Comments Add Comment

‘मेरो आँटको परीक्षण नगरे हुन्छ, सभापतिमा लड्ने तय गरिसकें’

७ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापति शेरबहादुर देउवा मैदानमा उत्रिएका छन् । तर उनलाई लामो समयदेखि उनकै टिममा रहेको उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् ।

निधिले प्रष्ट भनेका छन्, ‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’ निधिका अनुसार आजका मितिसम्म सभापतिका लागि सात जना उम्मेदवार देखिएका छन् । १३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला अनि त्यसबेला प्रतिस्पर्धा नगरेका उनीसहित प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला । र, उपसभापति निधिका भनाइमा, उनी पछि हट्ने एउटै सम्भावना छ, ‘सर्वसम्मत नेतृत्व चयन ।’

उनका अनुसार सहमतिका तीन विकल्प छन् । पहिलो सात जनाबीच छलफल गर्ने र जसको नाममा सहमति जुट्छ, त्यसलाई स्वीकार गर्ने । उनी भन्छन्, ‘एउटाको नाममा सर्वसम्मत हुन्छ भने म स्वीकार गर्न तयार छु । सहमतिका लागि बाधक बन्दिनँ ।’

दोस्रो, १३ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका तीन नेता बसेर हामी पार्टीको कार्यकारिणी पद ग्रहण गर्दैनौं । अब तपाईंहरु चार जनामा यसरी पदीय भाबगण्डा गर्नुस् भनेर तोकिदिने ।

तेस्रो, १३ औंमा सभापति नउठेका, तर अहिले सभापतिमा आकांक्षा राखेका चार नेता बसेर सहमति खोज्ने । निधि भन्छन्, ‘म युवा साथीहरुसँग पनि छलफलमै छु । मेरा समकालीन साथीहरुसँग पनि छलफलमा छु । हामीहरुबीच पनि सहमति भएन भने चुनावका लागि तयार छु ।’

त्यो बेला पनि आफ्नो प्राथमिकता शेरबहादुरजीको समर्थन पाउने हुने उनले बताए । प्रस्तुत छ, कांग्रेस उपसभापति निधिसँग गरिएको कुराकानीको सम्पादित अंश :

महाधिवेशन हुन्छ हुँदैन भन्ने आशंकाका बीचमा एकाएक भदौ अन्तिमतिर भए पनि महाधिवेशन गर्ने गरी कार्यतालिका तोकिएको छ । अब कांग्रेसलाई साँच्चिकै महाधिवेशन लागेको हो ?

मैले १३ औं महाधिवेशन तपाईंका लागि हो, १४ औं महाधिवेशनमा म उठ्छु भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो

अब महाधिवेशन हुन्छ । संवैधानिक बाध्यता पनि छ । यो राजनीतिक कर्तव्य पनि हो ।

महाधिवेशनमा तपाईँ सभापतिको उम्मेदवार हो ?

हो, म सभापतिको उम्मेदवार हुँ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई एक/डेढ वर्षअघि नै भनिसकेको थिएँ । मैले सोचेको थिएँ, उहाँले मेरै लागि पहल गर्नुहोला ।

तर, उहाँले आफ्नै लागि लबिङ सुरु गर्नु भएको छ । शनिबार प्रदेश दुईका केन्द्रीय सदस्यसहितको छलफलमा मैले उहाँलाई भने, म यसपटक लड्छु, मलाई तपाईंको समर्थन, आशिर्वाद चाहिन्छ ।’ उहाँले भन्नुभयो, ‘तपाईंको अधिकार छ लड्नुस्, म पनि लड्छु ।’

मैले जवाफमा भनेको छु,- लड्ने अधिकार छ भन्नुभयो, त्यो अधिकार त छँदैछ, तर तपाईंसँग मेरो लामो सम्बन्ध छ । नेविसंघदेखि आजका दिनसम्मको सम्बन्धका आधारमा म सभापतिमा लड्दा तपाईंको समर्थन प्राप्त गर्ने पनि मेरो अधिकार हो ।

यो बीचमा तपाईंले उहाँलाई ‘कन्भिन्स’ गर्न सक्नुभएन ?

मैले त गतवर्ष साउन २९ गते उहाँको घरमा गएर आफ्नो कुरा उहाँलाई भनिसकेको थिएँ । सामान्यतया त्यसपछि उहाँले छलफल गर्नुपर्ने थियो । तर यो विषयमा त्यसपछि पार्टीका अरु धेरै विषयमा छलफल भयो, तर सभापति लड्ने विषयमा संवाद भएन ।

१३औं महाधिवेशनमा देउवा सभापति लड्दै गर्दा १४औं महाधिवेशनलाई लिएर तपाईंसँग कुनै छलफल वा भद्र समझदारी त्यस्तो केही भएको थियो ?

उहाँ र मेरोबीचको सम्बन्ध यस्तो थियो कि हामी दुईबीच भएका छलफललाई मैले विश्वासको तहमा हेरेको थिएँ । पार्टी, राष्ट्रिय अन्तर्राष्ट्रिय, संविधान निर्माणका विषयमा हामीहरुबीच धेरै कुराकानी भएका छन् । गिरिजाबाबुको कार्यशैलीविरुद्ध पार्टी नै फुुट्यो । शेरबहादुरजी प्रधानमन्त्रीको कुर्सीमा हुँदाहुँदै गिरिजाबाबुले पार्टीको साधारण सदस्य नरहने गरी कारवाही गरिदिनुभयो । शेरबहादुरजी लिखित माफी माग्न तयार हुनुहुन्थ्यो, त्यसको पनि सुनुवाइ भएन । त्यसपछि पार्टी फुटाउनुपर्ने बाध्यता भयो ।

त्यो परिस्थितिमा उहाँलाई साथ दिनेमध्ये म पनि हुँ । मैले प्रक्रियागत र कार्यगत रुपमा निरन्तर उहाँलाई साथ दिँदै आएको छु । पछिल्ला समय धेरै साथीहरुले उहाँलाई छोडेर जानुभयो । तर मैले कहिल्यै साथ छाडिनँ । यो बीचमा अनगिन्ती संवाद भएका छन् । बिहान, दिउँसो, बेलुका, सन्ध्याकालीन सिटिङ भएका छन्, र धेरै कुराकानी भएका छन् । मलाई अझै पनि उहाँसँग विश्वास छ । मैले त्यसमा कुनै प्रश्न उठाएको छैन ।

१३औं महाधिवेशनमा पनि देउवाजीलाई जिताउन शेखर कोइराला, सशांक कोइराला, सुजाता कोइराला लगायत धेरैलाई महामन्त्रीमा उम्मेदवार बनाउनेबारे छलफल भएको थियो । त्यसका लागि मैले त्याग गरेँ । देउवाजी आफैँ पनि टीम बनाउन माहिर हुनुहुन्छ । अर्जुननरसिंह केसीलाई महामन्त्रीमा उठायौं । त्यसअघि पनि सुशील कोइराला, गिरिजाबाबुसँग नजिक भएकाहरुलाई हाम्रो टीममा ल्याउन सफल भयौं र देउवाजीले जित्नुभयो ।

मैले त्यतिबेला १३ औं महाधिवेशन तपाईंका लागि हो, १४ औं महाधिवेशनमा म उठ्छु भनेको थिएँ । उहाँले हुन्छ भन्नुभएको थियो । हुन्न भन्ने उहाँको बानी नै छैन । यसमा उहाँको पाटो उहाँले भन्नुहोला, तर मैले अचानक आएर अब मै लड्छु भनेर भनेको होइन । यो लामो समयदेखिको तयारीको परिणाम हो ।

१३औं महाधिवेशनमा तपाईंले देउवालाई सभापति बनाउन त्याग गर्नुभयो । अब सभापतिज्यूले सभापतिको आकांक्षा त्यागेर मलाई समर्थन गर्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?

उहाँको चाहना के थियो भनेर त उहाँलाई नै सोध्नुपर्ला । किनकी उहाँ र मबीच भएका छलफलको साक्षी कोही छैन । तथापि मैले बुझे अनुसार ‘संवैधानिक राजतन्त्र हुँदा प्रधानमन्त्री पनि बने, फुटेको कांग्रेस प्रजातान्त्रिकको पनि सभापति पनि बने । गिरिजाबाबुसँग मिलेर मैले पार्टी पनि बनाए । तर एकीकृत कांग्रेसको सभापति बन्न पाएको छैन । अब सभापति बन्छु’ भन्ने उहाँको इच्छा थियो । हामी सबैले सहयोग गर्‍यौं र १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलसँग भएको प्रतिस्पर्धा जित्नुभयो ।

उहाँ गणतान्त्रिक प्रणालीमा प्रधानमन्त्री पनि भइसक्नुभयो । पार्टी सभापति पनि भइसक्नुभयो । यो १३ औं महाधिवेशन अघिको विषय होइन, धेरै अघिदेखिको विषय हो । उहाँ र मेरो बीचमा कुराकानी हुँदा उहाँले सधैं म पछि तपाईं नै हो भन्नुहुन्थ्यो ।

तर आज त उहाँले आफ्नो तयारी अगाडि बढाइसक्नुभयो । तपाईंलाई नै बोलाएर उहाँले सहयोग माग्नुभयो । यो भनेको त तपाईंको प्रस्ताव अस्वीकार्य भएको भन्ने होइन र ?

म यसलाई दुई हिसावले हेर्दछु । उहाँ आफैंले तपाईंहरुसँग भन्नुभएको छ, राजनीति सहज हुँदै हुँदैन । जिम्मेवारी र पद मागेर होइन, लडेर प्राप्त हुन्छ । मैले गिरिजाबाबु, सुशील कोइरालासँग लडेर यो पद पाएको हुँ । यो त उहाँले देखाएको बाटो हो ।

म त झन् उहाँसँगै छु । उहाँलाई सहयोग गर्दै आएकाले उहाँले पनि मलाई सहयोग गर्नुपर्छ भन्ने मेरो विश्वास हो । अझै पनि मेरो चाहना छ, उहाँको सहयोग हुन्छ भनेर ।

उहाँले सहयोग गर्नु भएन भने ?

म सभापतिमा लड्ने कुरा तय गरिसकें, यसमा ढुक्क हुनुस् । समय छ, उहाँले मलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।

तपाईं लामो समय शेरबहादुरसँग रहनुभयो । देउवाले यो पटक मलाई सहयोग गर्नुपर्यो भनेपछि निधिले क्रस गर्न आँट्लान र ? भनेर कतिपयले संशय व्यक्त गरिरहेका छन् नि ?

निर्वाचन प्रणालीको सबभन्दा नकारात्मक पक्ष गुट हो । सबैले चुनावमा आ-आफ्नो गुट बनाउँछन् । तर निर्वाचन प्रणालीले गुट भत्काउँछ पनि

कृपा गरी सबैलाई आग्रह गर्दछु, मेरो आँटको कसैले परीक्षण नगरे हुन्छ । आँट भनेको त संस्कार हो र हाम्रो परिवार निरंकुश राजतन्त्र र पञ्चायती व्यवस्थाविरुद्ध लडेर आएको परिवार हो ।

मलाई के लाग्छ भने शेरबहादुरजी पार्टी सभापति पनि भइसक्नुभयो । प्रधानमन्त्री पनि भइसक्नुभयो । उहाँले पार्टी र देशलाई दिन सक्ने जे थियो, दिइसक्नुभयो । उहाँको योगदानलाई प्रेरणादायी रुपमै लिनुपर्दछ, प्रशंसा गर्नुपर्दछ । तर आजका दिनमा पार्टी, मतदाता र देशका लागि नयाँ जेनेरेशनले बढी दिनसक्छ, यो बढी प्रभावकारी हुनसक्छ ।

म अहिले ६६ वर्षको भएँ । १५ औं महाधिवेशन हुँदा ७० वर्ष कटिसकेको हुन्छु । तपाईंले ‘ट्रयाक रेकर्ड’ हेर्नुभयो भनेे नेपाली कांग्रेसको प्रतिस्पर्धा त कम्युनिष्टहरुसँग हुन्छ । दुई पार्टीको नेतृत्व दाँज्नुभयो भने कांग्रेसमा हजुरबुबा मात्र होइन, जिजुबुबादेखि नातिपुस्तासम्म सँगसँगै छ । अरु पार्टीमा त्यस्तो छैन । यहाँ पुस्ताको जाम लागेको छ, त्यसैले समाज, पार्टी र देशलाई जुन गति दिनुपर्ने हो त्यसमा असर गरेको छ । त्यसलाई निकास दिन र पार्टीमा नयाँ पुस्ताका लागि मार्ग प्रशस्त गर्न हाम्रो पुस्ताले सोच्नुपर्दछ । त्यसकारण मैले यो महाधिवेशनमा सभापति लड्छु भनेको हुँ ।

१५ औं महाधिवेशन हाम्रा लागि होइन, नयाँ पुस्ताका लागि भन्ने हो ?

१५ औं महाधिवेशन मभन्दा पछिको पुस्ताका लागि हो ।

त्यसो हो भने सभापतिको समर्थन गरे तपाईं, नगरे दुवै सभापतिको उम्मेदवार हुने ‘कन्र्फम’ भयो होइन ?

मलाई अझै विश्वास छ, उहाँले मलाई समर्थन गर्नुहुन्छ ।

समर्थन गर्नु भएन भने ?

कांग्रेसभित्र जब आन्तरिक नेतृत्वको चयनका लागि निर्वाचन प्रक्रियाको सुरुवात भयो, आफ्नै क्याम्पको भोटले मात्र कसैले जितेको छैन । गिरिजाबाबुले जित्दा पनि किसुनजी पक्षको समर्थन नपाएर जित्नुभएको छैन । सुशील कोइरालाले जित्दा पनि शेरबहादुर पक्षको समर्थन नलिई जित्नुभएको छैन । १३औं महाधिवेशनमा शेरबहादुरजीले जित्दा पनि अर्काे समूहका साथीहरुको समर्थन नलिई जित्नुभएको छैन । त्यसकारण म पनि सभापतिमा उठ्छु भने शेरबहादुरजीको समर्थन भयो भने पनि प्रचलित भाषामा देउवा समूहको सहयोगले मात्रै विमलेन्द्र निधि चुनाव जित्न सक्दैन ।

त्यसकारण निर्वाचन प्रणालीको सबभन्दा नकारात्मक पक्ष गुट हो । सबैले चुनावमा आ-आफ्नो गुट बनाउँछन् । तर निर्वाचन प्रणालीले गुट भत्काउँछ पनि । हरेक उम्मेदवारले अर्काे समूहको भोट लिने कोसिस गरिरहेको हुन्छ । म पनि यो कोशिसमा छु । म भन्दा पहिला जितेका सभापति र उम्मेदवार भएकाहरुले पनि यही गरेका हुन् ।

१३ औं महाधिवेशनमा देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रतिस्पर्धामा हुनुहुन्थ्यो । देउवाजीले चुनाव जित्नुभयो, तर तीनै जना आफ्नो टीममात्रै बोकेर प्रतिस्पर्धामा जानुभएको होइन । यताको उता, उताको यता भएकै छ, उम्मेदवारमा अनि भोटमा । यो भइरहन्छ र रहिरहन्छ । राजनीतिको त्यो गतिशीलतालाई ध्यान दिनैपर्छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment