Comments Add Comment

बजार खुल्यो, दंग छन् व्यापारी !

९ असार, काठमाडौं । झण्डै दुई महिनापछि पसल खोल्न पाउँदा न्यूरोडको एनजे फुटवेयरका सञ्चालक नारायण अधिकारी दंग छन् ।

स्थानीय प्रशासनले १६ वैशाखदेखि निषेधाज्ञा लगाएपछि अरुको जस्तै उनको पसलको सटर लागेको थियो । ५४ दिनपछि निषेधाज्ञा खुकुलो गरेको स्थानीय प्रशासनले बार तोकेर पसल चलाउन दियो । कपडा तथा जुत्ता पसलका लागि सोमबार, बुधबार र शुक्रबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न भनिएको छ ।

लामो समयपछि बुधबार पहिलो दिन पसल खोलेका उनले फाट्टफुट्ट ग्राहक पनि पाए । ‘यदि अहिले पनि निषेधाज्ञा नखोलेको भए भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन नै समस्या हुने अवस्था आउँथ्यो’ एक दशकदेखि न्यूरोडमा जुत्ताको व्यापार गर्दै आएका अधिकारी भन्छन्, ‘ढिलै भएपनि पसल खुलेको छ र पहिलो दिन फाट्टफुट्ट ग्राहक आउनुभएको छ, यसमै खुुसी छु ।’

उनी जस्तै न्यूरोड रञ्जना गल्लीमा व्यवसाय गर्नेहरुमा पसल खोल्न पाएकामा सन्तुष्टि देखिन्थ्यो भने व्यापार कहिले लयमा फर्किएला भन्ने चिन्ता । तर झण्डै दुई महिनापछि कपडा, जुत्ता, कस्मेटिक पसलहरु खुल्दा न्यूरोडमा थोरै भएपनि रौनक फर्किएको छ ।

सर्वसाधारणसँगै खुद्रा विक्रेताहरु आफूलाई चाहेको सामान खरिदका लागि पुगेका थिए । कतिपयले बोहोनी गर्न भ्याएका थिए भने कतिपयले पाएका थिएनन् । लेडिज जुत्ताको होलसेल पसल क्वालिटी फुटवेयरका सञ्चालक मोतीराज अधिकारीले एक जना पनि ग्राहक नआएको बताए । तर पसल खुल्न पाएकोमा उनी खुसी छन् ।

‘पोहोर झण्डै चार महिना लकडाउन भयो, खुकुलो भएपछि राम्रो व्यापार हुन्छ भन्ने अपेक्षा थियो’ भन्छन्, ‘तर व्यापारले राम्रो पिकअप दिन नपाउँदै फेरि बन्द भयो, अहिले हामी निकै मारमा छौं ।’ तत्कालै व्यापार राम्रो भइहाल्ने सम्भावना कम रहेको भन्दै उनले यो अवस्थालाई बुझेको राज्यले उचित राहत दिनुपर्ने दाबी गरे ।

रञ्जना गल्ली जस्तै महावौद्धतर्फ जाने गल्लीमा पनि चहल पहल सुरु भएको छ । युरो कप र कोपा अमेरिका फुटबल चलिरहेकाले पसलहरुमा गल्तीका दुबै छेउमा रंगीविरंगी जर्सीहरु सजिएका छन् । पहिलो दिन भएकाले व्यापार भने खासै भएको छैन । बाहिर फाट्टफुट्ट व्यापार भइरहे पनि भित्र र ठूला होलसेल पसलहरुमा व्यापार सुरु हुन बाँकी रहेको व्यवसायी तेजप्रसाद आचार्य सुनाउँछन् ।

उनको शब्दमा भन्दा झोलामा किन्ने व्यापारीहरु आएका छन्, बोरामा किन्नेहरु आउन बाँकी छ । उनका अनुसार झोलामा सामान लैजानेहरु काठमाडौं उपत्यकाभित्रैका व्यापारीहरु हुन् भने बोरामा अर्थात ठूलो परिमाणमा लैजाने उपत्यका बाहिरका व्यापारी हुन् ।

‘अहिले पनि एक किसिमको त्रास बाँकी नै, यसले तत्कालै व्यापार राम्रो भइहाल्छ भनेर अपेक्षा गर्ने ठाउँ पनि छैन’ उनी भन्छन्, ‘व्यापार राम्रो हुन त अब कोरोना नियन्त्रणमा आउनुपर्‍यो नि ।’

हेर्नुहोस् तस्वीरहरु

तस्वीर र भिडियो : चन्द्रबहादुर आले र आर्यन धिमाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

ट्रेन्डिङ

Advertisment