Comments Add Comment

निषेधाज्ञा थप खुकुलो, व्यवसायिक क्षेत्र चलायमान

८ असार, काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौं उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ ।

आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन् । यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ ।

यसअघि उपत्यकामा पर्ने काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले व्यवसायिक क्षेत्र चलायन हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको थियो । यो पछिल्लो आदेश मंगलबार बिहान १ बजेदेखि असार १४ गते राति १२ बजेसम्मलाई हो ।

केके खुले ?

आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् । जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन बिजोर गतेको दिन चलाउनुपर्ने छ । उपत्यकामा ट्याक्सी सेवा पनि सुरु भएको छ ।

निषेधाज्ञा खुकुलो भएपछि काठमाडौं उपत्यकामा बिहानैदेखि कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ ।

यसैगरी डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिˆटका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

सुन पसल, भाँडा पसल, विद्युतीय सामग्री, घरायसी सामग्री, अटोमोबाइल, शोरुम, अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ ।

खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स -ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ ।

निर्माणजन्य सामग्रीका पसल (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ ।

शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन गर्न सक्ने छन् । वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तरवार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

उद्योग, कलाकारखाना तथा सार्वजनिक र निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ ।

औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने छ ।

कुखुरा, दाना, चल्ला, पशुपक्षीजन्य पदार्थ, भेटेरिनरी, सरसफाइमा प्रयोग गर्ने सामान, पि्रन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ । सार्वजनिक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ ।

विदेश जाने यात्रुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने व्यवस्था मिलाइएको छ ।

बैंक तथा वित्तीय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्युनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ । उक्त आदेशको पालना नगरे कारवाही हुने चेतावनीसमेत दिइएको छ ।

गर्न नहुने गतिविधि

निषेधाज्ञा खुकुलो भए पनि भिडभाड हुने सबै गतिविधिमा रोक लगाउने विगतको व्यवस्थालाई भने कायम राखिएको छ । फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ ।

होटल तथा पार्टी प्यालसेमा हुने विवाह व्रतवन्धलाई पनि रोक लगाइएको छ ।

नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन । भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न पाइने छैन ।

असार आठ गते बिहान १ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

अत्यावश्यक सवारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पासविहीन सवारीका साधन काठमाडौं उपत्यकामा प्रवेश गर्न रोक लगाइएको छ ।

पसल तथा व्यवसाय सञ्चालन गर्दा कम्तिमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकामा साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ । सवारीमर्मतका पसल साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ ।

विवाह ब्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँँमा गर्न पाइने छ । यसका लागि दुई वटा सवारी साधान प्रयोग गर्न सकिने छ । अत्यावश्यक सेवा, जस्तै एम्बुलेन्स, खानेपानी, विद्युतमर्मत, स्वास्थ्य सम्बन्धी गाडी, दुरसञ्चार, इन्टरनेट मर्मत, कार्गाे, कुरियर, तथा डाँक सेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ ।

भन्सार विन्दुबाट उल्लेख भएका मालबाहक सवारी साधान सम्बन्धीत भन्सार प्रमुखले रुट खुलाइ अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारी उल्लेख गरेको दिन र स्थानसम्म आवातजावत गर्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment