Comments Add Comment

नेपाली कम्युनिष्टहरूको बाटो : पश्चिम बंगाल कि केरला ?  

पूँजीवाद उच्चतम विकास भएर साम्राज्यवादमा रूपान्तरण भएको छ । परन्तु, पूँजीवादको औपनिवेशिक नीति उही, कार्यशैली बदलिएको छ । अहिले पूँजीवादले वित्तीय कम्पनी मार्फत विकासोन्मुख राष्ट्रका श्रमजीवी जनताको शोषण भने गरिरहेको छ ।

पूँजीवाद मौलाउँदा समाजमा हुने खाने र हुँदा खानेहरूको वर्गीय दूरी बढ्दैछ । परिणामस्वरूप समाजमा असमानता, शोषण, विभेद र उत्पीडन व्याप्त छ । समाजमा अन्तरविरोध बढिरहेको छ । पूँजीवादी व्यवस्थाबाट सिर्जित वर्तमान समाजको अन्तरविरोधको समाधान पूँजीवादले भने गर्न सकिरहेको छैन ।

आज विश्वभरि नै कम्युनिष्ट पार्टीहरूलाई भूमण्डलीकृत पूँजीवादले आक्रान्त बनाइरहेको छ । समाजवादी अभियान मात्र पूँजीवादलाई न्यूनीकरण गर्न सक्छ । तसर्थ, कम्युनिष्ट घोषणापत्र सार्वजनिक भएपछिदेखि सन् १९५९ सम्मको विश्व कम्युनिष्ट आन्दोलनको जुन उत्साहपूर्ण लहर थियो त्यसलाई निरन्तरता आजको समयमा झनै बढ्दैछ ।

साथै पूँजीवादले खडा गरेका विसंगति र विकृति विरुद्ध क्रान्तिको मशाल उठाउन वर्तमान समयले नौजवानको जोश, जाँगर र साहसपूर्ण नेतृत्वको आवश्यकता महसूस गरेको छ । समाजवादले ढोका ढक्ढक्याइसकेको छ ।

पूँजीवादको युगौं–युगको लामो इतिहासलाई १८औं शताब्दीमा कार्ल मार्क्स र फ्रेडरिक ऐंगेल्सद्वारा प्रतिपादित वैज्ञानिक समाजवादले चुनौती दिइसकेको छ । मार्क्स ऐंगेल्सको मिहिनेतले समाजवादी आन्दोलनले नयाँ उचाइ हासिल गरेको छ । उत्पीडित समुदायले उक्त घोषणापत्रलाई आफ्नो मुक्तिको अचूक अस्त्र मानेका छन् ।

सन् १९५९ पछि प्रतिक्रान्तिको यात्रा लगाम बेगरको घोडा जस्तै अन्धाधुन्द बुर्कुसी मारेर दौडिरहेको छ । विश्व जगतमा कुनै बेला ३६ वटा देशमा क्रान्ति र केही चुनावबाट कम्युनिष्ट शासन सत्तामा आएको थियो । अहिले चीन, भियतनाम, लाओस, उत्तरकोरिया र क्यूवामा मात्र कम्युनिष्ट शासन छ ।

घोषणापत्र सार्वजनिक भएपछि विश्वभरि समाजवादी आन्दोलन निरन्तर छ । मार्क्सवादका अनुयायीहरूले केही देशमा सफलता पनि प्राप्त गरेका छन् । द्वन्द्वात्मक भौतिकवादको औचित्य पुष्टि पनि भएको छ । तसर्थ, मार्क्सवादी दृष्टिकोणमाथि यथास्थितिवादी र पूँजीवादीहरू तगारोको रूपमा खडा भएका छन् ।

ती सबै क्रान्तिबाट सत्तामा आएका हुन् । रुमानिया, कम्बोडिया र चिली बाहेक अरू देशमा विना रक्तपात प्रतिक्रान्ति भयो । यसो हुनुमा भीमकाय परिवर्तनको आन्दोलनमा होमिएका योद्धाहरू बुर्जुवा वर्गले निर्माण गरेको सत्ताको दलदलमा फसेपछिको वैचारिक संकटको परिणाम हो ।

तमाम संकटका बाबजूद पनि पूँजीवाद तङ्ग्रिनुमा समाजवाद चाहनेहरूको अलमल, अनेकता, व्यक्तिवाद र अंश–अंशमा विभाजित हुनु पनि हो । जबसम्म धुरीमा समाजवाद हुँदैन, तबसम्म दूरी नजिक हुँदैन । असीमित देशहरूमा बीजारोपण भएको कम्युनिष्ट आन्दोलन सीमित देशहरूमा मात्र सफल र दिगो हुनुमा आन्तरिक कारण पनि उत्तिकै महत्वपूर्ण छ ।

संसद प्रवेशलाई नै रणनीति मान्नेहरूले बुर्जुवा शैलीको चुनावदेखि यसको कार्यक्रमलाई मार्क्सवादको सिर्जनात्मक प्रयोग भन्न पनि सक्छन् । यो दक्षिणपन्थी भड्काव हो । यस्ता प्रवृत्तिका व्यक्ति संसदीय जनवादका प्रतिपादक कार्ल काउत्स्कीका चेला हुन् । सही कार्यनीति र कार्यदिशाको अभाव, उद्देश्यमा भन्दा बुर्जुवाहरूले खडा गरिदिएको सत्तामा मात्र ध्यान भएपछि स्वाभाविक रूपमा अन्तरविरोध हुन्छ । उक्त अन्तरविरोधको समाधान यथास्थितिमा हुनेवाला छैन ।

विश्व कम्युनिष्ट आन्दोलनलाई दृष्टिगोचर गर्दा पेटी बुर्जुवा चिन्तनबाट अभिप्रेरितहरूले क्रान्तिका नियमलाई अनेक प्रकारले तोडमरोड गर्दै भ्रमित तुल्याउने प्रयास गरिरहेको देख्न सकिन्छ । पात्र सही नभएपछि उद्देश्य मात्र सही हुँदैमा गन्तव्यमा पुग्न सकिंदैन ।

यस्तो गैरमार्क्सवादी प्रवृत्ति कम्युनिष्ट आन्दोलनभित्र विकास हुनु दुर्भाग्य हो । यस्ता गलत हर्कतको परिणाम अहिले हँसिया हथौडाको रातो झण्डामुनि दलाल पूँजीवादको रजगज गर्ने थलो बन्ने खतरा उत्पन्न भएको छ । लाभका निम्ति दलालहरूले राता मान्छेहरूलाई फिक्का बनाउन प्रपञ्च गरिरहेका छन् ।

पश्चगामी, प्रतिक्रियावादी र यथास्थितिवादीहरूले आफ्नो स्वार्थ मुताविक कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारलाई अलमलाउन, थकाउन निकै प्रयास गरिरहेका छन् । अहिले पनि मुलुक भित्र–बाहिर मार्क्सवाद, लेनिनवाद र माओवादप्रति पूर्ण प्रतिबद्धहरूलाई भूमिकाविहीन बनाउने खेल जारी छ ।

पश्चिम बंगालमा, कम्युनिष्ट पार्टीका नेताहरू सत्ताको फोहोरी खेलमा लागे जनताले रसातलमा पुर्‍याइदिए । केरलामा, इमानदारी साथ काम गरे विजयमत दिए । अब पश्चिम बंगाल कि केरलाको बाटो ? रोज्ने जिम्मा नेपाली कम्युनिष्टहरूकै !

कम्युनिष्ट पार्टीका नेताहरूमा ऐक्यबद्धता कमिलाहरूको ताँती जस्तै मित्रता र एकता अझै पनि अभाव छ । यद्यपि नेपाली राजनीतिमा भू–राजनीतिको प्रभावलाई भने चटक्कै बिर्सनुहुँदैन । राष्ट्रको अहित गर्ने वर्तमान विवादित नागरिकता अध्यादेश यसैको उपज थियो । यद्यपि सत्ता टिकाउने स्वार्थका निम्ति गरिएको नागरिकता अध्यादेश अदालतबाट रोकियो ।

सधैं क्रान्तिकारी हुन कम्युनिष्ट पार्टीका नेताहरू बारम्बार हरेक क्रान्तिका मोर्चामा परीक्षण हुनुपर्दछ । यस विधिले परिवर्तनकारी वा क्रान्तिकारीहरूलाई नयाँ युगको चेतनाबारे अवगत हुन्छ । यो विधिलाई छोडेपछि बुर्जुवा वर्गमा रूपान्तर हुने खतरा हुन्छ ।

आफ्नो चिन्तन प्रणाली, आनीबानी, संस्कार र संस्कृति बुर्जुवाकरण गर्नुको परिणामले वर्तमान समयमा प्रधानमन्त्री केपी शर्मा ओली चरम संकटमा छन् । सत्तारूढ कम्युनिष्ट पार्टीका नेताहरू जालझेल र षडयन्त्रमा मात्र अहोरात्र व्यस्त छन् । यसो हुनुमा आत्मसमीक्षाको अभाव एवं सैद्धान्तिक, वैचारिक र नैतिक संकटको परिणाम हो ।

परन्तु, यतिबेला विश्वका धेरै देश कोभिड–१९ भाइरस नियन्त्रण र रोकथाममा लागिपरिरहेका छन् । यस्तो बेला सरकारी नेतृत्वले राहतका कार्यक्रम साथै जनपक्षीय काम गर्नुपर्ने समयमा दलाल पूँजीवादको मतियार बन्दै प्रतिनिधिसभा विघटनसम्मको यात्रा तय गर्नु लज्जाको विषय बनेको छ ।

मध्यरातमा षडयन्त्रपूर्वक गरिएको प्रतिनिधिसभा विघटनले नयाँ सरकार बन्ने प्रक्रियालाई अवरोध गरिदिएको छ । यस्ता हर्कतले अन्ततोगत्वा पुग्ने पश्चिम बंगालका कम्युनिष्टहरूको बाटो हो । यद्यपि भारतको पश्चिम बंगालका कम्युनिष्टहरूको प्रभावले नेपालको कम्युनिष्ट पार्टी नै बंगाल राज्यको कलकत्तामा जन्म भएको थियो ।

कम्युनिष्टहरूलाई कमजोर बनाउने खेल नेपालमा मात्र सीमित छैन । उसो त भारतमा पनि नेपालमा जस्तै कम्युनिष्ट पार्टीहरूलाई विभाजित गर्ने खेल निरन्तर छ । भारतमा मुख्य कम्युनिष्ट पार्टीहरू भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिष्ट पार्टी (माले) र भारतीय कम्युनिष्ट (माओवादी) सक्रिय छन् ।

भारतको केन्द्रीय राजनीतिमा भन्दा यी उल्लिखित कम्युनिष्ट पार्टीहरूको प्रभाव विभिन्न राज्यमा विशेष छ । विगतमा पश्चिम बंगाल राज्यमा भने भाकपा (मार्क्सवादी) को अधिक प्रभाव थियो । बंगालमा मुख्यमन्त्रीको जिम्मेवारीमा कम्युनिष्ट पार्टीका ज्योति वसु र बुद्धदेव भट्टाचार्यले सन् १९७७ देखि २०११ सम्म करीब ३४ वर्ष शासन गरे । शुरूआतको समयमा शिक्षा, स्वास्थ्य र रोजगारी लगायत जनताका आधारभूत कामलाई प्राथमिकता दिएका थिए ।

आन्तरिक एकता एवं विचारप्रतिको प्रतिबद्धताको अभाव, निर्णायक समितिहरूमा युवाहरू नहुनु र जनपक्षीय काममा कम्युनिष्ट पार्टीले कम ध्यान दिएपछिको परिणाम छिमेकी राष्ट्र भारतको पश्चिम बंगालमा देखिएको छ ।

त्यहाँ करीब ३४ वर्ष शासन गरेको कम्युनिष्ट पार्टी (सन् १९७७–२०११, सीपीएम) पछिल्लो पाँच–सात वर्षको अन्तरालमा अहिले शून्य सिटमा झरेको मात्र छैन, अस्तित्व नै संकटमा परेको छ । उक्त पराजयलाई कम्युनिष्ट इतरका तृणमूल कंग्रेस र भाजपा लगायतका पार्टीहरूले निकै ठूलो जितको रूपमा परिभाषित गरिरहेका छन् ।

शुरूआतदेखि नै जनपक्षीय कामका साथ वर्तमान समयमा पनि कोभिड–१९ भाइरसको नियन्त्रण र रोकथाममा उत्कृष्ट बन्दै भारतको केरला राज्यमा पिनाराई विजयन नेतृत्वमा कम्युनिष्टहरूले पुनः सानदार विजय प्राप्त गरे । विजयन जनपक्षीय अर्थतन्त्रका पक्षमा दृढ हुँदै दलाल पूँजीवादको खिलाफमा छन् ।

यसैको परिणाम केरला राज्यमा जनताको निरन्तर अपार साथ कम्युनिष्ट पार्टीका नेताहरूमा देखियो । उनीहरू सत्ता प्राप्तिका निम्ति जालझेल गर्ने फोहोरी राजनीतिदेखि पनि टाढा छन् ।

भारतका यी दुई राज्य केरला र पश्चिम बंगालले समग्र कम्युनिष्ट आन्दोलन एवं पार्टी निर्माण बारे नेपालका नेताहरूलाई महत्वपूर्ण ज्ञान दिएका छन् । केरलामा, कम्युनिष्ट पार्टीका नेताहरूले जनसमक्ष गरेका प्रतिबद्धता अनुरूप इमानदारी साथ काम गरे जनताले विजयमत दिए ।

पश्चिम बंगालमा, गैरकम्युनिष्ट पार्टीका नेताहरू जस्तै सत्ताको फोहोरी खेलमा लागे रसातलमा पुर्‍याइदिए । यी दुईमध्ये अब नेपालका कम्युनिष्टहरूले कुन बाटो अनुसरण गर्ने, विचारणीय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment