Comments Add Comment
कांग्रेस महाधिवेशन :

निधि, कोइराला र सिंहबीच निरन्तर सम्वाद

११ असार, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिका आकांक्षी हुन्, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह ।

तीन जनासँग पारिवारिक विरासत पनि छ । निधि महेन्द्रनारायण निधिका छोरा हुन् भने शशांक बीपी कोइराला र प्रकाशमान गणेशमान सिंहका छोरा हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट आएका निधि र काठमाडौं जिल्ला सभापति हुँदै केन्द्रीय राजनीतिमा आएका प्रकाशमानको आफ्नै संघर्ष पनि छ । शशांक पनि ११औं महाधिवेशनबाट निरन्तर केन्द्रीय कार्यसमितिमा छन् ।

सभापतिका ‘हेभिवेट’ तीन दाबेदारबीच पछिल्लो समय भने सहमतिको खोजी सुरु भएको छ । ८ असारमा उपसभापति निधिको निवासमा लन्च मिटिङ गरेका तीन नेता शुक्रबार महामन्त्री कोइरालाको महाराजगञ्जस्थित निवासमा भेला भएर छलफल गरे ।

दुई घण्टा लामो बैठकमा नेताहरुबीच नेतृत्वबारे छलफल भए पनि कुनै सहमति बनिसकेको छैन । ‘हामीहरुबीच सहमति भएर अगाडि जाने सम्भावना छ,’ भेटपछि महामन्त्री कोइरालाले  सञ्चारकर्मीहरूसँग भनेका छन्, ‘हामीहरु एकै टिममा रहने सम्भावना धेरै छ ।’

अर्का नेता सिंहले भने, ‘नेतृत्वको विषय एउटा-दुई सिटिङमा टुंगो लगाउन सम्भव हुँदैन । हामी निरन्तर बस्छौं, अरु साथीहरुसँग पनि बस्छौं ।’

कति सहज छ सहमति ?

कोइराला र सिंह हाल रामचन्द्र पौडेल समूहमा छन् । निधि भने सभापति शेरबहादुर देउवा निकट छन् ।

निधिको चाहना देउवाको समर्थनमा सभापति उठ्ने थियो । तर देउवा आफैं सभापतिको उम्मेदवार हुने भएपछि निधिले संस्थापन र पौडेल दुबै समूहका नेताहरुलाई छलफल गरेका छन् र नयाँ बनाउने संकेत गरेका छन् । ‘हामी पहिला अलग/अलग गुटका थियौं तर अहिले हामीसँगै बस्ने भनेको नयाँ गुट बनाउन होइन, गुट तोड्न हो,’ उनी भन्छन्, ‘तीनै जना एउटै समूहमा हुने हाम्रो चाहना पनि हो । हामी अरुलाई पनि समेटेर लैजान चाहन्छौं ।’

पुरानो नेतृत्वबाट पार्टी सञ्चालन हुन नसक्ने निष्कर्षमा आफूहरु पुगेको उपसभापति निधिले बताए । ‘तीन जनाबीच छलफल सुरु गरेपछि जिल्ला जिल्लामा कार्यकर्ता खुसी भएका छन् । पार्टीलाई नयाँ ढंगले अगाडि बढ्ने उनीहरुको विश्वास छ,’ निधिले भने, ‘कार्यकर्ताको त्यो अपेक्षालाई आत्मसात गरेर हामी अगाडि बढेका हौं । छलफल गरेर एउटा साझा भ्वाइस बनाउँछौं ।’

नेतात्रयबीच सहमति जुट्यो भने कांग्रेसमा चलिरहेको दुई गुटको राजनीतिमा हलचल आउनेमा कुनै शंका छैन । तर नेतृत्वमा सहमति जुटाउन त्यति सजिलो देखिएको छैन । राजनीतिक विश्लेषक कृष्ण खनाल भन्छन्, ‘राजनीतिमा सम्भावना त जहिले पनि हुन्छ, तर उहाँहरुबीच अहिले नै एउटालाई नेतृत्व मानेर संगै अगाडि जाने सम्भावना कम देखेको छु ।’

नेताहरुले पनि नेतात्रयको छलफललाई आफ्नो समूहमा दबाव बढाउने रणनीतिका रुपमा बुझेका छन् । किनकी निधिले आफूलाई सभापतिको उम्मेदवार बनाउन तयार नभएको संस्थापन समूह छाडेका छैनन् । अहिले पनि देउवाकै समर्थनमा सभापतिमा उठ्छु भनिरहेको भन्दै एक नेता भन्छन्, ‘उहाँको अहिलेको प्रयास देउवालाई घुक्र्याउनका लागि हो कि जस्तो देखिन्छ ।’

संस्थापन इतरको समूहमा पनि सभापतिका आकांक्षी धेरै छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् । तर निधिसँग भएको वार्ताहरुले पौडेल समूहमा कोइराला र सिंहको बार्गेनिङ पावर बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment