Comments Add Comment

अफगानिस्तानमा यात्रुबाहक गाडीमा बम विष्फोट, ११ जनाको मृत्यु

२३ जेठ, काठमाडौं । उत्तरी अफगानिस्तानमा एउटा यात्रुबाहक गाडीमा गराइएको विष्फोटमा परी ११ जनाको मृत्यु भएको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार सडकमा गुडिरहेको गाडी धरापमा पर्दा विष्फोट भएको हो । अधिकारीहरुले उक्त विष्फोट चरमपन्थी संगठन तालिबानले गराएको दाबी गरेका छन् ।

अफगानिस्तानको उत्तरी प्रान्त बाड्गिसका गभर्नर हुसमुद्दिन साम्सले शनिबारको विष्फोटमा परी मृत्यु हुनेमा तीनजना बालबालिका रहेको जनाएका छन् । उनका अनुसार काला–ई–न शहरतर्फ जाँदै गर्दा उक्त विष्फोट गराइएको हो । अहिलेसम्म यो घटनाको कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।

तालिबानका नेता र संयुक्त राष्ट्रसंघका अधिकारीबीच शनिबार कतारमा भेटवार्ता हुनुभन्दा केही समयअघि अफगानिस्तानमा यो विष्फोट भएको हो । गत शुक्रबार सार्वजनिक भएको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को एक प्रतिवेदनले अफगानिस्तानमा पछिल्लो समय तालिबानले न्यायाधीश, सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुलाई लक्षित गरी आक्रमण गर्दै आएको देखाएको छ ।

सन् २०२१ को सुरुवाती ३ महिनामा अफगानिस्तानमा करिब १८ सयको मृत्यु भएको थियो । अहिले अफगानिस्तान र तालिबानबीच शान्तिवार्ता जारी रहेको अवस्थामा तालिबानले आक्रमण बढाएको हो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment