Comments Add Comment

यार्सा टिप्न गएका ५६ जनाको उद्धार

तीन जनामा स्वास्थ्य समस्या

४ असार, पोखरा । मनाङको उच्च हिमाली भेगमा अलपत्र परेका ५६ जनाको शुक्रबार उद्धार गरिएको छ ।

नार्पाभूमि गाउँपालिकाको फू लेकमा यार्सा टिप्न गएका उनीहरु भारी वर्षापछि सम्पर्कविहीन भएका थिए ।

केही अघिबाट निरन्तर वर्षाका भइरहेकाले सम्पर्कविहीन भएको ४ दिनसम्म उद्धार हुन सकेको थिएन । उद्धार गरिएकामध्ये तीन जनाको स्वास्थ्यमा खराबी देखिएको जिल्ला प्रशासन कार्यालय मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उच्च लेकबाट उद्धार गरेर उनीहरुलाई फू गाउँमा ल्याइएको छ ।

‘यार्सा टिप्न उहाँहरु उच्च हिमाली भेगमा पुग्नु भएको थियो । अविरल वर्षासँगै ठाउँठाउँमा पहिरो गएपछि उहाँहरु उतै रोकिनु परेको थियो,’ प्रजिअ लामिछानेले भने, ‘तीन जनाको स्वास्थ्यमा समस्या देखिएपछि चामे ल्याइएको छ ।’

शुक्रबार बिहानैबाट मौसम खुलेकाले उद्धारमा सहज भएको उनले बताए । उनले शुक्रबार फू मा भएका ५६ जना, ताल्चे ५५ जना, ओडारमा २८ जनाको उद्धार गरिएको जनाए । ‘ताल गाउँका ३ जना अपाङ्गता भएकाहरुको पनि उद्धार गर्न सफल भयौं,’ उनले भने ।

मनसुनको सुरुमै आएको बाढी, पहिरोका कारण मनाङमा ठूलो क्षति पुगेको छ । मनाङको चामे, ताल गाउँ मर्स्याङ्दीमा बाढी आएका कारण डुबानमा परेका थिए । बाढीका कारण मनाङमा १ हजार बढी परिवार विस्थापित भएका छन् । बाढीका कारण मनाङमा सडक, सञ्चार, खानेपानी, विद्युतविहीन बन्न पुगेको छ ।

लगातार भारी वर्षा भइरहेका कारण उद्धार कार्य सहज पुगेको थिएन । बिहीबार राहत तथा स्थलगत निरीक्षणका लागि प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, विना विभागीय मन्त्री राजीव गुरुङ लगायतको टोली मनाङ पुगेको थियो । प्रदेश मुख्यमन्त्रीको टोली बिहीबारै फर्किने तालिका भए पनि मौसममा खराबी आएका कारण शुक्रबार बिहानमात्रै फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment