Comments Add Comment

एक तिहाइले घट्यो संक्रमित संख्या

३० जेठ, काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमण क्रमशः मत्थर र हुँदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तर अझै संक्रमणको जोखिम कायमै रहेकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभरमा २,४०७ संक्रमित थपिएका छन् । पछिल्लो एक हप्ता अर्थात जेठ २३–२९ मा २१ हजार ६७८ जनामा संक्रमण पुष्टि भएको छ, जुन दोस्रो लहरको संक्रमण उत्कर्षमा पुगेको बेलाको एक तिहाइ मात्र हो ।

मन्त्रालयको तथ्यांक अनुसार वैशाख २६–१ जेठसम्म ६१ हजार ८१४ जनमा संक्रमण पुष्टि भएको थियो र, यसलाई दोस्रो लहरको उच्च विन्दु मानिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार त्यसयता प्रत्येक साता संक्रमण ओरालो लाग्दै गएको छ ।

जेठको पहिलो साता अर्थात जेठ २–८ गते ५७ हजार ८६९ संक्रमित थपिए भने दोस्रो साता अर्थात ९–१५ गतेसम्म ४७ हजार ७७९ । जेठको तेस्रो साता (१६–२२) मा संक्रमितको संख्या घटेर ३१ हजार ६७८ मा आइपुगेको थियो । प्रवक्ता पौडेल भन्छन्, ‘दोस्रो लहरमा संक्रमण उत्कर्षमा पुग्दा पुष्टि भएका संक्रमितको संख्याको तुलनामा यो साता संक्रमित संख्या एक तिहाइ कम हो ।’

संख्या मात्र होइन, संक्रमण दरले पनि संक्रमण कम हुँदै गएको देखाएको छ । दोस्रो लहरको संक्रमण उच्च विन्दुमा पुगेको बेला झण्डै ४५ प्रतिशत भएको संक्रमण दर पछिल्लो २४ घण्टामा १९.४ प्रतिशतमा झरेको छ ।

‘संक्रमित घट्दै गएको भन्ने तथ्यलाई अस्पतालमा रहेका बिरामीको तथ्यांकले पनि देखाउँछ,’ डा पौडेल भन्छन्, ‘अस्पतालहरुमा आईसीयू लगायतका बेडहरु विस्तारै खाली हुँदै गएका छन् । जसले गर्दा संक्रमितको उपचारमा सहजता हुँदै पनि आएको छ ।’ यद्यपि अझै पनि समुदाय स्तरमा लक्षण भएका/नभएका एवं कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरु अझै पनि परीक्षणको दायरामा आउन नसकेको प्रवक्ता डा. पौडेलले बताए ।

परीक्षण पनि आधा घट्यो

पछिल्लान दिनमा परीक्षण पनि घटेको छ । मन्त्रालयको तथ्यांक अनुसार परीक्षण गर्ने कुल क्षमता भन्दा आधा मात्रै परीक्षण भइरहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. पौडेलका अनुसार विविध कारणले परीक्षण दर घट्दै गएको देखिन्छ । कोरोनाका लक्षण देखिएका व्यक्तिहरु पनि परीक्षण गर्न हिच्किचाउने गरेका कारण परीक्षण दर घट्दै गएको उनको तर्क छ ।

सरकारी स्वास्थ्य संस्थामा लक्षण भएका व्यक्तिको परीक्षण निःशुल्क गरिने व्यवस्था रहेको भन्दै उनले समुदाय स्तरमा परीक्षण गर्न एन्टिजेन किटको व्यवस्था गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment