Comments Add Comment

पार्किङस्थलबाट जिप चोरेर दुर्घटना गराएको आरोपमा युवक पक्राउ

३० जेठ, धनगढी । कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धामीले बिहीबार राति धनगढी बसपार्कस्थित नविन होटलको बाहिर पार्किङ गरेर राखेको बझाङको छविसपाथिभेरा-५ का खड्कबहादुर चलाउनेको बा १४ च १६४४ नम्बरको बोलेरो जिप हराएको थियो । बिहान उठ्ने क्रममा पार्किङ गरेको ठाउँमा जिप थिएन । पछि खोजी गर्दै जाँदा गोदावरीको जंगलमा जिप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

नविन होटलमा बसेका धामीले चलाउनेको कोठाको झ्यालबाट चाबी चोरेर जिप गोदावरीसम्म पुर्याएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

घटनामा धामी एक्लै थिए वा अरुको पनि संलग्नता थियो भन्ने विषय खुलिनसकेको उनले बताए ।

बझाङमा व्यवसाय गर्दै आएका चलाउनेले सामान लैजान धनगढी आएका बेला यस्तो घटना भएको बताए । उनले गाडीमा रहेका ल्यापटप, रेडियो, नागरिकता लगायतका सामाग्री भेटिए पनि करिब डेढ लाख नगद भने नभेटिएको दाबी गरेका छन् ।

चलाउनेले हालै मात्र उक्त गाडी एकजना अर्को व्यक्तिबाट २५ लाख १७ हजार रुपैयाँमा खरिद गरेका थिए । गाडी चोरी गरेर दुर्घटनामा पारिदिएपछि समस्या भएको चलाउनेले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment