 
																			१२ असार, विराटनगर । राजनेताको नाममा पार्क बनाउन विराटनगर महानगरपालिका र प्रदेश-१ सरकारले बजेट विनियोजन गरेको छ ।
महानगरले विराटनगरमै प्रधानमन्त्री पार्क निर्माण गर्न पाँच करोड विनियोजन गरेको छ । प्रदेश सरकारले भने झापाको दमकमा राजनेता पार्क बनाउनका लागि एक करोड बजेट विनियोजन गरेको हो । दुवै सरकारले निर्माण गर्ने भनेको पार्कमा प्रधानमन्त्रीको शालिक राखिने छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा विराटनगरमा नै राजेनता पार्क निर्माणको थालनी गर्न एक करोड बजेट विनियोजन गरेको थियो । तर प्रक्रिया अघि नबढाई आगामी आर्थिक वर्षको बजेटमा झापामा राजनेता पार्क निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको हो ।
विराटनगरमा बनाउने भनिएको पार्क प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा लगिएपछि असार १० गते बजेट प्रस्तुत गर्दै महानगरले ५ करोड बिनियोजन गरेको हो । पार्कमा विराटनगरबाट प्रधानमन्त्री भएर देशको सेवा गरेका नेताहरुको शालिक राखिने महानगरपालिकाले जनाएको छ ।
४ अर्ब दश करोडको प्रस्तुत गरेको विराटनगरले प्रधानमन्त्री पार्क बनाउन पाँच करोड, विराट राजाको दरबार संरक्षणका लागि पाँच करोड, प्रशासनिक भवन निर्माणका लागि १७ करोड, विरेन्द्र सभागृहका लागि १९ करोड ५० लाख, अन्तराष्ट्रिय सभागृहका लागि जग्गा खरिद गर्न पाँच करोड, ल्याण्डफिल्डसाइटका लागि जग्गा खरिद गर्न १० करोड विनियोजन गरेको छ ।
३२ अर्ब ४६ करोड ९२ लाखको बजेट प्रस्तुत गरेका प्रदेश १ सरकारले नेताको नाममा जोडिएका प्रतिष्ठान, फाउन्डेशन अध्ययन केन्द्र र पार्कका लागि ९ करोड बजेट विनियोजन गरेको छ ।
राजनेता पार्कका लागि एक करोड बजेट विनियोजन भएको छ । ढुङ्गेसाघु, छिन्ताङ, सुखानी र उर्लाबारीको प्रेरणादायी स्मृति केन्द्र निर्माणका लागि पाँच करोड विनियोजन भएको छ ।
रामप्रसाद राई, नारदमुनी थुलुङ, मनमोहन अधिकारी, मदन भण्डारी गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, सूर्यबहादुर थापा कृष्णप्रसाद भट्टराई, नोना कोइराला, भरतमोहन अधिकारी वालागुरु सडानन्द र योगमाया स्मृति प्रतिष्ठानका तथा फाउण्डेशनका लागि ३ करोड बजेट विनियोजन भएको छ ।
‘मुर्ख शासकले बनाउने शालिक हो’
नेपाली कांग्रेस प्रदेश १ प्रदेशसभा सदस्य सुयर्माराज राई आवश्यकता एकातर्फ हुँदा बजेट भने अर्के तर्फ छरिएको बताउँछन् ।
अनुत्पादक क्षेत्रमा भएको लगानीले प्रतिफल नदिने बताउँदै उनी शासक मुर्ख हुँदा शालिक र मूर्तिहरु बन्ने बताउँछन् ।
‘मुर्ख शासकले लगानी गर्ने शालिकबनाएका लागि नै हो,’ उनले भने,‘ मुर्ख शासकले शालिक बनाउन प्रतिस्पर्धा गरेको प्रसस्त उदारणहरु छन् ।’ कोरोनासँग जुध्नका लागि बजेट विनियोजन गर्नुपर्ने अवस्थामा सरकार भने पार्क निर्माणमा प्रतिस्पर्धा गरिरहेको उनले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4