+
+
Shares

देउवा रणनीति : निधिलाई नफकाउने, शशांक र सिटौलातिर नजर

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ असार ७ गते २०:३०

७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिका आकांक्षी विमलेन्द्र निधिलाई फकाउन थप प्रयत्न नगर्ने संकेत गरेका छन् । बरु महामन्त्री शशांक कोइराला वा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ खोजेका छन् ।

आगामी भदौ तेस्रो साता हुने १४ औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका देउवाले शनिबार निधिलाई बोलाएर सहयोग मागेका थिए । तर उपसभापति निधिले आफू पनि सभापतिमा उठ्ने भन्दै देउवालाई उम्मेदवारी नदिन सुझाए । संस्थापन समूहबाटै दुई जना उम्मेदवार हुने देखिएपछि नेताहरुले निधिसँग सम्वाद गर्न देउवालाई सुझाव दिएका थिए ।

देउवाले भने निधिलाई मनाउन सकिन्न भन्ने संकेत गरेका छन् । ‘मैले उहाँ (निधि)लाई के भन्नु ? अन्तिम पटक हो, मलाई सहयोग गर्नुस् । त्यसपछि तपाईं नै हो भन्दा मान्नुभएन,’ सभापति देउवाको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्य भन्छन्, ‘धेरै पटक भनिसकेको छु, उहाँ मान्नुहुन्न । उहाँ उठ्नुहुन्छ होला ।’

निधिले पनि सर्वसम्मत नेतृत्व चयन भएको अवस्थामा बाहेक आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । अनलाइनखबरलाई दिएको अन्तर्वार्तामा पनि उनले भनेका छन्, ‘मैले सभापतिमा लड्ने कुरा तय गरिसकेँ । यो कुरामा ढुक्क हुनुस् ।’

देउवा पनि निधिलाई छाड्ने पक्षमा छैनन् । शनिबार प्रदेश एक र दुई, आइतबार बागमती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग छलफल गरेका देउवाले सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केन्द्रीय सदस्यसँग परामर्श गरेका छन् ।

सोमबार देउवा निवास बुढानीलकण्ठमा करिव चार घण्टा चलेको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, नेताहरु बालकृष्ण खाँण, पुष्पा भुसाल, देवेन्द्र कँडेल, मानबहादुर विश्वकर्मा, कृष्णकिशोर घिमिरे, पार्वती डिसी चौधरी, योगेन्द्र चौधरी, डिल्ली चौधरी, एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायरलगायत थिए ।

देउवाले जिल्लामा गएर आफ्नो पक्षमा बढी महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशन दिएका छन् । ‘हामीसँग पनि म सभापतिमा लड्छु । तपाईंहरुले सहयोग गर्नुपर्‍यो भन्नुभयो,’ भेटमा सहभागी केन्द्रीय सदस्य वीरबहादुर बलायरले भने, ‘संविधान कार्यान्वयन गराउन कठिन परिस्थितिमा तीन तहको निर्वाचन गराए । अहिले संविधानमाथि प्रधानमन्त्री र राष्ट्रपतिबाट प्रहार भइरहेको छ । संविधान बचाउन पनि मेरो नेतृत्व आवश्यक देखियो भन्नुहुन्छ ।’

सभापति देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाउन पनि आफू सभापतिमा दोहोरिन चाहेको बताएका छन् ।

संस्थापन समूहबाट देउवा नै सभापतिको उम्मेदवार भएको भन्दै केन्द्रीय सदस्य देवेन्द्र कँडेल भन्छन्, ‘हाम्रो समूहबाट देउवाजी नै सभापतिको उम्मेदवार हो ।’ पार्टी विधानले दुई कार्यकाल सभापति बन्न पाउने व्यवस्था गरेको र राष्ट्रिय राजनीतिले पनि देउवाकै नेतृत्व खोजेको उनको तर्क छ ।

तर निधिले पनि सभापतिमा उम्मेदवारी दिए संस्थापन समूह अफ्ठ्यारोमा पर्ने नेताहरुको चिन्ता छ । छलफलका क्रममा उनीहरुले संस्थापन समूहलाई एक ढिक्का राख्न देउवालाई आग्रह गरेका छन् । ‘हामीले निधिजीलाई पनि संगै लिएर जानुपर्छ । उहाँलाई कसरी मिलाउने हो, यो तपाईंको जिम्मेवारी हो भनेका छौं,’ बैठकमा सहभागी एक नेता भन्छन्, ‘तर उहाँ निधिले साथ दिनेमा आशावादी हुनुहुन्न ।’

शशांक नभए सिटौला

संस्थापन समूहमा निधिले साथ नदिए संस्थापन इतर समूहका प्रभावशाली नेतालाई आफ्नो समूहमा ल्याउनुपर्नेमा जोड दिएका छन् । नेताहरुका अनुसार यस्तो अवस्थामा सभापति देउवाको पहिलो रोजाइमा महामन्त्री डा. शशांक कोइराला छन् ।

अघिल्लो वर्ष पनि निधिले सभापतिमा दावी गरेलगत्तै देउवाले महामन्त्री कोइरालाकै निवासमा बोलाएर लामो छलफल गरेका थिए । देउवाले १४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्न कोइरालालाई आग्रह गरेका थिए । ‘अर्काे महाधिवेशनमा तपाईंलाई म सहयोग गर्छु । यसपटक तपाईंले मलाई सहयोग गर्नुपर्‍यो,’ देउवाको प्रस्ताव थियो । तर कोइरालाले सल्लाह गर्ने जवाफ दिए ।

अब फेरि देउवाले महामन्त्री कोइरालालाई आफ्नो टिममा ल्याउन प्रयत्न गर्ने नेताहरु बताउँछन् । तर महामन्त्री कोइराला आफैं सभापतिका आकांक्षी हुन् । उनले देउवालाई हराउन आफूबाहेक अरु उम्मेदवार नरहेको दावी गर्दै आएका छन् ।

संस्थापन समूहका केही नेताहरुले भने कांग्रेसभित्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहलाई मिलाउन प्रस्ताव गरेका छन् । देउवाले पनि छलफल गर्ने बताएका छन् । ‘सिटौलाजीको कार्यशैली, पार्टीभित्र र बाहिरको भूमिका, सार्वजनिक रुपमा दिने अभिव्यक्ति राम्रो छ । उहाँसँग कुराकानी पनि भइरहेकै छ,’ सोमबार केन्द्रीय सदस्यहरुसँगको छलफलमा देउवाले भने, ‘म फेरि उहाँसँग कुरा गर्छु ।’

देउवाले आइतबार बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गर्न बोलाएको बैठकमा सिटौला समूहका नेता शिव हुमागाईं पनि सहभागी थिए । हुमागाईंले पनि नेतृत्वबारे सिटौलासँग कुराकानी गर्न देउवालाई सुझाव दिएका थिए ।

सिटौला समूहमा पनि संस्थापन पक्षसँग सहकार्य गर्नुपर्ने मत राख्ने नेताहरु छन् । उनीहरुमध्ये एक भीमसेन दास प्रधान भन्छन्, ‘सिटौलाजी पनि सभापतिको उम्मेदवार हो । तर टिम व्यवस्थापनबारे सहमति भयो भने सहकार्य गर्न सकिन्छ ।’

उनका अनुसार हुमागाईंका साथै उमाकान्त चौधरी पनि देउवासँगै गठबन्धन गर्नुपर्ने पक्षमा छन् । तर गगन थापा र प्रदीप पौडेलको फरक मत छ ।

लेखक
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?