Comments Add Comment

स्थानीयवासी फर्किन थालेपछि प्रहरी टोली पनि पुग्यो दार्चुलाको तिङ्कर

२३ जेठ, धनगढी । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र दार्चुलाको तिङ्करमा नेपाल प्रहरीको १३ जनाको टोली खटिएको छ ।

ब्यास गाउँपालिका–१ मा पर्ने उक्त सीमा प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक हर्कसिंह महताको नेतृत्वमा १३ जनाको प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले स्थानीयवासी सदरमुकामबाट तिङ्कर बसाइ सर्न थालेपछि उनीहरुको सुरक्षार्थ प्रहरी खटाइएको बताए। प्रहरी टोली शनिबार हेलिकप्टरमार्फत तिङ्कर पुगेको छ ।

‘हेलिकप्टरमार्फत उहाँहरुलाई चाहिने खाद्यान्न, हातहतियार एवम् दैनिक बन्दोबस्तीको सामान पनि शनिबार ढुवानी गरेका छौँ’ डीएसपी भट्टले भने ।

प्रहरी टोली ६ महिनासम्म तिङ्करमै बस्नेछ । गर्मी मौसममा त्यहाँ बस्दै आएका स्थानीय वासिन्दा चिसो बढेपछि सदरमुकाम खलंगामा झर्ने गर्छन् । अहिले गर्मी मौसम भएकाले सदरमुकामबाट ब्यास गाउँपालिका-१ को छाङरु र तिंकरका वासिन्दा गाउँ फर्किएका छन् ।

प्रहरीका अनुसार शनिबारसम्म छाङरु र तिंकरका १५० परिवार सदरमुकामबाट पशु चौपाया समेत लिएर गाउँ फर्किएका छन् ।

स्थलगत निरीक्षण

प्रहरी प्रधान कार्यालयबाट खटिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रकाश अधिकारीको टोली सीमा क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको छ ।

शनिबार हेलिकप्टर मार्फत दार्चुला पुगेको टोली छाङरु र तिङ्कर क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भट्टले बताए ।

त्यहाँ बस्दा प्रहरीले भोग्नुपर्ने समस्याका बारेमा समेत डीआईजीको टोलीले चासो राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment