Comments Add Comment

कोराला नाकामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार

एक अर्ब ५० करोड लागत अनुमान

१२ असार, काठमाडौं । मुस्ताङको नेपाल चीन व्यापारिक नाका कोरालामा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन सकिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको व्यापार पूर्वाधार विकास निकाय नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको बताए ।

उक्त प्रतिवेदन अनुसार दुई चरणमा निर्माण सम्पन्न गर्ने प्रस्ताव गरिएको बन्दरगाहको कुल लागत एक अर्ब ५० करोड ९२ लाख ९३ हजार रुपैयाँ छ । समुन्द्री सतहबाट ४ हजार ६६० मिटर उचाइमा बन्ने सुक्खा बन्दरगाहभित्र भन्सार प्रशासनसहितका २६ वटा भित्री पूर्वाधार हुनेछ ।

पहिलो चरणको पूर्वाधार निर्माण सन् २०२२ देखि सुरु गरेर सन् २०२५ सम्म सम्पन्न गर्ने र दोस्रो चरणको विस्तार भने २०४९ सम्म सम्पन्न गर्ने समितिले जनाएको छ ।

‘सम्भाव्यता अध्ययन सकियो, अब वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नयाँ आर्थिक वर्षमा सम्पन्न गर्छौं,’ कार्यकारी निर्देशक गजुरेलले भने ।

यस्तो हुनेछ बन्दरगाह पूर्वाधार

अध्ययन प्रतिवेदन अनुसार कोराला नाकाको सुक्खा बन्दरगाह ४७१ रोपनीमा फैलिने छ । भन्सार पास तथा भन्सार पूर्वाधार, प्रशासन क्षेत्र, कन्टेनर यार्ड, सुरक्षा बेस, पार्किङ, क्वारेन्टिन कार्यालय र पेट्रोल पम्पसहितको पूर्वाधार उक्त बन्दरगाहमा रहनेछन् ।

सुक्खा बन्दरगाहका लागि आवश्यक पानी डीप बोरिङमार्फत निकाल्ने योजना रहेको छ । बन्दरगाहमा रेलवे र सडक ट्र्याकको लिंकेज पनि हुनेछ । पहिलो चरणको पूर्वाधार सम्पन्न भएपछि पाँच वर्षसम्म दैनिक ६५ कन्टेनर क्षमता धान्ने बन्दरगाहमा १० वर्षपछि दैनिक ८० र २५ वर्षपछि १३४ कन्टेनर आवतजावत हुनसक्नेछ ।

पहिलो चरणको पूर्वाधार बनाउन एक अर्ब ६ करोड २४ लाख र दोस्रो चरणको विस्तारका लागि ४४ करोड ६८ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । उत्तरतर्फको नाकामा पूर्वाधार बनाउन चीन सरकारको सहयोगबारे छलफल भएपनि टुंगिनसकेको समितिले जनाएको छ ।

चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहबाट नेपाली आफैंले अनुभव बटुलेका कारण मुस्ताङमा पनि सरकारी खर्चमै बन्दरगाह बनाउन सकिने इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment