Comments Add Comment
साप्ताहिक समीक्षा :

बजेटपछिको सेयर बजार : दुई दिन अत्यायो, त्यसपछि उल्लास

२२ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट वक्तव्यको भोलिपल्टै सेयर बजारमा हरियाली देखियो । लोकप्रिय बजेट ल्याएको भन्दै बजेटको निजी क्षेत्रले स्वागत र विपक्षीहरुले आलोचना गरिरहेका थिए ।

सेयर बजारमा भने सकारात्मक असर देखियो । जेठ महिनाको तेस्रो साता लगानीकर्ताहरुका लागि सुखद रह्यो । शनिबार बजेट आयो, त्यसको भोलिपल्ट आइतबार नेप्से परिसूचक १२.५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुग्यो । अघिल्लो साता सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको थियो । १४ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएर बजारमा नयाँ रेकर्ड कायम भयो ।

त्यसपछिका दिनहरुमा भने दिनैपिच्छे जस्तो नयाँ रेकर्ड कायम हुँदै गयो । बजेटपछि आइतबार दोहोरो अंकले नेप्से परिसूचक बढे पनि सोमबार यो कायम रहन सकेन । सोमबार र मंगलबार भने नेप्से परिसूचक दोहोरो अंकले घट्यो । अब बजारमा ठूलो गिरावट आउन सक्ने भन्दै लगानीकर्ताहरु डराए ।

तर बुधबार र बिहीबार भने लगानीकर्ताहरुले निराश हुनु परेन । साताको अन्तिम दिन बिहीबार लगानीकर्ताहरुलाई हौसला दिने गरी बजार बढेर बन्द भयो । बुधबार नेप्से परिसूचक ५५ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २७ दशमलव १२ अंकमा पुगेको थियो ।

बुधबार समूहगत इन्डेक्समा म्युचुअल फण्ड बाहेकका सबै समूहका सवइन्डेक्सहरु बढेका थिए भने दुई दिन लगातारजसो गिरावट आएको हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा बुधबार भने सुधार देखियो ।

बिहीबार सेयर बजारमा नयाँ रेकर्ड नै कायम भयो । बिहीबार दिउँसो १ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक बढेर २ हजार ८ सय ७५ अंकमा पुगेको थियो । जुन हालसम्मकै उच्च अंक हो । यद्यपि कारोबार समय सकिदासम्म नेप्से परिसूचक २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेर बन्द भएको थियो । यस दिन १६ अर्ब ९० करोड रुपैयाँभन्दा धेरैको कारोबार भयो ।

पूँजीमा व्यापक सुधार

पछिल्लो समय सेयर बजारमा देखिएको आकर्षणका कारण सेयर बजारको पूँजीकरणमा निकै राम्रो वृद्धि देखिएको छ । पछिल्लो एक महिनामा नै सेयर बजारका लगानीकर्ताको पूँजी करिब ३ खर्ब रुपैयाँले वृद्धि भएको छ । वैशाख २१ गतेसम्म सेयर बजारको पूँजीकरण ३६ खर्ब ८३ अर्ब १३ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।

२० जेठसम्म यस्तो पूँजीकरण २ खर्ब ८१ अर्ब ७ करोड ८५ लाख रुपैयाँले वृद्धि भएर ३९ खर्ब ६४ अर्ब २१ करोड २१ लाख रुपैयाँ नाघेको छ । पछिल्लो समय सेयर लगानीकर्ताहरुको सहभागिताका साथै नयाँ सेयर सूचीकृत हुने संख्यामा वृद्धि भएका कारण पनि सेयर बजारको बजार पूँजीकरणमा वृद्धि देखिएको हो ।

कमजोर देखियो बैंकिङ सूचक

यस साता बजारमा उत्साह देखिएपनि बैंकिङ समूहको सवइन्डेक्स भने कमजोर देखिएको छ । दुई वर्ष अघि आधाभन्दा कम अंकमा रहेको फाइनान्स समूहको सबइन्डेक्सले बैंकिङ सब इन्डेक्सलाई पछाडि पारेको छ ।

बिहीबार बैंकिङ सब इन्डेक्स बढेर १ हजार ९ सय ७ दशमलव ४६ अंकमा पुग्दा फाइनान्स बढेर १ हजार ९ सय ४२ दशमलव ५१ अंकमा पुग्यो ।

बिहीबार नेप्से परिसूचक २ हजार ८ सय ५६ दशमलव ६७ अंकमा पुगेको छ । आजभन्दा २ वर्ष अघिको तथ्यांक हेर्ने हो भने नेप्से परिसूचक १ हजार २ सय ९४ दशमलव २३ अंकमा थियो । त्यसबेला बैंकिङ सबइन्डेक्स १ हजार १५२ दशमलव २७ अंकमा थियो भने फाइनान्स ६२० दशमलव २९ अंकमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment