Comments Add Comment

मेलम्चीका बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाले ५ लाख सहयोग गर्ने

९ असार, बुटवल । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावित परिवारलाई रुपन्देहीको तिलोत्तमा नगरपालिकाले राहतस्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

असार १ गते आएको बाढीले मेलम्ची नगरपालिकामा ठूलो धनजनको क्षति भएकोले विपद्को समयमा राहतस्वरुप ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए । ‘एउटा पालिकामा विपद् पर्दा अर्को पालिकाले सक्दो सहयोग गर्नुपर्छ भन्ने मान्यता अनुसार मेलम्चीका बाढी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेका हौं,’ नगर प्रमुख घिमिरेले भने ।

लुम्बिनी प्रदेशका स्थानीय तहमध्ये मेलम्चीका बाढी प्रभावितलाई राहतस्वरुप आर्थिक सहयोग दिने निर्णय गर्ने तिलोत्तमा पहिलो पालिका भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए । नगरपालिकाले गरेको निर्णय अनुसार मेलम्ची नगरपालिकाको विपद् व्यवस्थापन कोषको खातामा एक–दुई दिनभित्रै रकम पठाइने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment