Comments Add Comment

वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउने एजेण्डा पारित

बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता

१० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई अब उपमहानगरपालिका बनाइने भएको छ । बिहीबार भएको नवौं नगरसभाले नगरपालिकालाई उपमहानगरपालिका बनाउने एजेण्डा पारित गरेको उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

उनका अनुसार नगरसभाबाट पारित उपमहानगरपालिका बनाउने एजेण्डा कर्णाली प्रदेश सरकारमार्फत संघीय सरकारमा जानेछ । ‘वीरेन्द्रनगर नगरपालिकाले उपमहानगरपालिकाका लागि चाहिने मापदण्ड पूरा गरेको छ’ उनले भनिन्, ‘अब यो एजेण्डा प्रदेश सरकार मार्फत संघीय सरकारमा गएर पारित हुनेछ ।’

उपमहानगरपालिकाका लागि आवश्यक मापदण्ड २ लाख जनसंख्या, २५ करोड आन्तरिक राजस्व र आवश्यक प्रशासनिक संरचना हुनुपर्छ । उपप्रमुख ढकालले भनिन्, ‘वीरेन्द्रनगरलाई उपमहागरपालिका धोषणा गर्ने पर्याप्त मापदण्ड तयार छ ।’

‘नगरमा १ लाख ३० हजार स्थायी बसोबास गर्नेहरु छन्, यो राजधानीको नगरपालिका भएकाले २ लाख भन्दा बढी अस्थायी बसोबास गर्नेको संख्या रहेको हाम्रो अनुमान छ,’ उपप्रमुख ढकालले भनिन् ।

वीरेन्द्रनगरमै बसोबास गरिरहेका तर बसाइँसराइँ कागजात नबनाएकाहरु धेरै भएको नगरपालिकाको दावी छ । हाल वीरेन्द्रनगरको आन्तरिक राजस्व २१ करोड ५० लाख रुपैयाँ छ । यसमा संघ र प्रदेश सरकारबाट बाँडफाँट भएर आउने राजस्वलाई जोड्ने हो भने २५ करोड पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल बताउँछन् ।

७९ वटा स्थानीय तह रहेको कर्णालीमा एउटा पनि उपमहानगरपालिका छैन । ७९ मध्ये २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन् । वीरेन्द्रनगर उपमहानगरपालिका धोषणा भए प्रदेशकै पहिलो उपमहानगरपालिका बन्ने छ ।

बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि विनियोजन गरेको बजेटमा स्वास्थ्यलाई मुख्य प्राथमिकता दिइएको छ ।

आगामी वर्षको प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख मोहनमाया ढकालले नगर गौरवको रुपमा नगरभित्र गुणस्तरीय चिकित्सकीय सेवा प्रवाहका लागि कटकुवा स्वास्थ्य संस्थाको भवनलाई नगर अस्पतालको रुपमा विकास गरिने बताइन् ।

आगामी आर्थिक वर्षमा नगरपालिकाले प्रदेश सरकारसँगको संयुक्त लगानीमा अक्सिजन प्लान्ट सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैगरी नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न थप विद्यालयहरूमा विद्यालय नर्सिङ सेवा संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘छोरीलाई स्यानिटरी, आमालाई सीप र स्वरोजगारी’ कार्यक्रम पनि सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ । महिला स्वास्थ्य र रोजगारलाई पनि प्राथमिकता दिइएको छ ।

वडा कार्यालय र विद्यालयसँगको सहकार्यमा विपन्न अभिभावकको आयआर्जन कार्यक्रम, विपन्न तथा असहाय (कोरोना तथा विभिन्न प्रकारका प्रकोप पीडित) र अभिभावकविहीन बालबालिकाको लागि ‘विद्यालय शिक्षा सुनिश्चितता छात्रवृति कोष’ स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले असहाय र अभिभावकविहीन बालबालिकाहरूको अभिभावकत्व स्थानीय तहले लिने र उनीहरूको माध्यामिक तहसम्मको शिक्षा सुनिश्चित गर्ने जनाएको छ । ‘म बनाउँछु मेरो विद्यालय’ कार्यक्रम घोषणा गरी विद्यालयमा मेरो एक दिन कार्यक्रम मार्फत विद्यालयको समग्र विकास, शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ सुधार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नगरपालिकाले संघीय र प्रदेश सरकारको सहकार्यमा काँक्रेविहार क्षेत्रलाई चिडियाखानाको रुपमा विकास गर्ने पनि बताएको छ ।

त्यस्तै ‘एक वडा, एक सामुदायिक बिउ बैंक’ स्थापना गर्ने, सुर्खेत बसपार्क निर्माण गर्ने, सडक बालमुक्त नगर घोषण गर्ने, सौर्य उर्जा र वायोग्याँस विस्तार गर्ने, कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई सहुलियत तथा प्रोत्साहान गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाले बिहीबार आगामी आर्थिक वर्ष २०७८-७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । नवौं नगरसभामा उपप्रमुख ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
यज्ञ खत्री

ट्रेन्डिङ

Advertisment