Comments Add Comment
घट्दो सेयर बजारमा बढ्दो त्रास :

नवप्रवेशी आत्तिए, चतुर लगानीकर्ता रमिते !

फाइल तस्वीरः ब्रोकर कार्यालयमा लगानीकर्ता । अनलाइन कारोबार प्रणाली भित्रिएपछि भने लगानीकर्ताहरु घरबाटै कारोबार गर्न थालेका छन् ।

८ असार, काठमाडौं । गत मंगलबार नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दै जोखिमयुक्त भनेपछि त्यसको ‘परकम्पन’ सेयर बजारमा जारी छ । बोर्डको विज्ञप्तिपछि भएका चार कारोबारमध्ये तीन दिन उच्च अंकले सेयर बजारमा गिरावट देखियो । बोर्डको विज्ञप्ति सार्वजनिक भएको भोलिपल्ट सेयर कारोबार मापक नेप्से परिसूचक ५२ अंकले घट्यो ।

त्यसको भोलिपल्ट १ अंकलेमात्रै घटेको बजार आइतबार र सोमबार भने ठूलो अंकको पहिरो गयो । पछिल्ला चार कारोबारबाट नेप्से परिसूचक करिब २ सय अंकले घटेको छ ।

यससँगै सेयर बजारमा एक किसिमको ‘त्रास’ पैदा भएको छ । सेयर बजार निकै घट्ला कि भनेर कोही त्रासमा परेका छन् भने कोही नियामकीय कारबाहीमा परिएला कि भनेर तर्सिएको जानकारहरू बताउँछन् ।

धेरै कित्ता सेयर किन्न बस्दा धितोपत्र बोर्डले शंकाको दृष्टिले हेर्ने हो कि भन्ने चिन्ता देखिएको सेयर लगानीकर्ता पवित्रा ज्ञवाली बताउँछिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘लौ मलाई त १ हजार कित्ता किन्न बस्न पनि डर लाग्छ है, तर मसँग त्यति पैसा नभएर होइन ।’ उनले कसैसँग १ लाख कित्ता किन्ने क्षमता छ भने उसले किन्न पाउनु पर्ने समेत बताएकी छिन् ।

उनी एक प्रतिनिधि पात्र हुन् । बोर्डले इन्साइडर ट्रेडिङ र सेयर कर्नरिङका विषयमा अध्ययन गर्दै गरेको बताएपछि धेरै लगानीकर्तामा त्रास छ । ‘ठूलो संख्यामा अर्डर बस्यो कि बोर्डबाट फोन आउन सक्ला भनेर डर हुन्छ,’ अर्की एक लगानीकर्ता भन्छिन्, ‘पछिल्लो गतिविधिले ट्रेडिङमा त्रास छ, केही दिन चुप लागेर बस्नु नै बेस होला ।’


सेयर बजारका पुरा लगानीकर्ता समेत रहेका नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पनि अहिले बजारमा त्रास देखिएको बताउँछन् । बाहिर जति त्रास देखिएको छ, त्यसरी त्रासमा बस्नु आवश्यक नरहेको रौनियार बताउँछन् । बजारमा अहिले जुन ट्रेण्ड देखिएको छ त्यो धेरै दिन नजाने पनि उनको दावी छ ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार भन्छन्- सेयर बजार  जोखिम भएकै बजार हो । यहाँ अलि वुद्धि नपुर्‍याउने हो भने बाठाले कमाउने र सोझाले गुमाउने भइहाल्छ । अहिले केहि चतुर लगानीकर्ताहरूले ठूलो परिमाणमा सेयर बिक्री गरेका छन् । नाफा बुक गरेर उनीहरू ‘वेट एण्ड सी’ भनेर बसिरहेका छन् ।

अहिलेको बजारको ट्रेण्ड

सोमबार बजार उच्च अंकले घटे पनि केहि कम्पनीहरूको सेयर मूल्य अत्यधिक बढ्यो । जस्तो नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सोमबार पोजिटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसबाहेकका कुमारी बैंकको संस्थापक समूहको सेयर र एनआईडीसीएलको सेयर मूल्य पनि निकै राम्रो वृद्धि भएको छ ।

उता घटेका कम्पनीहरूको पनि कारोबार रकम राम्रो छ । नेपाल रिइन्स्यारेन्सको १ अर्ब ३० करोड रुपयाँ भन्दा माथिको कारोबार भएको छ । धेरै बढ्नेमा देखिएको एचआईडीसीएलको सेयर ३१ करोड रुपैयाँ भन्दा धेरेको किनबेच भएको छ ।

आइतबार उच्च अंकको गिरावट आउँदा पनि नेशनल हाइड्रोको सेयर मूल्य बढेको थियो । सोमबार मूल्य घटे पनि कारोबार भएको सेयर संख्याका आधारमा यो पहिलो नम्बरमा देखिएको छ ।

सोबमार नेप्से ७१ दशमलव ०६ अंकले घटेर २ हजार ८ सय ३४ दशमलव ४० अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८ दशमलव ३७ अंकले घटेर ५२० दशमलव १८ अंकमा झरेको छ ।

कारोबार रकम भने करिब १२ अर्ब पुगेको छ । १ लाख ३० हजार ३९७ कारोबारबाट २२७ कम्पनीको २ करोड ३० लाख ११ हजार ८२० कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ११ अर्ब ८४ करोड ५४ लाख ५४ हजार ६०४ रुपैयाँ पुगेको छ ।

सोमबार धेरै गुमाउनेमा फाइनान्स कम्पनी र दोस्रोमा जलविद्युत् कम्पनीहरू देखिएका छन् । विकास बैंक समूहमा ४ दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।

बजार घटाउने तीन ‘फ्याक्टर’

धितोपत्र बोर्डको विज्ञप्तिपछि जोखिमयुक्त भनिएका कम्पनीको सेयर मूल्य त घट्नु स्वभाविक थियो । तर, जोखिम छ भनिएका बाहेकका राम्रा लाभांश दिने तर कम सेयर मूल्य भएका कम्पनीहरूको मूल्यमा समेत ठूलो गिरावट देखिएको छ । यतिबेला चासोको विषय बनेको छ, राम्रा भनिएका कम्पनी किन बढेनन् त ?

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बजारमा धक्का पर्नुका मूख्य तीन कारण रहेको बताउँछन् । पहिलो- ठूला लगानीकर्ता पैसा बोकेर रमिते भएर बस्नु, दोस्रो- ट्रेडरहरूले नाफा बुक गर्नु र तेस्रो- नवप्रवेशीहरू आत्तिनु ।

‘सेयर बजार  जोखिम भएकै बजार हो । यहाँ अलि वुद्धि नपुर्‍याउने हो भने बाठाले कमाउने र सोझाले गुमाउने भइहाल्छ,’ रौनियारले भने, ‘अहिले केहि चतुर लगानीकर्ताहरूले ठूलो परिमाणमा सेयर बिक्री गरेका छन् । नाफा बुक गरेर उनीहरू ‘वेट एण्ड सी’ भनेर बसिरहेका छन् ।’

उनीहरू ‘पर्ख र हेर’ भन्दै रमिते बन्नु बजारमा धक्का लाग्नुको एउटा कारण हो । सेयर बजारमा दुई किसिमका कारोबारी हुन्छन्, एउटा लामो समयका लागि सेयर किन्ने, अर्को छोटो समयका लागि किन्ने र बेचिहाल्ने । किनेको केहि दिनमै बेचिहाल्नेलाई ट्रेडर भन्ने चलन छ ।

दोस्रो कारण भनेको ट्रेडरहरूले नाफा बुक गरेर बाहिरिएको रौनियार बताउँछन् । ‘ट्रेडरले आफूले नाफा बुक गरे र अहिले अरु ठूला लगानीकर्ता जस्तै हेरेर बसिरहेका छन्,’ रौनियार भन्छन् । बजार घट्नुको अर्को प्रमुख र तेस्रो कारण भने नवप्रवेशीहरू भएको उनको भनाइ छ ।

धितोपत्र बोर्डको विज्ञप्तिको असर तोकिएको कम्पनीबाहेक अरु कम्पनीमा पनि देखिन्छ भनेर नवप्रवेशीहरू आत्तिएको उनी बताउँछन् । ‘नयाँ लगानीकर्ताहरू बजार धेरै बढ्यो भने मात्तिएर धेरै धेरै किन्छन्, अनि जब बजार घट्छ आत्तिएर सेयर बेच्छन्,’ अध्यक्ष रौनियार भन्छन्, ‘यो लगानीकर्ताको कमजोरी हो, बजारमा आत्तिने वा मात्तिने गर्दा यसको नेगेटिभ असर बजारलाई पर्छ ।’

बजार करेक्सन कि वियरिस ?

सेयर बजारको ट्रेण्डलाई वुलिस र वियरिस भनिन्छ । सेयर बजारको चित्र वा स्केच बनाउँदा गोरु र भालुको बनाउने गरिन्छ । गोरु भनेको वुलिस र भालु भनेको वियरिस हो । बजार लगातार उकालो लाग्ने क्रमलाई वुलिस ट्रेण्ड भन्छिन् भने ओरालो लाग्दै जाने क्रमलाई वियरिस ट्रेण्ड भनिन्छ । अनि लगातार बढेर केहि दिन घट्यो भने त्यसलाई ‘करेक्सन’ भनिन्छ ।

बजारमा ‘करेक्सन’ आउनुलाई भने लगानीकर्ताहरूले सकारात्मक मान्ने गरेका छन् । अहिले धेरै लगानीकर्ताको चासो भनेको अब बजार वियरिस ट्रेण्डमा गएको हो कि करेक्सन मात्रै हो भन्ने छ । फोरमका अध्यक्ष रौनियार यो करेक्सनमात्रै भएको र केहि दिनमा माथि उठिहाल्ने बताउँछन् ।

बैंक तथा वित्तीय क्षेत्रको हिस्सा ठूलो छ । बैंकको नाफा राम्रै छ । बिमालाई कोरोनाले खासै असर गरेको छैन । यी एउटा बजारका लागि माथि लैजाने सकारात्मक पक्ष भएको उनको भनाइ छ ।

अब बैंकहरूको वित्तीय विवरण धमाधम सार्वजनिक गर्छन । ब्याजदर पनि बढिहाल्ने सम्भावना नरहेकाले बजार माथि नै जाने उनको भनाइ छ । ‘ब्याज हृवात्तै बढ्यो भने डराउनु पर्छ, तर ब्याजदर धेरै बढ्दैन, अहिले पनि बैंक तथा वित्तीय क्षेत्रमा तरलतामा राम्रै छ,’ उनी भन्छन्, ‘यसकारण पनि अहिले आत्तिनुपर्ने म देखिन्छ, यो करेक्सन हो ।’

सेयर बजारका अर्का अनुभवी लगानीकर्ता नयन बास्तोला पनि बजार बढ्ने प्रसस्त आधार रहेको दावी गर्छन । अहिले बजारमा करेक्सन आएको र यो आवश्यकता समेत रहेको उनले बताए ।

‘बजारमा बेलाबेलामा करेक्सन त आउनु नै पर्छ, त्यो आयो,’ उनले भने, ‘अब बजारमा करेक्सन आयो भनेर आत्तिनु पर्ने कुरा छैन, केहि दिनमा राम्रै गति लिन्छ ।’ बजारमा जोखिम भने सधै रहेको भन्दै उनले राम्रा कम्पनीहरूमा बुझेर लगानी गर्ने हो भने जोखिमबाट बच्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment