Comments Add Comment

बलात्कार प्रयासको पोल खुल्ने डरले बालिकाको हत्या

प्रतीकात्मक तस्वीर

७ असार, सप्तरी । सप्तरीमा चार दिनअघि मृत फेला परेकी बालिकाको जबर्जस्ती करणीको प्रयासपछि हत्या भएको खुलेको छ । असार ४ गते डाक्नेश्वरी नगरपालिका–३ हटैलकी ९ वर्षीया शिवानी यादवको शव स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा भेटिएको थियो ।

प्रहरीका अनुसार करणी प्रयासको पोल खुल्ने डरले उनको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले बालिकाकै गाउँका १९ वर्षका युवक रोहितकुमार यादवलाई पक्राउ गरेको छ ।

यादवलाई नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा आइतबार राति पक्राउ गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए । यादवविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दरखास्त परेको उनले बताए ।

प्रहरीका अनुसार गत शुक्रबार शिवानी र उनकी बहिनी बाख्रा चराउन र घाँस काट्न सँगै घरबाट निस्केका थिए । बहिनी बाख्रा हेर्न गएका बेला शिवानी आँप लिने छिमेकीको बगैंचामा गएकी थिइन् । त्यही बेला भेटिएका रोहितले आँप दिने लोभ देखाएर करणी प्रयास गरेको एसपी धमलाले बताए ।

करणीको प्रयासबारे आमालाई भनिदिने भनेपछि रोहितले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको धमलाको भनाइ छ । उनका अनुसार रोहितले हत्या आरोप स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment