Comments Add Comment

काली नदी दोहन रोक्ने बागलुङ नगरपालिकाको नीति

९ असार, पोखरा । कालीगण्डकी नदी दोहन भइरहेको र त्यसले साँस्कृतिक एवं पर्यावरणीय असर पारिरहेको भन्दै अहिले सामाजिक ‘कालीगण्डकी बचाऔं’ अभियान चलिरहेको छ । अदालतबाटै नदी दोहन रोक्न आदेश आइसक्दा पनि नरोकिएको भन्दै अभियन्ताहरुको आरोप छ ।

अभियान्ताहरुले सामाजिक सञ्जालमा ‘सेभ कालीगण्डकी रिभर’ ह्यासट्याग प्रयोग गरेर पछिल्लो समय नदी दोहनको विरोध गर्दै आएका छन् । कालीगण्डकी बचाउन अभियानै चलिरहेको समयमा बागलुङ नगरपालिकाले भने नदी बचाउने नीति लिएको छ ।

बुधबार नगरपालिकाको आर्थिक वर्ष ०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर जनकराज पौडेलले आगामी आर्थिक वर्षदेखि कालीगण्डकी दोहनलाई निरुत्साहित गरिने घोषणा गरेका हुन् । यद्यपि, नदी बचाउन नगरले प्रष्ट योजना भने खुलाएको छैन ।

कालीगण्डकीको नाममा नगर क्षेत्रभित्र बनेको संग्राहालयले नगरको पर्यटकीय महत्व बढाएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । ‘कालीगण्डकीको पौराणिक महत्वसहित शालिग्राम संग्राहलय हाम्रो नगरमा निर्माण भएको छ,’ मेयर पौडेलले भने, ‘यसले हा्रो ठाउँको प्रवद्र्धन र सहयोग गरेको सङ्ग्रहालय र रंगबैकटेश्वर मन्दिर धार्मिक पर्यटनको लागि महत्वपूर्ण रहनेछन् ।’

त्यस्तै, बागलुङ नगरले सडकका छाडा कुकुर नियन्त्रण गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण, रेविजविरुद्धको खोप अभियानलाई निरन्तरता दिइने मेयर जिसीले जानकारी दिए । ‘बजार क्षेत्रमा छाडा कुकुरको दीर्घकालीन समस्या समाधान गर्न १ सय ६७ वटा छाडा कुकुरको स्थायी बन्ध्याकरण गरिएको छ,’ उनले भने ।

नगरपालिकाले पछिल्लो समय देखा परेको कालो ढुसी रोग नियन्त्रण तथा उपचारका लागि सम्बन्धित निकायसँग सहाकार्य गर्ने बताएको छ । मेयर पौडेलले चालु आर्थिक वर्षमा ‘जनता आवास’ कार्यक्रम अन्र्तगत नगरका ८२ विपन्न परिवारका घर निर्माण गरिएको र ७७ जना बाढी, पहिरो पीडितको आवास पुनर्निर्माण प्रक्रिया अघि बढेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment