+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भक्तपुरको सट्टा भरतपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न माग 

सुवास पण्डित सुवास पण्डित
२०७८ असार ११ गते १२:०२

११ असार, चितवन । सरकारले भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्न लागेकोमा विरोध भएको छ ।

भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम र उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले स्वास्थ्य मन्त्री, अर्थमन्त्री, गृहमन्त्री तथा स्वास्थ्य विभाग र स्वास्थ्य सचिवलगायतलाई भेटेर भक्तपुर क्यान्सर अस्पतालमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गर्ने निर्णय गलत भएको भन्दै तत्काल सच्चाउन अनुरोध गरेका हुन् ।

चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल अस्पताललाई छाडेर भरतपुरभन्दा सानो अस्पताल भक्तपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापनाको तयारी गलत भएको उनीहरुको भनाइ छ ।

भरतपुर क्यान्सर अस्पताललाई भक्तपुर क्यान्सर अस्पताल र उसको अध्ययन संस्थानको छानामुनि राख्ने गरी सरकारले बजेटमार्फत ल्याएको कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयले अगाडि बढाएको छ । सरकारले बजेटमा क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई यसै अध्ययन संस्थानको मातहत सञ्चालन गर्ने उल्लेख गरेको थियो ।

उनीहरूले देशकै सबैभन्दा ठूलो क्यान्सर अस्पताल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई छाडेर एक विवादित अस्पतालमा क्यान्सर जस्तो जटिल रोगको अध्ययन संस्थान चलाउनु गलत भएकाले सच्चाउनुपर्नेमा जोड दिएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले भक्तपुर क्यान्सर अस्पताल र चितवनको क्यान्सर अस्पतालको बीचमा तुलना हुनै नसक्ने बताए ।

भरतपुर क्यान्सर अस्पताल ५ सय बेड क्षमता सञ्चालित छ भने, भक्तपुरमा १ सय ३८ बेड मात्रै छ । भरतपुर क्यान्सर अस्पतालमा जति चिकित्सक, प्रविधि, जनशक्ति, जग्गाको पर्याप्तता, पूर्वाधार भक्तपुरमा नभएकाले भरतपुरलाई नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान बनाइनुपर्ने आफूहरुको मतलाई जोडदार रूपमा राखेको अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले बताए ।

उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सम्बन्धी ऐनमा नै अस्पताललाई अध्ययन, अनुसन्धान, निदान र उपचारको केन्द्र बनाउने उल्लेख भएकाले यसलाई नै राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान बनाउनुपर्ने बताए । ‘भरतपुर देशको केन्द्र भागमा छ, सबै हिसाबले भक्तपुरभन्दा हामी अगाडि छौं, ऐनमा स्पष्ट व्यवस्था छ, तर सरकारले भक्तपुरमा राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान बनाउने र उसको मातहत हामीलाई राख्ने भनेको छ, यसलाई हामी स्वीकार्न सक्दैनौं,’ कार्यकारी निर्देशक गौतमले भने, ‘सबै कुरा काठमाण्डौंमा नै केन्द्रीत गर्ने र हामी माथि अन्याय गर्न पाइँदैन, यसमा सबैको साथ र सहयोगको खाँचो छ ।’

उनले क्यान्सर रोगको उपचार, अध्ययन र अनुसन्धानको नृेतृत्वदायी भूमिका भरतपुर क्यान्सर अस्पतालले मात्रै लिन सक्ने बताए । ‘यसलाई नै अध्ययन संसथान र प्रतिष्ठान बनाउनुपर्छ, हामीप्रति पूर्वाग्रही हुनुपर्ने कारण नै के छ  र ?’ कार्यकारी निर्देशक डा. गौतमले भने ।

बर्सेनि भरतपुर क्यान्सर अस्पतालको एक तिहाइ मात्रै बिरामी भक्तपुरमा उपचारका लागि आउँछन् ।

चीन सरकारको सहयोगमा निर्माण भएको भरतपुर क्यान्सर अस्पताललाई सरकारले बेवास्ता गर्नु द्विपक्षीय सम्वन्धका हिसावले पनि गलत सन्देश जाने अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले बताए । उनले भरतपुर क्यान्सर अस्पतालको स्वायत्तता, अस्तित्व र योगदानमाथि नै धावा बोल्ने काम हुनु दुःखद भएको टिप्पणी गरे ।

नेपाली कांग्रेसले क्यान्सर संस्थानमार्फत् तीन वटा क्यान्सर अस्पताललाई मातहत ल्याउने निर्णयको विरोध गरेको छ । कांग्रेसले अलग्गै विवादास्पद संरचना मातहतमा ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत रहेको जनाएको छ ।

भक्तपुर क्यान्सर अस्पताल यसअघि नेपाल अर्बुद रोग निवारण संस्था नामक गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको थियो । संस्थाको व्यवस्थापन र वैधानिकता माथि प्रश्न उठेपछि २०७६ कार्तिक २४ गते सरकारले लिएको थियो ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?