Comments Add Comment

सशस्त्र प्रहरीले वीरगञ्जमा गर्‍यो बाढीजन्य प्रकोप उद्धार अभ्यास

११ असार, वीरगञ्ज । शुक्रबार दिउँसो वीरगञ्जमा सिमसिम पानी परिरहेको थियो । दुई जना मानिस पानीमा डुब्नै लागेका थिए । उनीहरु ‘बचाऊ बचाऊ’ भनेर हारगुहार गरिरहेका थिए ।

मनसुन सक्रिय भई भारी वर्षा भएको र तिलावे नदीमा आएको बाढीले अलौं डुबानमा परेको खबर सार्वजनिक भयो । केहीबेरपछि जमिन कटान गरी बस्ती नै जोखिममा परेको खबर आयो । घर बगाउन लागेको, बच्चा हराएको भन्दै रुवाबासी र हारगुहार मागेको सुनियो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाली सेना चण्डीप्रसाद गणका गणपति मदनजंग राणा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का लगायत सरोकारवाला टुलुटुलु हेरिरहेका थिए । उनीहरु बसेको कुर्सीबाट उठ्दा पनि उठेनन् ।

किनकि घटना वास्तविक थिएन, सशस्त्र प्रहरी बल १३ नम्बर गणले बाढीजन्य प्रकोपको उद्धार अभ्यास गरेको थियो । गणकै छेउको पोखरीमा सशस्त्र प्रहरीका तालिमप्राप्त उद्धारकर्मीले आफ्नो कौशल प्रदर्शन गरिरहेका थिए ।

घटना कृत्रिम भए पनि उद्धारकर्मी टोलीले रबर बोट र डोरीको सहायताले विपद् आउँदा जस्तैगरी उनीहरुको उद्धार गरे । पोखरीको किनारामा ल्याए । स्वास्थ्य सहायता टोलीले स्ट्रेचरमा राखेर प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा लगे ।

नेपालमा यस वर्ष मनसुन सुरु भइसकेको मौसमविद्हरुले बताएका छन् । यस वर्ष सरदरभन्दा उच्च वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका छन् । जसका कारण बाढी, पहिरो कटान र डुबानको समस्या बढी नै आउन सक्छ । पर्सा जिल्ला बाढीजन्य प्रकोपको जोखिममा छ । त्यसैले गणमा ३५ जना जनशक्तिलाई ७ दिने विपद अनुशिक्षण तालिम दिइसकेको गणपति सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताए ।

कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख सरावगीले भेडाहा र सिर्सिया नदीका कारण वीरगञ्जमा वर्षेनी समस्या आउने गरेको बताए । ‘भेडाहा नदीमा बाँध बाधेका छौं, थप २५ करोड खर्च गरेर मजबुत बाँध बाध्ने लक्ष्य हाम्रो छ,’ उनले भने, ‘सिर्सिया नदी अतिक्रमणका कारण समस्या आइरहेको छ । नदीलाई पुरानै अवस्थामा फर्काउनुपर्छ । पानीले बग्ने ठाउँ नपाउँदा बस्तीतिर पस्ने हो ।’

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले विपद्मा जोखिममा खोज उद्धार, नागरिकको जीउज्यानको सुरक्षामा भूमिका निर्वाह गर्न सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताए । जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन प्रतिकार्य योजना २०७८ गरेको जानकारी दिंदै प्रमुख जिल्ला अधिकारी घिमिरेले पर्सामा विपद् आउनुपूर्वको तयारी भइसकेको बताए ।

‘मनसुनपूर्व प्रतिकार्य योजना पारित गरिसकेका छौं, त्यसमा खोज उद्धारका लागि सम्पर्क व्यक्ति को हुन् ? उद्धार सामग्री कता छन् ? सबै उल्लेख छ,’ उनले भने ।

तस्वीर : प्रणय साह

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment