Comments Add Comment

धरानको शर्दुखोलामा उत्खननका विषयमा झडप

तस्वीर सौजन्य : रोहित राई

२६ जेठ, विराटनगर । धरान उपमहानगरपालिका–१७ शर्दु खोलामा उत्खनन् गरिरहेका ठेकेदार कम्पनीका कामदार र रोक्न पुगेका स्थानीयबीच झडप भएको छ । झडपमा केही स्थानीय घाइते भएका छन् ।

धरान–चतरा सडकखण्डमा रहेको पुलदेखि उत्तरतर्फ उत्खनन् गरिरहेका बेला धरानकै राजेश खिम्दुङसहित ८–१० जना रोक्न पुगेका थिए । स्थानीयलाई ढुंगा टिप्न नदिने तर ठेकेदारले डोजर लगाएर खनेको भन्दै पुगेका युवाहरु र उत्खनन् गरिरहेका ठेकेदार कम्पनीका कामदारबीच झडप भएको प्रहरीले बताएको छ ।

घटनास्थल संरक्षित चुरे क्षेत्र नजिकै पर्छ । धरान उपमहानगरपालिका–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईका अनुसार चुरे क्षेत्रभन्दा बाहिरको क्षेत्रमा उत्खनन्का लागि नगरपालिकाले ठेक्का लगाएको थियो । ठेकेदारले उत्खनन् गर्न थालेपछि रोक्न पुगेकाहरुबीच झडप भएको उनले बताए । ‘रोक्न पुगेकाहरु धरानकै हुन् तर प्रभावित क्षेत्रका होइनन्,’ उनले भने, ‘नगरपालिकाले लगाएको ठेक्कामा अवरोध गर्न खोजेपछि प्रहरीले पक्राउ गरेर लगेको छ ।’

 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले उत्खनन् रोक्न पुगेका पाँच जनालाई पक्राउ गरिएको बताए । ‘उत्खननमा खटिएका कामदारमाथि हातपात भएपछि झडप भएको रहेछ,’ उनले भने, ‘पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ ।’

झाडपमा परी उत्खनन् रोक्नुपर्ने पक्षका राजेश खिम्दुङको टाउकोमा चोट लागेको छ । स्थानीय हर्क साम्पाङको नेतृत्वमा केही दिनयता उत्खननको विरोध भइरहेको छ । बुधबार दिउँसो झडप हुँदा साम्पाङ भने थिएनन् ।

घाइते खिम्दुङले स्थानीय जनताले पनि गिट्टी बालुवा निकाल्न पाउनुपर्ने भन्दा गुण्डागर्दी शैलीमा कुटपिट भएको बताए ।

तस्वीर सौजन्य : रोहित राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment