
११ असार, काठमाडौं । आगामी ३ दिन नेपालका बिभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
बुलेटिनमा लेखिएको छ, ‘प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।’
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागमा गेग्रानसहितको पहिरो र बाढीको सतह बढ्दा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यसैगरी शनिबार सामान्यदेखि पूर्ण बदली रहनेछ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
शनिबार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेश थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
आइतबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रतिक्रिया 4