Comments Add Comment

पूर्वप्रधानमन्त्रीहरुले किन एकै स्वरमा गरे बाह्य हस्तक्षेपको कुरा ?

३० जेठ, काठमाडौं  । नेपालका पाँचजना पूर्वप्रधानमन्त्रीहरुले शनिबार एक विप्ज्ञप्ति प्रकाशित गरी नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भइरहेको जनाउ दिएका छन् । पाँच पूर्वप्रधानमन्त्रीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘नेपालको बारेमा हामी नेपालीले नै निर्णय गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेप एवं चलखेल हुन नपाओस् भन्नेमा सजगताका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छौँ ।’

०००

पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईले एक स्वरमा बाह्य शक्तिको हस्तक्षेपको विषय उठाएका छन् । सो विज्ञप्तिलाई लिएर राजनीतिकृत र सामाजिक संजालमा विभिन्न दृष्टिकोणबाट बहस भइरहेको छ।

विज्ञप्तिको भाषा हेर्दा नेपालको आन्तरिक मामिलाका सम्बन्धमा वाह्य पक्षबाट हस्तक्षेप भएको सूचना पूर्वप्रधानमन्त्रीहरुले पाएको देखिन्छ । आखिर बाह्य शक्ति भनेर उनीहरुले कसलाई संकेत गरेका हुन् ? विज्ञप्तिमा उनीहरुले यो विषय प्रष्टसँग खुलाएका छैनन् तर विश्लेषकहरु उनीहरुले भारतलाई खबरदारी गरेको बताउँछन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेको व्यवस्था जोखिममा पर्न लागेको सूचना आफूले पाएको भनी सार्वजनिक गरेको केही दिनमा नै पाँच जना पूर्वप्रधानमन्त्रीहरुको संयुक्त विज्ञप्ति आएको छ । भट्टराईले सो सूचना प्रधानमन्त्री लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई जानकारी गराएको उल्लेख गरेका थिए । भट्टराईका अनुसार अहिलेको व्यवस्था नै उल्टाउन पर्दाभित्र विभिन्न खाले षडयन्त्रहरु भइरहेका छन् ।

विशेषगरी पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेपछि पूर्वप्रधानमन्त्रीहरुले विभिन्न समय र सन्दर्भमा भारतले ओलीलाई समर्थन गरेको विषय उठाएका छन् । भारतको आडमा नै ओलीले पटक-पटक संसद विघटन गरेको धेरैको बुझाइ छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालका विदेश मामिला सल्लाहकार एवं परराष्ट्र विज्ञ मिलन तुलाधर पाँच पूर्वप्रधानमन्त्रीहरुले समयमा नै देशको हितको लागि बोलेको बताउँछन् । ‘नेपालको परराष्ट्र नीति सन्तुलित हुनुपर्छ । तर अहिलेको सरकार एकातिर ढल्केको देखियो यो देशको लागि शुभ संकेत होइन,’ तुलाधरले भने, ‘विज्ञप्ति ठीक समयमा आएको छ, उहाँहरुले सचेत गराएको ठीक छ । उहाँहरुले ढुंगा, गिट्टी, बालुवाको विषयमा पनि बोल्नु भएको छ ।’ उनका अनुसार नेपाली कांग्रेस सभापति देउवा र पूर्वप्रधानमन्त्री भट्टराईसमेतले वैदेशिक हस्तक्षेपको विषयमा बोल्नु अर्थपूर्ण भएको बताए ।

पूर्वप्रधानमन्त्रीहरुले प्रकाशित गरेको संयुक्त वक्तव्यका केही अंशहरुले राजनीतिक र कूटनीतिक रुपमा अर्थपूर्ण सन्देश दिन्छन्

भारततर्फ संकेत गर्दै पूर्वप्रधानमन्त्रीहरुले केही समययता विभिन्न अभिव्यक्तिहरु भने दिइरहेका छन् । केही साता पहिला पूर्वप्रधानमन्त्री देउवाले ओली भारतको टाङमुनि छिरेको आरोप लगाएका थिए । त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले भारतले ओलीको कदमलाई समर्थन गरेको उल्लेख गर्दै आएका छन् । प्रचण्डले भारतलगायतका प्रजातान्त्रिक मुलुकहरु नेपालमा प्रजातन्त्रको पक्षमा बोल्नुपर्ने बताएका छन् ।

कांग्रेसका एक नेता भन्छन्, ‘गण्डकी प्रदेशमा स्पष्टरुपमा बहुमत हुँदाहुँदै पनि जसरी कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ढिलाइ गरियो, त्यहाँ कुनै न कुनै खालको बाह्य हात छ भनेर त्यसो नगर्न चेतावनी दिइएको हो र राष्ट्रिय राजनीतिमा पनि भारतको प्रभाव बढेको देखिन्छ ।’ देउवाले आफू निकटहरुसँग पटक-पटक भारतका कारण आफू प्रधानमन्त्रीका लागि खासै सक्रिय नभएको बताउँदै आएका थिए ।

सो विज्ञप्ति जारी भएपछि शनिबार बेलुका अंग्रेजी भाषामा एक ट्विट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘हामी नेपाली आफैंले नेपालको बारेमा निर्णय गर्नुपर्छ । नेपालको आन्तरिक मामिलामा कुनै पनि खालको प्रत्यक्ष र परोक्ष हस्तक्षेपविरुद्ध हामी सचेत गराउन चाहान्छौं ।’ भट्टराईले भारतको संस्थापनले ओली सरकारलाई समर्थन गरेको बताउँदै आएका छन् ।

भारतका लागि पूर्व नेपाली राजदूत एवं राजनीतिशास्त्री लोकराज बराल एउटा व्यक्तिलाई मात्र नच्याप र हामी पनि छौं भनेर भारतलाई सन्देश दिएको हुनसक्ने बताउँछन् । उनका अनुसार पाँच पूर्वप्रधानमन्त्रीले ओलीलाई धेरै ‘व्याकअप’ नगर भन्ने सन्देश भारतलाई दिएका हुन् ।

‘उता दिल्लीमा पनि भारतले ओलीलाई समर्थन गरेको भन्ने केहीको बुझाइ छ । विभिन्न लेखमा त्यो देखिएको छ,’ बरालले भने, ‘पूर्वप्रधानमन्त्रीहरुलाई भित्री कुराहरु थाहा हुन्छ । केहीदिन पहिले बाबुरामले त केही खतराको सूचना पाएको पनि उल्लेख गर्नुभयो ।’ बरालका अनुसार त्यस्तो आधिकारिक केही छैन तर पूर्वप्रधानमन्त्रीहरुले प्रत्यक्ष रुपमा ओलीलाई किन समर्थन गरेका छौ भनेर चेतावनी दिएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment