Comments Add Comment

मेलम्ची विपद् : ‘यो ठूलो क्षतिको पूर्वसंकेत हो’

३ असार, मेलम्ची । मंगलबार राति मेलम्ची र यांग्री खोलामा गएको विनासबारी बाढीका कारण मेलम्ची बजार अस्तव्यस्त बन्यो । खोला छेउका करिब ३ दर्जन घरमा पूर्ण क्षति भयो भने करिब एक सय घर प्रभावित भए ।

पक्की घरका तीन तलामाथिसम्म नदीले बगाएर ल्याएको लेदो भरिएको छ । बाढीले २ वटा पक्की पुल बगाएको छ भने ३ वटा झोलुंगे पुल बगाएको छ ।

बुधबार हेलिकप्टरबाट गरेको निरीक्षणका क्रममा पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ३ भोताङस्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने लार्के भन्ने ठाउँमा ठूलो पहिरो गएको र त्यसैले मेलम्ची नदी थुनिँदा मेलम्ची बजारमा यो विपद् परेको स्थानीय प्रशासनले ठहर गरेको छ।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा पहिरोले थुनिएको मेलम्ची नदी एक्कासी खुल्दा माटोसहित बगेर मेलम्ची बजार तहसनहस भएको उल्लेख छ ।

विपद् विज्ञ भने मेलम्ची बजारमा देखिएको संकट ठूलो क्षतिको पूर्व संकेत रहेको बताउँछन् । यो विपद् सामान्य बाढी र पहिरोको कारणले मात्रै नभए र लामो समयदेखि परेको जलवायु परिवर्तनको असरले सिर्जना गराएको समस्या रहेको विज्ञको मत छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल मेलम्चीमा गएको लेदो सहितको बाढीलाई ‘क्यासकेडिङ डिजास्टर’को रुपमा मान्ने गरिएको बताउँछन् । यस्तो प्रकोप मेलम्चीमा पहिलो पटक गएको नभए पनि यति ठूलो क्षति भने यसअघि भएको जानकारीमा नआएको उनी बताउँछन् ।

‘क्यासकेडिङ डिजास्टर’ भनेको कुनै पनि एउटा प्राकृतिक प्रकोपले अर्काे प्राकृतिक प्रकोप निम्त्याएर हुने विपद् हो । उनी भन्छन्, मेलम्ची बजारमा पहिरोले मात्रै पनि यति क्षति हुने थिएन, बाढीले मात्रै पनि । पहिरोले बाढीको अवस्था सिर्जना गरायो, जसले गर्दा मेलम्ची बजार तहसनहस भयो ।

उनका अनुसार यो सबै संकटको मूल कारण भनेको जलवायु परिवर्तन नै हो । त्यसको असरले कतै अतिवृष्टि हुन्छ, भने कतै अनावृष्टि हुन्छ । अनावृष्टि हुँदा खडेरी लाग्छ, अतिवृष्टि हुँदा पहिरोको जोखिम हुन्छ ।

अहिले जलवायु परिवर्तनका कारण हिमाली भेगमा अतिवृष्टिको समस्या बढिरहेको छ । जसले गर्दा यो वर्ष पहिरोका घटनाहरु पनि बढी हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाबाट आफूहरुले पाएको पोखरेल बताउँछन् ।

कार्यकारी निर्देशक पोखरेलले यो वर्ष तुलनात्मक रुपमा हिमाली भेगमा बढी पानी पर्ने सम्भावना रहेकाले पहिरो गएर मेलम्चीमा जस्तै अन्य क्षेत्रमा पनि समस्या सिर्जना हुन सक्नेतर्फ ध्यान दिएर प्राधिकरणले पनि क्षति कम गर्न सक्दो पहल गरिरहेको जानकारी दिए ।

तर यसमा विपद् प्राधिकरणमात्रै नभएर जलवायु परिवर्तनको असर नियन्त्रणमा सबै सरोकारवाला निकाय तत्काल जुट्नुपर्नेमा जोड दिए । यो संकटलाई नियमित हुने संकट सम्झिएर बेवास्ता गर्ने हो भने यसले ठूलो क्षति निम्त्याउने उनको बुझाइ छ । उनी भन्छन्, अहिलेको समस्या जलवायु परिवर्तनसँग जोडिएको विषय हो । यो साल त्यही जलवायु परिवर्तनका कारण नै मनसुन सुरु हुँदैमा भारी वर्षा हुन थाल्यो । जसले पहिलो दिन नै यति ठूलो क्षति व्यहोर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment