरा गर्न मात्रै सजिलो ।’

एक छिन गमें, हो नि अरूको अगाडि बोल्न विषयवस्तुको गहिरो अध्ययन, तथ्यसहितको तर्क सबै चाहिन्छ । त्यसका लागि अध्ययनमा समय खर्चिनुपर्छ । अध्ययनका सामग्री खोज्न समय खर्चिनुपर्छ । जाँगर र मिहिनेत दुवै आवश्यक पर्छ । त्यसका लागि किन दुःख गर्ने हैन र ?

कसैको कुरा काट्नु गलत मात्रै होइन, असभ्यताको परिचय हो । कसैको मानसम्मान, इज्जत, प्रतिष्ठा, स्वतन्त्रता, मर्यादामा ठेस पुर्‍याउने काम गर्न छुट कसैलाई छैन । पाप-धर्ममा विश्वास गर्नुहुन्छ भने पाप हो । अपराधिक र अमानवीय प्रवृत्ति हो ।

आज अर्काको कुरा तपाईंसँग काट्नेले तपाईंको कुरा अरूसँग गर्दैन भन्ने हुँदैन । अरूको कुरा गर्नु भनेको आदत हो, व्यवहार हो

लकडाउनमा घर बसिरहँदा आमाले प्रायः रामायण पढिरहनुहुन्छ । रामायणमा सीतालाई रावणबाट छुटाएर दरबार पुर्‍याएपछि मानिसहरूले कुरा काट्न थाले ।

मानिसहरूले ‘म राम हैन कि अर्कोसँग गएकीलाई फेरि भित्र्याउने’ भनेर पत्नीसँग झगडा गर्न थालेछन् । रामसम्म यो कुरा पुग्छ । कुल र राजसंस्थाको इज्जत जोगाउन भन्दै सीतालाई पुनः दरबारबाट निकालिन्छ । अग्निपरीक्षा दिन लगाइन्छ ।

गर्भवती सीता समाजका कारण दुव्र्यवहार भोग्न बाध्य हुन्छिन् । यो एउटा धर्मग्रन्थको उदाहरण मात्रै हो । हाम्रो गाउँ, टोल समाजमा नभएका कुराहरूलाई हो जस्तै लाग्ने गरी फैलाइन्छ । समस्यामा परेकोलाई झनै दलदलमा पार्ने काम हुन्छ ।

फेरि कुरा काट्ने व्यक्तिको अगाडि सुन्नेले अँ.. हो.. भने पनि उसको हैसियत त कुरा सुन्नेहरूले मनमनै गमिरहेका हुन्छन् । फेरि आज अर्काको कुरा तपाईंसँग काट्नेले तपाईंको कुरा अरूसँग गर्दैन भन्ने हुँदैन । अरुको कुरा गर्नु भनेको आदत हो, व्यवहार हो ।

कुरा काट्नु, निन्दा गर्नु विना पारिश्रमिकको गतिलो जागिर झैं हो । कोभिडको समयमा फुर्सदिलो भएका मानिसले झन् यो जागिरलाई राम्रै सदुपयोग गरिरहेका होलान् । विना पारिश्रमिक ओभरटाइम !

कुनै पनि व्यक्तिको कुरा काट्नुअघि उसको अवस्था कस्तो छ ? किन त्यसो भैरहेको छ ? उसलाई सहयोग पो आवश्यक छ कि ? उसको अप्ठ्यारोमा कसरी सहयोग गर्ने ? नकारात्मक परिस्थिति छ भने सकारात्मकतातर्फ लैजान सकिन्छ कि भनेर सोच्ने, सोध्नेहरू साँच्चिकै आफन्त हुन् । मित्र हुन् ।

मानिस प्रशंसाको भोको हुन्छ । प्रशंसाले व्यक्तिलाई राम्रो काम गर्नका लागि प्रोत्साहन दिन्छ, केही राम्रो गरौं गरौं जस्तो लाग्छ । कुरा काट्दा त एकछिनको आनन्द मात्रै होला । तपाईंले दिएको हौसलाले कसैले राम्रो काम गर्छ भने जिन्दगीभरिका लागि आनन्द मिल्छ ।

सहयोगी व्यक्तिको सिर्जनात्मक कामले उसको जीवनमा सकारात्मक शक्ति, गर्व गर्नलायक कुराहरू मात्रै दिंदैन सामाजिक ख्याति कायम राख्न पनि सहयोगी बन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment