Comments Add Comment

रुपन्देहीमा लिक्विड अक्सिजन प्लान्ट शिलान्यास

३० जेठ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा लिक्विड अक्सिजन प्लान्ट बन्ने भएको छ । परासी–भैरहवा सडक खण्ड अन्तर्गत धकधईस्थित शंकर ग्यास उद्योगले एक अर्ब रुपैयाँ लगानीमा लिक्विड अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

उक्त प्लान्टले दैनिक ६० मेट्रिक टन (सात हजार ठूला सिलिण्डर) अक्सिजन र दुई टन नाइट्रोजन ग्यास उत्पादन गर्न सक्ने उद्योगले जनाएको छ ।

प्रबन्ध निर्देशक शंकरलाल अग्रवालले यो देशकै ठूलो र पहिलो लिक्विड अक्सिजन प्लान्ट भएको दावी गरे । प्लान्टको भौतिक पुर्वाधार निर्माण तथा चीन र युरोपबाट मेसिन आयात जडान गर्न कम्तीमा १० महिना लाग्ने र एक वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको अग्रवालले बताए । यो उद्योगको उत्पादनले देशभरका अस्पतालमा लिक्विड अक्सिजनको मागको ठूलो हिस्सा पूर्ति गर्ने अग्रवालले बताए ।

उद्योगलाई नियमित विद्युत आपूर्तिमा सरकारले सहयोग गरेमा पूर्ण क्षमतामा अक्सिजन उत्पादन गर्न सक्ने र अक्सिजन अभावको समस्या हुन नदिने उनको भनाइ छ ।

प्लान्टको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्लान्ट शिलान्यासमा संघीय सरकारका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ उपस्थित थिए ।

प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री श्रेष्ठले यो अक्सिजन उद्योग लुम्बिनी प्रदेश सरकारको लागि गौरवको विषय भएको भन्दै उत्पादन सुरु भएपछि सातै प्रदेशमा पठाउन सकिने बताए ।

उत्पादन शुरु भएपछि उद्योगले सयजनालाई रोजगारी दिने प्रबन्ध निर्देशक अग्रवालले बताए । लिक्विड अक्सिजन शुद्ध, अस्पतालमा भण्डारण र बेडका विरामीलाई आपुर्ति गर्न सजिलो हुने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल बताउँछन् ।

लिक्विड अक्सिजन अस्पतालमा राखिने ट्यांकमा भण्डारण गरेपछि सिधै बेडमा सप्लाई गर्न सकिने भएकाले सिलिण्डरको आवश्यकता पर्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment