Comments Add Comment

इजरायलमा आज नयाँ सरकार गठन हुने, नेतान्याहू विपक्षी नेता

३० जेठ, काठमाडौं । इजरायलको सरकारले आइतबार गठबन्धनको नयाँ सरकारलाई अनुमति दिने सम्भावना छ । यससँगै इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको १२ वर्षको शासनकाल सकिनेछ ।

इजरायलमा बन्ने नयाँ सरकारसँग विपक्षीभन्दा केवल एक सिटमात्र धेरै हुनेछ । यद्यपि नयाँ सरकारले इजरायलमा पछिल्लो दुई वर्षदेखि देखिँदै आएको राजनीतिक अस्थिरताको भने अन्त्य हुने विश्वास लिइएको छ । इजरायलमा पछिल्लो दुई वर्षमा तीनपटक निर्वाचन भइसकेको छ । दक्षिणपन्थी नेता नाफ्टाली बेनेट आलोपालो सरकारका प्रधानमन्त्री बन्नेछन् ।

नयाँ सरकारको प्रस्ताव पेश गरेको विभिन्न आठ पार्टीको गठबन्धनबीच भएको सम्झौताअनुसार यामिनान पार्टीका बेनेट सन् २०२३ को सेप्टेम्बरसम्म इजरायलको प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको दुई वर्षका लागि याइर लपिड प्रधानमन्त्री बन्नेछन् ।

बेन्जामिन नेतान्याहू इजरायलमा सबैभन्दा लामो समयसम्म सत्तामा रहने नेता हुन् । नाफ्टाली बेनेट प्रधानमन्त्री बनेसँगै नेतान्याहू दक्षिणपन्थी लिकुड पार्टीका नेता र संसद्मा विपक्षी नेताको रुपमा रहनेछन् । नेतान्याहूले नयाँ सरकारलाई धोकाधडी र आत्मसमर्पणबाट बनेको खतरानक गठबन्धनको संज्ञा दिएका छन् । उनले छिटै नै नयाँ सरकार ढालिदिने बताएका छन् ।

नेतान्याहूमाथि घुस लिएको, धोकाधडी गरेको र विश्वासघात गरेको आरोपमा मुद्दा चलिरहेको छ । यद्यपि उनले यी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment