Comments Add Comment

बाढीग्रस्त हेलम्बु र मेलम्चीमा पुग्दा जे देखियो

सिन्धुवासी जनताले ६ वर्ष अगाडि मात्र व्यहोरेको विनाशकारी भूकम्पको घाउमा राम्रोसँग खाटा बस्न नपाउँदै अर्को अकल्पनीय वज्रपात खेप्नुपरेको छ । ०७८ असार १ गते साँझ ७ बजेपछि क्षणभरमै मेलम्ची र हेलम्बु क्षेत्र तहसनहस भए । केही समयका लागि घटेको पानीको बहाव ठूलो आँधी आउनुअघिको सन्नाटा सावित भयो । पहिरोले केही समय पुरेर थुनेको बेला घटेको पानीको बहाव एक्कासी बाँध भत्किएपछि यति उर्लिएर आयो कि त्यसले क्षणभरमै मानव वस्तीलाई खण्डहर बनाइदियो । धन्न मेलम्चीतर्फ ठूलो बाढी आउँदैछ भनेर हेलम्बुवाट फोन मार्फत् पठाइएको सन्देशपछि प्रहरीको माइकिङ, रेडियोको सूचना र स्थानीयवासीको जागरणको कारण व्यापक सतर्कता अपनाइयो र मानवीय क्षति कम भयो । उक्त त्रासदीको खबर मेलम्ची बजारमा क्षणभरमै एककान, दुईकान हुँदै मैदान भयो । जसले गर्दा अर्बौंको धन नबचे पनि कयौंको अमूल्य जीवन भने बच्यो ।

हुनत ०७२ को भूकम्पपछि वा अघि पनि यस क्षेत्रमा बेलाबेलामा बाढीपहिरो नआएको होइन । तर यसपटक जस्तो विस्मयकारी र विभत्स् बाढी कहिल्यै नआएको स्थानीयवासीले बताए । बाढी पहिरोको दृष्टिकोणले तुलनात्मक रुपमा मेलम्ची बजार सुरक्षित नै मानिंदै आइएको रहेछ । यदाकदा सामान्य नदी कटान भए पनि सिङ्गो बजार नै ध्वस्त हुने कसैले कल्पनै गरेका रहेनछन् । तर विडम्बना त्यहाँका वासिन्दाले त्यो हृदयविदारक परिस्थिति तब व्यहोर्नुपर्यो, जब माथि नै पहिरोले खोला थुन्यो र केही समयपछि बाँध फुटेर अत्यासलाग्दो रुप धारण गर्यो ।

असार ४ गते बिहान अनेरास्ववियू (क्रान्तिकारी) को हाम्रो टोली केही राहत सामाग्री बोकेर बाढीग्रस्त क्षेत्रतर्फ लाग्यो । त्यत्तिको ठूलो विपत्तिमा हाम्रो त्यति थोरै राहत ‘हात्तीको मुखमा जिरा’ हुन पनि मुस्किल थियोे । तर पनि ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेझैं शुभेच्छुकहरुसँग हात फैलाएर अध्यक्ष रञ्जित तामाङसहित हामी जुटेका थियौं । हामी जस्ता युवा विद्यार्थीको संगठनहरुले तिनै तहका सरकारलाई दवाव, जागरण र खबरदारी पैदा गर्दै विपत्तिमा परेकाहरुको मनोबल बढाउन पनि आवश्यक ठान्यौं ।

मेलम्ची भन्दा हेलम्बु क्षेत्रमा राहत पुर्याउनु अझ बढी आवश्यक छ भन्ने धेरैको सुझावपछि हामीले गन्तव्य त्यतै सोझ्याउने निधो गर्यौं । यातायात सुगमताले गर्दा धेरैले राहत सामाग्री मेलम्चीमै हस्तान्तरण गर्ने गरेकाले तुलनात्मक रुपमा टाढा र विकट बन्न पुगेको हेलम्बुमा जानु बढी उपयुुक्त ठहर गर्यौं ।

मेलम्चीबाट हेलम्बु पुग्ने ८ किलोमिटरको छोटो बाटो समेत बाढीले अवरुद्घ गरेकाले हेलम्बु एकाएक विकट बन्न पुगेको रहेछ । जसले गर्दा हेलम्बुमा हेलिकप्टरमा लगिने एकद्वार प्रणालीको सरकारी राहत अपर्याप्त रहेछ । त्यसको विकल्पमा बाहुनेपाटीवाट करिव ३० किलोमिटरको घुमाउरो र निकै अफ्ट्यारो बाटो भएर हामी हेलम्बुको चनौटेमा पुग्यौं । त्यहाँ पुग्नुको हाम्रो अर्को उद्देश्य राहत दिन चाहने अरु संघ संस्थाहरुलाई त्यतापट्टी जान उत्प्रेरित गर्नु पनि थियो ।

सरकारले एकद्वार प्रणालीबाट वितरण गर्ने राहत प्याकेजमा एक लोटा पानी भए पनि थप्ने हेतुले हामीले पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल, १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ बन्डल म्याट्रेस, ७० थान टेन्ट र आधारभूत स्वास्थ्य सामग्री लिएर गएका थियौं । अफ्ठ्यारो बाटो र लगातारको वषर्ाका बीच निर्धारित गन्तव्यमा पुग्दा झमक्कै साँझ पर्न लागेको थियोे । आकाशमा दुई-तीनवटा हेलिकप्टर उडिरहेका थिए । कुनैले नदीको माथि माथि पुगेर बस्तु स्थितिको आंकलन गरिरहेका थिए भने कुनै हेलिकप्टर चाहिँ राहत सामग्री झारिरहेका थिए ।

बाढी अति प्रभावित हेलम्बु गाउँपालिका वडा नं. २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापा सहितको टोलीलाई हामीले उक्त सामाग्री हस्तान्तरण गर्यौं । विद्युत आपूर्ति पूर्ण रुपमा बन्द भएकाले हामीले लगेको सोलार लाइट त्यहाँ निकै उपयोगी सावित भयो । राहत हस्तान्तरणको काममा हामीलाई वाग्मती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सांसद युवराज दुलालले समन्वय गर्नुभएको थियोे ।

बाढीग्रस्त क्षेत्रका पीडितहरु वर्तमानप्रति त चिन्तित छन् नै तर त्यो भन्दा बढी उनीहरुलाई भविष्यको चिन्ताले सताउन थालेको छ । अबको नयाँ जीवन फेरि कहाँबाट शुरु गर्ने भन्ने प्रश्नको उत्तर उनीहरुको निम्ति सबभन्दा कठिन बनेको छ

राहत हस्तान्तरण नसकिंदै नजिकैको खोलाको आवाज निकै बढेर आयो । लगत्तै सांसद दुलालले ‘खोला निकै बढेर आएको छ तपाईंहरु त्यहाँबाट तत्काल हिंड्नुस्,’ भनेर फोन मार्फत् सूचित गर्नुभयो । रात झमक्कै परिसकेको र त्यहाँको भूगोलबारे पनि राम्रोसँग परिचित नभएको हुनाले हामी हतारिएर र्फकनेतिर लाग्यौं । बाटोमा सबै मानिस अत्तालिएका थिए । बाटामा ठाउँ-ठाउँमा मानिसहरु जम्मा भएर खोलाको वहावको आंकलन गरिरहेका थिए ।

चनौटेको रातो पुल हेलम्बु गाउँपालिकाका चारवटा वडा जोड्ने एकमात्र लाइफ लाइन थियोे । तर त्यसबेला उर्लिएर आएको पानीको वहाबसँगै त्यो पुल समेत उच्च जोखिममा पर्न थालेकाले सबै स्थानीयवासी अत्यन्तै चिन्तित थिए ।

मेलम्ची बजार पुग्दा त अत्यन्तै ठूलो आतंक फैलिसकेको रहेछ । फेरि बाढी बढेकाले सबैलाई अग्लो सुरक्षित ठाउँमा जान प्रहरीले लगातार माइकिङ गरिरहेको थियोे । एउटा विभत्स् त्रासदी व्यहोरिसकेका स्थानीयवासी फेरि रातको त्यो समय घरघरबाट बाहिर निस्केर सुरक्षित गन्तव्यको खोजीमा थिए । रातको समयमा कोही बच्चा बोकेर, कोही एउटा म्याट्रेस बोकेर, कोही चिच्याउंदै र कोही अत्तालिंदै घर बाहिर निस्किरहेको दारुण दृश्यले हामीलाई निकै नै भावुक बनायो । यस्तो लाग्थ्यो नजिकैको खोलाबाट आएको ठूलो आवाजले मानिसहरुलाई ‘भाग भाग’ भनेर चेतावनी दिइरहेको छ । अनि अत्तालिएका मानिसहरुचाहिं ‘भागेर जाऔं, कुन ठाउँ जाऔं’ भन्ने द्विविधामा छन् जस्तै प्रतीत हुन्थ्यो । तीन दिन अघिको त्रासदी सम्झिएर कोही पनि मानिस खेलाँची गर्नेवाला पटक्कै थिएनन् ।

यो हामीले देखेको एउटा मात्र दृष्य हो । हामीले देख्न नपाएका कयौं कहालीलाग्दा दृष्यहरुको त केवल अनुमान गर्न पनि गाह्रो छ । जे देखे र जे भोगे त्यो त हेलम्बु र मेलम्चीवासीले भोगे । कामना गरौं उनीहरुले फेरि कहिल्यै यस्तो भोग्नु नपरोस् ।

बाढीग्रस्त क्षेत्रका पीडितहरु वर्तमानप्रति त चिन्तित छन् नै तर त्यो भन्दा बढी उनीहरुलाई भविष्यको चिन्ताले सताउन थालेको छ । अबको नयाँ जीवन फेरि कहाँबाट शुरु गर्ने भन्ने प्रश्नको उत्तर उनीहरुको निम्ति सबभन्दा कठिन बनेको छ । सम्पत्तिको नाममा एउटा घर थियोे, सबै बगायो । सम्पतिको नाममा एउटा पसल थियोे, सबै सकियो । सम्पत्तिको नाममा एउटा खेत थियोे, सबै लग्यो । सम्पत्तिको नाममा केही वस्तुभाउ थिए, सबै सकिए । भूकम्पमा त कमसेकम जमिन त जहाँको त्यहीँ थियोे । अहिले त न जमिन छ, न त घरै छ ।

मेलम्ची बजारका नदी तर्फका प्राय सबै घरको पहिलो तला बालुवामा भासिएका छन् । १० फिट भन्दा बढी बालुवाको सतह खन्यो भने झनै खोलो आउँछ, खनेन भने त्यो कामै लाग्दैन । अहिले बाढीपीडितका दिमागमा परेको मुख्य गाँठो यो हो ।

राहतको नाममा आउने एक पोको चामलले यो गाँठो किमार्थ फुक्न सक्दैन । राहत आवश्यकै छैन भन्न खोजिएको पनि होइन । तर अब केही छाक टार्ने राहतले मात्र पीडितको घाउ पुरिने स्थिति छैन भनिएको हो ।

संकटको बेलामा साथ पाउने आशाले नै जनताले राज्यमाथि आशा, भरोसा र विश्वास गरेका हुन्छन् । राज्यलाई कर तिरेका हुन्छन् । त्यसैले तिनै तहका सरकारले अब सर्वश्व गुमाएका बाढीपीडित जनताको एक छाक टार्नेमा मात्र हैन जीवनलाई स्वाभाविक लयमा फर्काउने दिशामा सोच्नपर्छ । पीडितहरुलाई ‘तत्काल खाने माछा मात्र हैन, माछा मार्ने बल्छी’ दिने योजना बनाउनुपर्छ । भनाइको तात्पर्य छाक टार्ने राहत मात्र हैन, जीवन धान्ने प्याकेज दिनुपर्दछ ।

आम जनताको स्वास्थ्य सुरक्षा र बालबालिकाको शैक्षिक भविश्यको निम्ति पनि उचित कदम चाल्न जरुरी छ । यसको तात्पर्य अन्य सामाजिक संघ संस्थाले राहत नदिने भनिएको होइन । तत्कालका लागि त्यो पनि आवश्यक नै छ । एउटा नेपालीको घाउ चहर्याउँदा अर्को नेपालीलाई जरुर दुख्नुपर्छ । दुःखीरहेको पनि छ । तर एउटा पोको चामल हस्तान्तरण गरेको चारवटा तस्वीर चारतिरबाट खिचेर सामाजिक सञ्जालमा प्रचार गरी पीडितको हूर्मत किमार्थ लिनु हुँदैन । कानुनी र नैतिक दुवैको दृष्टिले अनुमतिविना कसैको तस्वीर प्रचार वा दुष्प्रचार गर्ने छुट पनि कसैलाई छैन । हामीले यसमा पीडितहरुले चित्त दुःखाएको पायौं ।

हो उनीहरू प्राकृतिक प्रकोपको अकल्पनीय र निर्दयी चपेटामा यतिबेला परे । तर हेक्का राखौं उनीहरु सधैंभरि एक मुठी चामलका लागि हात थापिरहनु पर्ने मानिसहरु हैनन् । यसको विकल्प छ । सरकारले नै एकद्वार राहत संकलन गरेर वितरण गर्ने प्रणाली बनाएको छ । सहयोग गर्न चाहनेहरुले सिधै सरकार र यसका निकायहरुलाई राहत हस्तान्तरण गर्ने र सरकारी निकायले पीडितलाई वितरण गर्ने विधिले यसलाई सहज बनाउँछ ।

राहतको सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको कडा सूचना थप राहत आवश्यक छैन भनेर पटक्कै भन्न खोजेको हैन । बरु पीडितहरुलाई थप चोट नपर्ने प्रणालीमा जोड गरौं भन्ने मात्र हो । यो एकद्वार प्रणालीमा सबैले सहयोग गरौं । राष्ट्रिय विपत्तिको सबै मिलेर सामना गरौं । बर्सेनि आउने बाढीपहिरोको खतराबाट देशवासीलाई बचाउन ठोस, प्रभावकारी र दीर्घकालिन राष्ट्रिय नीति र योजना बनाउन विलम्ब नगरौं ।

(अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष बस्नेत हालै सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची र हेलम्बु पुगेर फर्किएका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment