
१० असार, काठमाडौं । महालक्ष्मी नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको नगर सभामा चार वटा बैठक बसेको थियो । नगर सभा बैठकबाट नगर प्रमुख रामेश्वर श्रेष्ठले पेस गरेको आव २०७८/७९ को नीति तथा कार्यक्रम र उपप्रमुख निर्मला थापाले पेस गरेको रू. १ अर्ब ९४ करोड १ हजार १ सय १६ रुपैयाँ बजेट सर्वसम्मत रुपमा पास भएको छ ।
त्यसैगरी नगर सभाबाट आर्थिक विधेयक-२०७८ र विनियोजन विधेयक-२०७८ लाई सर्वसम्मतिले स्वीकृत गरिएको छ । सभाले गैरसरकारी संघसंस्थाबाट पेस भएको आव २०७८/७९ को कार्यक्रमलाई समेत नगरपालिकाको वाषिर्क बजेट तथा कार्यक्रममा समावेश गर्ने निर्णय गरी सभा सम्पन्न भयो ।
नगर सभामा अतिथि रहेका बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलले नगर सभाले महत्वपूर्ण निर्णयसहित भव्य रुपमा सभा सम्पन्न भएको बधाई ज्ञापन गरेका थिए ।
आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम र बजेटका मुख्य-मुख्य विशेषता
- पूर्वाधार विकासमा प्राथमिकता, कुल विनियोजनको ७१.२९ प्रतिशत पुँजीगत खर्च ।
- खानेपानी आयोजना निर्माण, मर्मत संभार र खानेपानीको गुणस्तर सुधारमा जोड ।
- कोभिड १९ रोकथाम तथा नियन्त्रण, खोपको सुनिश्चितताका लागि समन्वय ।
- कोभिड १९ बाट अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकाका लागि प्रति व्यक्ति वाषिर्क रू २५,००० शैक्षिक सहायता ।
- मनमोहन मेमोरियल पार्क र बहुउद्देश्यीय भवन निर्माणलाई बहुवषर्ीय योजना स्वीकृत ।
- ६ मीटर भन्दा चौडा सबै सडक कालोपत्रे गरिने ।
- सबै वडा कार्यालय भवन निर्माण सम्पन्न गरिने ।
- सार्वजनिक जग्गाको संरक्षण र संवर्द्धन गरिने ।
- बाँझो जमिनमा खेती गर्न प्रोत्साहन ।
- व्यावसायिक कृषिमा अनुदान ।
- प्रत्येक महिना ७० वर्ष माथिका जेष्ठ नागरिकको घरघर मै स्वास्थ्य परीक्षणको व्यवस्था ।
- सामाजिक सुरक्षा लाभग्राहीका लागि प्रत्येक चौमासिकमा कोभिड-१९ तथा अन्य स्वास्थ्य उपचार सहयोग स्वरुप नगद रू १००० प्रदान गरिने ।
- नदी तथा सार्वजनिक स्थलमा जथाभावी फोहोर विसर्जन गर्ने कार्यलाई सामाजिक अपराधको रूपमा लिइने ।
- सरसफाइमा टोलटोलबाट युवा परिचालन ।
- विपन्न छात्राका लागि चेली शिक्षा टेवा खातामार्फत शैक्षिक टेवा कार्यक्रम ।
- उद्यमशीलता विकासका लागि बिउ पुँजी, प्रविधि र बजारीकरणमा सहयोग ।
- एकल तथा विपन्न महिलाहरूको लागि सिपमूलक तालिम, बिउ पुँजी, प्रविधि हस्तान्तरण र बजारीकरणमा सहयोग
प्रतिक्रिया 4