Comments Add Comment

सङ्क्रमण घटेसँगै कोहलपुर मेडिकल कलेजले सुरु गर्‍यो ओपीडी सेवा

२४ जेठ, राँझा । कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरले बहिरङ्ग सेवा (ओपीडी) सञ्चालन ल्याएको छ ।

कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले बहिरङ्ग सेवा बन्द गरेर कोभिडका बिरामीको मात्रै उपचार गर्दै आएको थियो । कोरोना भाइरस सङ्क्रमण घटेसँगै आइतबारदेखि अस्पतालको ओपीडी सेवा सञ्चालन गरिएको अस्पतालका सहायक निर्देशक नितेशकुमार कनौडियाले जानकारी दिए ।

उनका अनुसार, कोरोना भाइरस सङ्क्रमणका बिरामी आउन कम भएपछि पहिले झै नियमित रुपमा ओपीडीलगायत सेवा सुरु भएको हो । अब अस्पतालले कोरोना भाइरस सङ्क्रमित र सङ्क्रमित नभएका दुवैको उपचार सेवा नियमित गर्नेछ ।

यसअघि नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित नभएका र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित भएका बिरामीको उपचार हुँदै आएको थियो ।

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरले कोरोना सङ्क्रमित बिरामीको उपचार, शल्यक्रियालगायत सेवा दिइरहेको थियो ।

शिक्षण अस्पताल नेपालगञ्जमा भने पहिले देखि नै ओपीडीलगायत सेवाको निरन्तरता थियो । कोरोना उपचार केन्द्रका रुपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालको ओपीडी सेवा भने अझै सञ्चालन हुन सकेको छैन ।

बाँके जिल्लामा कोरोना सङ्क्रमण दर घटेको जस्तो देखिएपनि छिमेकी जिल्लाहरुबाट प्रेषण भएर आउने बिरामीको चाप घट्न नसकेकाले जोखिम कायमै रहेको अस्पतालका कोभिड स्रोत व्यक्ति डा. संकेत रिसालले बताए ।

उनका अनुसार, भेरी अस्पतालमा १४२ शय्याको कोभिड वार्डमा अहिले पनि १३६ बिरामी उपचाररत छन् । तीमध्ये ९० प्रतिशत बढीलाई अक्सिजन सहायतामा उपचार भइरहेको बताइएको छ । कोराना भाइरस सङ्क्रमणका कूल बिरामीमध्ये ४० प्रतिशत भन्दाबढीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment