+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

प्रकाश सपूतको असारे कुरा र मनको घाउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ८ गते ७:५५

असारको महीना । अर्थात् खेती-किसानीको याम । भनिन्छ, मानो खाएर मुरी उब्जाउने बेला हो यो । यतिबेला अन्नबाली लगाउने चटारोले छोप्छ, किसानलाई ।

मनसुन सक्रिय भइसकेको छ । दर्के झरी परिरहेको छ । यस्तो बेला हिलोमा खेल्दै धान रोपेको, मकैको पात बजाउँदै मेलापात हिंडेको कुराले धेरैलाई नोस्टाल्जिक बनाउँछ । जस्तो कि, प्रकाश सपूतलाई ।

अहिलेका चल्तापुर्जा गायक हुन्, प्रकाश । उनको गीत र गायकीको तारिफ गर्नै पर्दैन । भनिन्छ नि, अकबरी सुनलाई कसी लगाउनु पर्दैन । ‘बोल माया’, ‘गलबन्दी च्यातियो’ हुँदै ‘मेरो पनि होइन र यो देश’सम्म आइपुग्दा उनले  दर्बिलो र गर्बिलो चिनारी बनाइसकेका छन् ।

हरेक पटकको सिर्जनामा फरकपन ल्याउन सक्नु र गीतको मर्म अनुसार आफैंले भिडियो तयार गर्नु उनको अर्को विशेषता हो । गाउँघरको भाका र लवजलाई टपक्कै टिपेर गीत रचना गर्ने खुबी छ उनीसँग । त्यसो त संगीतकर्मबाटै उनले आफ्नो गाउँघरलाई पनि चिनाएका छन् । गीतको सन्दर्भ र दृश्यांकनका लागि समेत उनले गाउँ छाडेका छैनन् । आफ्नै घर आँगन, छिमेकीसँग एकाकार भएरै संगीतकर्ममा रमाएका छन् ।

उनै प्रकाशले यसपालि मेलापात वा खेती किसानीको कुरा सम्झिएका छन् । सामाजिक सञ्जालमा ‘गाउँका कुरा, घाउका कुरा’ शीर्षकमा उनले सम्झिएका छन्, खेती किसानीसँग जोडिएका आफ्ना अतीत ।

पर्मका कुरा

प्रकाश सपूत लेख्छन्, ‘हामी पर्म लगाउँथ्यौं । यो भनेको चाहिं सप्पै  मिलेर पालै पालो सप्पैकोमा काम सकने उपाय हो । हुद्दा पनि भनिन्छ यसलाई । कसैले बारीमा मल बोकाउँथे, कसैले बाली कटाउँथे, कसैले दाउरा बोकाउँथे । कसैले के  कसैले के । ८/१० जना उमेर मिल्ने, मन मिल्ने बैंसका हामी केटाकेटीहरु  भएपछि हाँसिमजाकमा काम सकिन्थ्यो ।

बिहान ९ बजेभित्र पर्म सकेर हतार हतार तयार भएर त्यही ग्रुप स्कूल गइन्थ्यो । हल्ला गर्दै । दुःखका दिन थिए ती । दुःखमै रमाइलो पनि ।’

पुस-माघको दिनमा चाहिं कठिन हुने उनको अनुभव छ । कठ्यांग्रिने जाडो याम, त्यसमाथि छोटो दिन । विद्यालय पुग्नै हतारो । घाँस दाउरा गर्दा हात खुट्टा कक्रिएर चोट लाग्ने जोखिम । प्रकाश लेख्छन्, ‘लास्टै गाह्रो चाहिं पुस माघमा हुन्थ्यो । खेतीपातीको काम कम हुने भएकाले पर्म लगाउँदा धेरैले दाउरा स्याउला कटाउन पठाउँथे । हामी बिहान ४ बजे उठेर हुल बाँधेर जंगल जान्थ्यौं । ३/४ बजे उठेर हिंडिएन भने स्कूल भ्याउन सकस पर्थ्याे । बढी कटानी भयो भनेर गाउँ नजिकको जंगल पूरै बन्द गरिएको थियो । ठाडै उकालाे चढेर नजिक नजिकका दुई वटा डाँडा काटेपछि बल्ल दाउरा स्याउला लिन पाइने वन आउँथ्यो ।

हिउँदको छोटो दिन भएकाले बिहान झिसमिसे अँध्यारो हुन्थ्यो भने हिउँ बराबर शीतले हात खुट्टा कक्रक्कै हुन्थ्यो । त्यसमाथि कहिलेकाहीं झुक्किएर आसी (हँसिया)ले हात काट्थ्यो । चिसोमा चोट लाग्नु साह्रै पीडादायक हुन्छ । यसरी ग्रुपमा कसैले हात काट्यो भने हाम्रो सुझाव हुन्थ्यो, तितेपाती (एक प्रकारको वनस्पतिक झार) लगाउनु च्वाट्टै निको हुन्छ ।’

उनी तितेपातीको औषधीय गुणबारे लेख्छन्, ‘हुन पनि काटेको ठाउँमा तितेपाती दलेर अजंगको भारी बोकेर हामी घर फर्कन्थ्यौं । दुखाइ कम हुन्थ्यो यसले । तर काटेको ठाउँमा तितेपाती लगाउन ठूलै हिम्मत गर्नुपर्छ । किनभने यसले घाउ साह्रै चहराउँछ । एक राउन्ड त खपिनसक्नु हुन्छ । मूर्छै पार्छ । तर, केही बेरमा विस्तारै घाउलाई शीतल पार्दै लान्छ ।’

यही प्रसंगलाई जोड्दै उनले जीवन दर्शनका कुरा उप्काएका छन् । ‘हाम्रा जीवनमा पनि कतिपय सम्बन्ध, कतिपय परिस्थितिहरुले मनमा लगाउने घाउहरु हामी दुखाएरै बस्छौं । निको पार्ने उपाय भेटाउँदैनौं । कि त घाउलाई झन बढी दुखाउने डरले भेटाएका उपाय पनि अनपनाउँदैनौं । तर, मनको घाउ निको पार्न हिम्मत नै गर्नुपर्छ । जसरी चोट लागेर दुखेको ठाउँमा तितेपाती लगाउँदा झन् बढी दुख्छ र विस्तारै घाउको दुखाइ कम गर्छ । मनको घाउका लागि पनि एकपटक खपिनसक्नु दुखाउने तर पछि सधैंका लागि च्वाट्टै पार्ने उपायहरु छन् कि ? खोज्नुहोस् है ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?