Comments Add Comment

सिंहदरबारमा नवनियुक्त मन्त्रीको चहलपहल

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार अबेर मन्त्रिपरिषद् पुनर्गठन गरेपछि शपथ लिएलगत्तै केही मन्त्रीहरुले शुक्रबार राति नै जिम्मेवारी सम्हाले । भोलिपल्ट शनिबार सार्वजनिक विदा भएकाले धेरै मन्त्रीहरु भने आइतबार मात्र सिंहदरबार पुगे ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान छ । तर सिंहदरबारभित्र भने बेग्लै चहलपहल छ । आइतबार सिंहदरबारमा विभिन्न मन्त्रालय पुग्दा हालै नियुक्त मन्त्रीहरु भने बधाइ थाप्न व्यस्त थिए ।

सिंहदरबारको दक्षिण गेटबाट प्रवेश गर्नेवित्तिकै बायाँ तर्फ कृषि तथा पशुपंक्षी मन्त्रालय छ । यसको नजिकै अरु दुई मन्त्रालय भौतिक पूर्वाधार र खानेपानी मन्त्रालय छ । सबै मन्त्रालयका अगाडि लहरै गाडी पार्किङ गरिएको छ । मन्त्रालय प्रांगणमा गाडी राख्ने ठाउँ नभएपछि सडक किनारामा पनि गाडी पार्किङ गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयबाहिर गाडीको खासै चहल पहल नभए पनि मन्त्रीको कार्यकक्ष बाहिर भने निकै भीड छ । दुई समूह मन्त्रीलाई भेट्न पालो कुरिरहेको छ । भित्र एउटा समूह मन्त्रीसँग छलफलमा छ । ‘खै खोलिदिनुस् न’ दुई युवक युवा तथा खेलकुदमन्त्री एकवाल मियाँको कार्यकक्षको ढोका छेउमा पुगेर बोल्छन् ।

‘भित्र धेरै जना हुनुहुन्छ, एकछिन बसौँ न सर’ अगाडि उभिएका सैनिक बोल्छन् । भित्रको हाम्रै मान्छेहरु हुन् भन्दै उनीहरुले खोल्न लगाए । ती युवक भित्र पसेको देखेर पर्खिएको अर्को समूह पनि भित्र जान खोज्छन् ।

‘अब त भित्र उभिने पनि ठाउँ छैन, केहीबेर बस्नुस् उहाँहरु निस्कनेबित्तिकै पालो आइहाल्छ’ ती सैनिकले भने ।

मन्त्रीका सुरक्षा अधिकृत ती सैनिकका अनुसार हालसम्म स्वकीय सचिव नियुक्त गरिएको छैन । मन्त्रीको कार्यकक्षभित्र रमाइलो माहोल छ । मन्त्री मियाको काँधमा खादा र माला छ । उनी अगाडिको टेबलमा पनि एक थुप्रो खादा र केही फूलका बुकेहरु छन् ।

मन्त्री एकवाल मियाँका अनुसार त्यहाँ गाउँका कार्यकर्तादेखि विभिन्न कार्यालयमा कार्यरत चिनजानका साथीहरु भेट्न आइरहेका छन् । सचिव तथा विभागीय प्रमुखहरुसँग उनले ब्रिफिङ लिइसकेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्लगायतको टोलीले पनि उनलाई आइतबार नै बधाई दिएर गयो । ‘आज त भ्याइ नभ्याइ छ, तपाईंहरुसँग केही दिनमा बसेर विस्तृतमा कुरा गरौंला’ अनलाइनखबरसँग मन्त्री मियाँले भने, ‘पहिलो दिन त यस्तै हुने रहेछ ।’

श्रम रोजगार तथा सामाजिक मन्त्रीको जिम्मेवारी पाएका विमल श्रीवास्तव पनि पहिलो पटक मन्त्री बनेका हुन् । यसअघि उनी प्रतिनिधिसभाको श्रम समितिको सभापति थिए । आइतबार मध्यान्ह उनको कार्यकक्षमा पुग्दा उनी सचिव, सहसचिव लगायत उच्च पदस्थ कर्मचारीसँग ब्रिफिङ लिदै थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री उमाशंकर अरगरिया पनि पहिलो पटक मन्त्री बनेका हुन् । उनले शुक्रबार राति नै पदभार ग्रहण गरिसकेका थिए । उनले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचीकृत गर्न कार्यदल गठन गर्ने शुक्रबार नै निर्णय गरिसकेका थिए ।

पदभार गरेपनि उनले सचिव, विभागीय प्रमुख साथै मन्त्रालय मातहतका कार्यालयबाट ब्रिफिङ लिन भने बाँकी रहेछ । उनलाई कर्मचारीहरुले मन्त्रालयको सभाहलमा ब्रिफिङ गरिरहेका थिए । जसपाबाट १० जनालाई मन्त्री बनाए पनि प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालय खाली राखेका छन् ।

गृह, रक्षा, सञ्चार, उद्योगलगायतको मन्त्रालय प्रधानमन्त्रीले आफैंले जिम्मा लिएका छन् । कृषि तथा पशुपंक्षी मन्त्रालय पनि प्रधानमन्त्रीकै जिम्मामा छ । तर यो मन्त्रालयमा पनि आइतबार बाक्लै चहलपहल थियो ।

मन्त्रालयको सभाहलमा निवर्तमान मन्त्री पद्माकुमारी अर्याललाई मनत्रालयको तर्फबाट बिदाइ कार्यक्रम आयोजना गरिएको रहेछ । सचिव, सहसचिवलगायतले माला–खादा पहि¥याएर मन्त्री अर्यालले बिदा गरे । विदाइ मन्तव्य राख्दै मन्त्री अर्यालले छोटो समयमा कृषि मन्त्रालयको नेतृत्व गर्दा धेरै काम भएको दावी गरिन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी र राज्यमन्त्री रेणुका गुरुङ पनि पहिलो पटक मन्त्री बनेका हुन् । चौधरी पनि भेटघाटमै व्यस्त, गुरुङ केही फुर्सदिलो देखिइन् । गत स्थानीय तहको उपमेयरमा पराजय बेहोरेकी गुरुङले समानुपातिकबाट सांसद हुँदै राज्यमन्त्री बन्ने अवसर पाइन् ।

‘मैले उपमेयरमा ९९ भोटमात्रै पाएँ, त्यतिबेला हाम्रो संगठन नै थिएन, पार्टीको पहिलो व्यक्ति नै म थिएँ’ उनले भनिन्, ‘असफलता नै सफलताको पहिलो खुड्किलो हो, चुनाव हारेर म आत्तिइनँ, म भाग्यमा विश्वास गर्छु, भाग्यले अहिले म राज्यमन्त्रीको कुर्सीमा छु ।’

तस्वीरः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment