Comments Add Comment

कोरोना महामारीले बढ्दैछ आत्महत्या गर्नेको संख्या

न्यूनीकरणका लागि सामुदायिकस्तरमा मानसिक स्वास्थ्य उपचार जरुरी

२४ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जबकि कोरोना महामारीको पहिलो लहर शुरू भएदेखि महामारीको दोस्रो लहर शुरू भएपछिको २०७८ वैशाख मसान्तसम्म कोरोना संक्रमणका कारण करीब ४ हजार ६६९ जनाको ज्यान गएको थियो ।

यो आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या बढेको छ । प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखसम्म र चालु आर्थिक वर्षको वैशाखसम्म आत्महत्या गर्नेको संख्या तुलना गर्दा करीब डेढ प्रतिशतले बढेको देखिएको छ ।

कोरोना महामारीको असर आत्महत्याको तथ्यांकमा देखिन थालेको प्रहरीको भनाइ छ । कोरोना महामारीको संक्रमण नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ मा गरेको लकडाउनका कारण सबै क्षेत्र ठप्प भएको थियो ।

लामो समयको लकडाउनका कारण रोजीरोटी खोसिएका, आर्थिक समस्या भोग्नुपरेका, बेरोजगारी लगायत समस्याले मानसिक समस्या बढाउने र यसले आत्महत्यासम्मको परिणाम ल्याउन सक्नेतर्फ मनोविद्, मनोचिकित्सकहरूले औंल्याएका थिए ।

आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम कायमै छ ।
– वसन्तबहादुर कुँवर, प्रहरी प्रवक्ता एसएसपी

त्यो जोखिम अहिले प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ६ हजार ८५ जनाले आत्महत्या गरेकोमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको १० महीनामा मात्रै ५ हजार ६७३ जनाले आत्महत्या गरिसकेका छन् । आत्महत्या गर्नेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।

अहिले आत्महत्याको दर बढ्नुको प्रमुख कारण कोरोना महामारीको असर भएको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । प्रवक्ता कुँवरका अनुसार कोरोनाका कारण रोजगारी गुमाएर, आर्थिक संकट परेका, घरेलु हिंसामा परेर मानसिक स्वास्थ्यमा समस्या परेका कारण आत्महत्या गर्नेको संख्या बढेको हो ।

उनी भन्छन्, ‘आत्महत्या गर्नेको संख्या बढ्नुमा कोरोना महामारीले ल्याएको आर्थिक संकट, बेरोजगारी, त्यसले निम्त्याएको घरेलु हिंसा जस्ता कारण देखिन्छ । यो अझै बढ्न सक्ने जोखिम छ ।’ दोस्रो लहरको कोरोना महामारीको संकटले थप धेरैलाई विभिन्न नकारात्मक असर गरेकोले बढ्न सक्ने अनुमान प्रवक्ता कुँवरको छ ।

राज्य जिम्मेवार बन्नुपर्छ

पहिलो लहरको कोरोना महामारी सेलाउन नपाउँदै दोस्रो लहर आक्रामक रूपमा फैलियो । यसले झनै बढी मानिसको जनजीवनमा प्रभाव पार्‍यो । एउटै परिवारका धेरै जनाले ज्यान गुमाउनु पर्‍यो । परिवारलाई पालनपोषण गर्नेकै ज्यान तल-माथि हुँदा तनावको आयतन बढेको छ । परिवार नै संक्रमित हुनुपरेको अवस्था छ ।

मनोविद्हरू आत्महत्याको कारण विविध हुने बताउँछन् । आर्थिक, सामाजिक, मानसिक, पारिवारिक लगायत तनावले आत्महत्यालाई निम्त्याउने उनीहरूको भनाइ छ ।

दोस्रो लहरको कोरोनाले यी सबै पाटोलाई नराम्रोसँग गिजोलेको छ । जसले गर्दा आत्महत्याको दर बढ्न सक्ने जोखिम रहेको त्रिवि शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य विभाग प्रमुख डा.सरोजप्रसाद वझा बताउँछन् ।

आत्महत्याको दर बढ्न नदिने मुख्य दायित्व राज्यको हो । शारीरिक स्वास्थ्य उपचारको सुविधा जत्तिकै मानसिक स्वास्थ्य समस्याको सुविधा राज्यले दिने हो भने धेरै हदसम्म आत्महत्याको दर कम हुने मनोचिकित्सकहरू बताउँछन् ।

त्यसैले आत्महत्या न्यूनीकरण गर्न तत्काल समुदायस्तरमा उपचारको सुविधा, सूचना सेवा र जनचेतना जगाउनुपर्ने शिक्षण अस्पतालका मनोरोग तथा मानसिक स्वास्थ्य विभाग प्रमुख डा. वझा सुझाउँछन् ।

उनका अनुसार हरेक स्थानीय तहको टोल, गाउँमा मानसिक स्वास्थ्य समस्याबारे जनचेतना जगाउनुपर्छ । मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने सेवा पुर्‍याउनुपर्छ । औषधि उपचारको सुविधाको बारेमा समेत सूचना एवं सचेतना फैलाउन जरूरी छ । मानसिक स्वास्थ्य उपचारको लागि दक्ष जनशक्ति बढाउनुपर्छ ।

अधिकांशलाई मानसिक स्वास्थ्य समस्या उपचारको बारेमा जानकारी नै नभएको डा.वझाको बुझाइ छ । शिक्षण अस्पताल लगायत केही अस्पताल एवं संघसंस्थाहरूले मनोविमर्श, उपचार गर्ने गरेका छन् । तर यसबारेमा एकदम थोरै जनसंख्यालाई जानकारी छ । अधिकांश यसको पहुँच बाहिर छन्, जसले गर्दा विभिन्न चरणको मानसिक स्वास्थ्य समस्यापछि आत्महत्याको बाटो रोज्न पुग्छन् ।

राज्यको मनोरोग एवं मानसिक स्वास्थ्य समस्या सम्बन्धित उपचार काठमाडौंका सीमित जनसंख्यालाई मात्रै लक्षित हुन नहुने डा.वझाको तर्क छ । डा.वझा भन्छन्, ‘राज्यले मनोरोग तथा मानसिक स्वास्थ्य समस्याबारे जनचेतनासँगै सहयोगका लागि औषधि, उपचार सेवाहरू दिनुपर्छ । नत्र भोलि फेरि हामी आत्महत्याको दर यत्ति बढ्यो भनेर संख्या गन्दै बस्ने अवस्थामा मात्रै हुन्छौं ।’

आत्महत्याको दर बढ्न नदिनुमा राज्यसँगै मुख्य भूमिका परिवारको हुने गर्छ । परिवारका सदस्यलाई मानसिक स्वास्थ्य समस्या बारेमा परिवार पनि सचेत एवं सजग हुन जरूरी रहेको मनोविद् डा.करुणा कुँवर बताउँछिन् ।

परिवारमा परेको पीडा एकअर्कासँग साट्ने, खुलेर कुरा गर्ने बानी बसाल्नुपर्ने उनको भनाइ छ । मनोविद् डा. कुँवर भन्छिन्, ‘मानसिक तनाव बढ्दै जाँदा डिप्रेसन हुन सक्छ । डिप्रेसनको बारेमा खुलेर कुरा गर्ने, उपचारका लागि लग्नुपर्छ । त्यसो गर्न सकियो भने सम्बन्धित व्यक्तिलाई आत्महत्या गर्नबाट बचाउन सकिन्छ ।’ राज्य र परिवार यस विषयमा संवेदनशील भएन भने कोरोनाभन्दा आत्महत्या जटिल बन्ने मनोचिकित्सक तथा मनोविद्हरूको चिन्ता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment